४ वैशाख २०८१ मंगलबार
समाज

अल्छी जनता जगाउने नाच

छिप्पिँदो रातमा सहरको मुख्य चोकबाहेक सबै बस्ती सुनसान थियो । घडीको सुईले रातको ९ बजाउँदै गर्दा  ललितपुरस्थित पाटन दरबार क्षेत्रमा उल्लास छाएको थियो। चारैतिर बलेका बत्तीले दरबार क्षेत्र दिन जत्तिकै उज्यालो देखिन्थ्यो।

बत्तीको उज्यालोमा दरबारको पश्चिमपट्टि रहेको कार्तिक डबलीमा देखापरे, मल्लकालीन पहिरनमा सजिएका कलाकार । मल्लकालीन पहिरनमा सजिएका कलाकारले कम्मर मर्काउन थालेपछि डबलीमा सुरु भयो, ऐतिहासिक कार्तिक नाच । हरेक वर्ष चल्ने कार्तिक नाच यसपालि मंगलबारदेखि सुरु भएको हो।

ललितपुरको चर्चित ‘कार्तिक नाच’ले अचेल पाटनको रौनक नै बदलेको छ । नाच हेर्न आउनेहरूले डबली भरिभराउ हुन्छ । साँझ पर्नेबित्तिकै युवाहरू डबलीमा नाच देखाउन तयार रहन्छन् । नाच हेर्न डबलीको आँगनमा स्थानीय र पर्यटक झुम्मिन्छन् । पुरानो नाचले डबलीमा धेरैको ध्यान खिच्ने गरेको छ । कार्तिक नाचअन्तर्गत विभिन्न प्रकृतिका फरक–फरक नाच देखाउने गरिन्छ । गतवर्ष यस्ता १२ वटा नाच देखाइएकामा यसपालि भने ‘सुदामा’ नामक नयाँ नाच समेत देखाइएको छ । यो नाच २९ वर्षपछि देखाइएको हो ।

‘पहिले–पहिले धेरै नाच देखाइथ्यो, अहिले आर्थिक अभावमा धेरै नाच हराइसकेका छन्,’ कार्तिक नाच संरक्षण समिति अध्यक्ष किरण चित्रकारले भने, ‘नाच हेर्न विदेशी पयर्टक बढी आउँछन्, उनीहरू अनौठो मान्दै ध्यानपूर्वक नाच हेर्छन् ।’

कार्तिक नाच तीन सय ७६ वर्ष पुरानो भएकाले युवा पुस्ताले यसलाई निकै अनौठो नाचका रूपमा लिने गरेका छन् । नाच संरक्षणमा स्थानीय युवा लागिपरेका छन् । कार्तिक नाच राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए ।

देशमा बिघ्न–बाधा नआओस्, शान्ति सुव्यवस्था कायम होस् र जनता सुखी होऊन् भन्ने हेतुले सिद्धिनरसिंहले नाच सुरु गरेको किंवदन्ती रहेको चित्रकार बताउँछन् । किंवदन्तीअनुसार ललितपुरका बासिन्दा जोस–जाँगररहित भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिएका थिए । जोतिषीले राज्यमा ‘मघाह’ दोष परेकाले राज्य सञ्चालन कठिन हुन पुगेको बताए । दोष निवारण गर्न ज्योतिषले नरबलि दिन सुझाए । त्यसैबमोजिम राजाले नरबलि दिएपछि ललितपुरवासीमा जोस आयो । पछि सिद्धिनरसिंहले नरबलि अनुचित ठहर गर्दै मुकुट र हिरण्य पात्र बनाई कार्तिक नाच सुरु गरे । राजाले अल्छी जनतालाई जगाउन यो नाच सुरु गरेको किंवदन्ती छ ।

गत मंगलबारदेखि सुरु भएको कार्तिक नाचका क्रममा सुदामा प्याख, बाथः प्याख  र उषाहरण लीलामा समावेश (वाणासुयात सहश्रभुज वरदान) प्रस्तुत भइसकेका छन् ।

समितिका अनुसार १० गते उषाहरण लीलामा समावेश उषा अनिरुद्र शृंगार, ११ गते देवी प्याखँ, १२ गते युद्धकला, १३ गते वाणासुयात सहश्रभुज त्वाल्हाइगु, १४ गते जल शयनमा समावेश मधु–कैटभ वध, १५ गते वराह अवतार, १६ गते नृसिंह अवतार, १७ गते वस्त्रहरण लीला र १८ गते दधिलीला नाच देखाइनेछ । १२ वटा नाचमा सयभन्दा बढी कलाकारले अभिनय गर्नेछन् ।

आर्थिक अभावमा पर्दै आएको यो नाच यस वर्ष पनि संस्कृति धान्न मात्र सञ्चालन गरिएको समिति अध्यक्ष चित्रकारले बताए । ‘बाह्रदिने नाच सञ्चालन गर्न करिब साढे चार लाख रुपैयाँ आवश्यक पर्छ,’ चित्रकारले भने, ‘पर्याप्त रकम नभएकाले कलाकारको पारिश्रमिक घटाएका छौँ ।’ चित्रकारले रकम अभावमा आवश्यक सामग्री पुरानै प्रयोग गर्दै आएको बताए ।

यस वर्ष नाच सञ्चालन गर्न करिब एक लाख रुपैयाँ चन्दा उठाइएको थियो । केही रकम भने सरकारी निकायले अनुदान दिएको आयोजकले जनाएका छन् । यसपालि ललितपुर महानगरपालिकाले एक लाख, संस्कृति मन्त्रालयले ८४ हजार र पाटन संग्रहालयले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । सरकारी अनुदानबाट मात्र नाच सञ्चालनमा कठिनाइ भएपछि समितिले चन्दा संकलन गरेको थियो ।

समितिले नाचका लागि भन्दै गत वर्ष ललितपुर महानगरपालिकासँग १५ लाख रुपैयाँ मागेको थियो । तर, महानगरपालिकाले एक लाख रुपैयाँ मात्र उपलब्ध गराएको थियो । कार्तिक नाचका क्रममा यसअघि विभिन्न १७ वटा नाच देखाइने गरिन्थ्यो । अहिले बुद्ध लीला, वस्त्रहरणलगायत पाँच नाच लोप भइसकेका छन् । २००६ सालसम्म २७ दिन हुने यो नाच आर्थिक अभावले छोटो हुँदै गएको हो ।

समितिले २७ दिन नै नाच सञ्चालन गर्न १५ लाख रुपैयाँ लाग्ने जनाएको छ । नाच जीवित राख्न सरकारी निकायले चासो नदिएको पाटनका स्थानीय युवा प्रतापधर राजोपाध्याय बताउँछन् । ‘सरकारले नाचका लागि न रकम दिएको छ, न त स्थानीयलाई नाच आफैँ सञ्चालन गर्न स्वतन्त्रता दिएको छ,’ उनी भन्छन् । ३० वर्ष अघिसम्म नाचका लागि सरकारले नै रकम उपलब्ध गराउँदै आएको थियो।

२९ वर्षपछि ‘सुदामानाच’

कार्तिक नाचअन्तर्गतको ‘सुदामानाच’ २९ वर्षपछि यसपालि देखाइएको छ । आर्थिक अभावमा रोकिँदै आएको यो नाच गत मंगलबार मञ्चन गरिएको थियो । यो नाच भगवान् श्रीकृष्ण र उनका बालसखा सुदामामा केन्द्रित छ । समिति अध्यक्ष चित्रकारका अनुसार यो नाचले कृष्णको बाल्यकालको झझल्को गराउँछ ।

 

प्रकाशित: १० कार्तिक २०७४ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App