coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

धानको मान

चार दशकअघि मुलुकमा धानचामल निर्यात कम्पनीमार्फत नेपालमा उत्पादन हुने धानचामल विदेशमा निर्यात हुने गरे पनि अहिले करोडौं रकम बराबरको धानचामल निर्यात गर्नुपर्ने जुन अवस्था आएको छ, त्यो विडम्बनापूर्ण हो । उतिबेला धानचामल निर्यात कम्पनीले मुलुकमा उत्पादन भएको प्रमुख खाद्यबाली धानचामललाई किसानबाट खरिद गरेर निर्यातको काम गथ्र्यो जुन कम्पनी २०३५ सम्म अस्तित्वमा थियो । त्यसयता धानचामल उत्पादनमा मात्रै होइन, समग्र खाद्यान्न उत्पादन घट्दै गएको देखिन्छ । पछिल्लो २० वर्ष अवधिमा त मुलुकको खाद्यान्न उत्पादन निराशाजनक अवस्थामा पुगेको छ । बर्सेनि अर्बौंको खाद्यान्न आयात भइरहेका बेलामा २०७३/७४ मा चामलमात्रै करिब २३ करोड ८८ लाख रुपैयाँको आयात भएको थियो । सरकारी नीतिनियम र योजनाले धानको मान गर्न नजान्दा मुलुकमा धानचामल आयात बढ्दै गएको छ । यसरी मुलुकको खाद्यान्न उत्पादनमा संकट देखिइरहेका बेला यस वर्ष धान उत्पादन बढ्ने भनी जुन किसिमको सरकारी प्रक्षेपण आएको छ, त्यसले थोरै भए पनि आशा जगाएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा करिब १ लाख ७० हजार टन धनन उत्पादन बढ्दैछ भनी भएको सरकारी प्रक्षेपणलाई सुखद संकेतका रूपमा लिन सकिन्छ।

गत आर्थिक वर्षमा ५२ लाख ३० हजार टन धान फलेको थियो । आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष २०७४/७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने कृषि मन्त्रालयले प्रक्षेपण गरेको छ,  जसअनुसार यस वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । यो गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान हो । धान रोपण क्षेत्र वृद्धि, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल, बिउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढ्ने सरकारी अनुमान छ । त्यति हुँदाहुँदै पनि मौसमी अनुकूलताकै कारणले धान उत्पादन बढ्न लागेको हो भन्ने अनुमान गर्न कुनै कठिन छैन । त्यसैले पनि अहिलेको बढोत्तरीको प्रक्षेपणबाट धेरै उत्साहित हुनुपर्ने अवस्था देखिँदैन । मुलुकको खाद्य उत्पादन ‘मौसमीखेती’ रूपमा रहेकाले मौसम प्रतिकूल भएसँग यसको उत्पादन घट्ने सम्भावना पनि उत्तिकै छ। 

कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेतीप्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ  । त्यसका साथै सिँचाइ सुविधा र समयमै मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन। 

मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहेकोमा धानको योगदान ३ प्रतिशत छ । त्यस्तै, कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ  । यसपालि मौसमले साथ दिँदा खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । गत वर्ष १५ लाख २५ हजार हेक्टरमा धानखेती गरिएकोमा यस वर्ष बढेर १५ लाख ६२ हजार हेक्टर पुगेको छ।

सरकारले ३५ जिल्लामा धान मिसन र २० जिल्लामा बास्नादार धान कार्यक्रम सञ्चालन गरेको छ । धान उत्पादन बढ्नुमा यो कार्यक्रमको प्रभाव पनि धेरथोर रहेको देखिन्छ । जे होस्, विगत चार दशकअघिझैं धानचामल निर्यात गर्ने अवस्थामा पुग्न मौसमी अनुकूलतालाई मात्रै हेर्ने होइन, कृषिमैत्री नीति तथा कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । कृषि उत्पादनलाई मौसममा भर पर्नुभन्दा खेती प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । सरकारले कृषि उत्पादन र मुख्य रुपमा धान उत्पादनलाई प्राथमिकतामा राखेर योजना बनाउने हो भने पुरानो धानचामल निर्यात कम्पनी पुनस्र्थापना गर्न सकिनेछ ।  कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेती प्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ  । त्यसका साथै सिँचाइ सुविधा र मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन।  

प्रकाशित: १२ कार्तिक २०७४ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App