coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मट्का कुल्फीमा मन

पाटन दरबार क्षेत्रनजिकै लगनखेल जाने बाटोमा छ, नेमकृष्ण ताम्राकारको सानो आइसक्रिम पसल । उनले यहाँ आइसक्रिम र कुल्फीको व्यापार गर्न थालेको २० वर्षभन्दा बढी भइसक्यो । उनी त्यस क्षेत्रमा आफूले नै आइसक्रिमको व्यापार सुरु गरेको बताउँछन् । ‘कसैले पनि व्यापार नगर्दादेखि नै आइसक्रिम बेच्न थालेको हुँ,’ उनी भन्छन्, ‘अहिले त जहाँतहीँ पनि आइसक्रिम पाइन्छन् ।’ त्यसबेला आइसक्रिमबारे काठमाडौंमा सर्वसाधारणलाई उति धेरै जानकारी नभएको उनी सम्झन्छन् । हिजोआज भने सहरको निकै लोकप्रिय स्ट्रिट फुड बनेको छ, आइसक्रिम । त्यसैले आइसक्रिमको व्यापार पनि राम्रै रहेको नेमकृष्ण बताउँछन् । उनको पसलमा विभिन्न ब्रान्डका दर्जनौँ प्रकारका चिसो खानेकुरा पाइन्छन् । आइसक्रिम, आइस क्यान्डी, कुल्फी धेरै बिक्ने खानेकुरा हुन् । 

पछिल्ला दिनमा आइसक्रिम खाने नयाँ पुस्ताको अभिरुचि परिवर्तन भएको उनले पाएका छन् । भन्छन्, ‘अब आइसक्रिम मात्र भएर भएन, त्यसको प्याकिङ कसरी भएको छ भन्ने कुरामा ध्यान दिन थालेका छन् ।’ 

आइसक्रिमको आर्टिस्टिक प्याकिङमा युवा पुस्ताको आकर्षण बढी रहेको ताम्राकार बताउँछन् । युवाले चिसो मौसममा समेत आइसक्रिम र कुल्फी खाएको देखेर उनी दंग परेको सुनाउँछन् ।

आइसक्रिमको आर्टिस्टिक प्याकिङमा युवा पुस्ताको आकर्षण बढी रहेको ताम्राकार बताउँछन् । युवाले चिसो मौसममा समेत आइसक्रिम र कुल्फी खाएको देखेर उनी दंग परेको सुनाउँछन् । त्यसैले काठमाडौंमा गर्मी मौसम गइसकेको भए पनि उनको पसलमा आइसक्रिम र कुल्फी खान आउनेको भीड उस्तै छ । उनी सुनाउँछन्, ‘जाडोमा समेत चिसो खाने फेसन नै बनाएका छन् । म त छक्क पर्छु ।’ 

यसरी हर मौसममा उनको पसल आउने धेरै ग्राहकको आकर्षण अचेल मट्का कुल्फीमा छ । माटाको भाँडामा प्याक गरिएको कुल्फीले धेरैलाई तानेको ताम्राकारले सुनाए । उनी भन्छन्, ‘अरुले भनेको सुनेका आधारमा पाटन घुम्न आउने युवा मट्का कुल्फी खान आउँछन् ।’ उनको पसलमा कुल्फी खाने कतिले सामाजिक सञ्जालमा लेखेर अरुलाई थाहा दिने गरेको उनको भनाइ छ । 

उनको पसलमा आइसक्रिमका दर्जनौँ मेन्यु छन् । तिनमा धेरै युवाको आकर्षण भने मट्का कुल्फीमै छ । धेरै गर्मी हुने मौसममा दैनिक तीनदेखि चार सय पिससम्म मट्का कुल्फी बिक्ने गरेको ताम्राकार सुनाउँछन् । ‘एक महिना अघिसम्म मट्का कुल्फी मात्र तीन–चार सय पिस बिक्री हुन्थ्यो । अहिले चिसो खानेको अलि भीड कम भएको छ ।’ उनी भन्छन्, ‘तर अझै पनि घुम्न आउनेहरू मट्का कुल्फी खोज्दै आउने गरेका छन् ।’ 

आफूले पसलमा मट्का कुल्फी बेच्न थालेको दश वर्ष भइसकेको उनले सुनाए । सुरुमा मट्का कुल्फी ६० रुपैयाँमा बेचेका थिए । अहिले एक सय २० रुपैयाँ मूल्य पर्छ । सुरुमा यसबारे धेरै थाहा थिएन । नयाँ ठाउँ घुम्ने र नयाँ परिकार चाख्ने युवा बढेका कारण मट्का कुल्फीको प्रचारप्रसार धेरै भएजस्तो उनलाई लाग्छ । ताम्राकार भन्छन्, ‘स्टिकमा कुल्फी खाइरहेको मान्छेलाई मट्कामा कुल्फी देखेपछि नयाँ जस्तो लाग्छ, अनि त्यही नै रुचाउँछन् ।’ 

ताम्राकारको पसलमा मट्का कुल्फी किन्न आएकी सुशीला मगरलाई यसको स्वाद पनि निकै मनपरेको सुनाइन् । लगनखेल बस्ने उनी बाटो पर्दा कुल्फी खान ताम्राकारको पसल पस्ने गर्छिन् । कुल्फी खाएर मट्का भने सजाएर राख्ने गरेको उनले सुनाइन् । ‘कुल्फी अति स्वादिलो छ । साह्रै राम्रो लाग्ने भएकाले मट्काको भाँडो चाहिँ घरमा सजाउन राख्छु।’ 

ताम्राकारको पसलमा नेपाल डेरी र वादीलाल ब्रान्डको मट्का कुल्फी पाइन्छ । स्टिकमा बेरिएका र अन्य प्रकारको प्याकमा पनि कुल्फी छन् । तर, अलिकति बढी पैसा तिरेर भए पनि ग्राहक मट्काको कुल्फी नै खाने गरेको ताम्राकार बताउँछन् । 

उनी भन्छन्, ‘एउटाले हल्ला गरेपछि त्यसैको पछाडि सबै लाग्ने गरेका छन् । यो मट्का कुल्फीको ट्रेन्ड पनि हल्लाले नै बनेको हो ।’ यद्यपि कुल्फी आफैँमा स्वादिलो र पोषिलो पनि भएकाले मानिसले मट्का खाने गरेको उनी बताउँछन् । स्वाद र स्टाइलका लागि भने युवाले मट्का कुल्फी रोज्ने गरेको उनको भनाइ छ । ताम्राकार भन्छन्, ‘स्टाइलिस युवालाई स्टाइलिस मट्काले आकर्षित गरेको छ ।’ 

मट्का कुल्फी खाने ठूलो लहर भए पनि स्वादमा भने मट्काले फरक नपर्ने उनी बताउँछन् । ताम्राकारले भने, ‘स्वादमा त खासै फरक पर्दैन । तर, मट्काको भाँडा सामाजिक सञ्जालमा पोस्ट गर्नकै लागि पनि कतिले मट्का कुल्फी खाएको देखेको छु ।’ 

प्रकाशित: १० कार्तिक २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App