coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्यानचेस्टरका दुवै टोली विजयी

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकाे खेलमा टाेटेनह्यमिवरूद्ध गाेल गर्दै म्यानचेस्टर युनाइटेडका एन्थाेनी मार्सियाल (राताे) । तस्बिर : एजेन्सी

म्यानचेस्टर– इङलिस प्रिमियर लिगमा उपाधिका मुख्य दाबेदारमध्ये म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले विजय हासिल गरेको दिन शनिबार टोटेनह्यामले भने हार सामना गर्नुपरेको छ। 

शीर्ष स्थानको सिटीले वेस्ट ब्रोम भ्रमणमा ३–२ को विजयी नतिजा निकाल्दा टोटेनह्यामले म्यानचेस्टर भ्रमणमा १–० को नतिजा सुम्पियो । वैकल्पिक खेलाडी एन्थोनी मार्सियलले बेन्चबाट आएर गोल गरेपछि युनाइटेडले घरेलु ओल्ड ट्राफोर्डको मैदानमा प्रिमियर लिगको उपाधि प्रतिद्वन्द्वी टोटेनह्यामलाई १–० ले हराएको थियो।

खेलअघि गोलअन्तरका आधरमा टोटेनह्यामभन्दा एक स्थान माथि रहेको युनाइटेडले लन्डनको प्रतिद्वन्द्वीलाई ३ अंकले पछि छाडेको छ । १० खेलको समाप्तीमा सिटी २८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा युनाइटेडले २३ अंक जोडेको छ । टोटेनह्याम २० अंकमै सिमित हुँदा शनिबारै स्वान्सी सिटीमाथि २–१ को जित हासिल गरेको आर्सनल १९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ। 

जोजे माउरिन्होको प्रशिक्षणमा युनाइटेडको पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका फ्रान्सका फरवार्ड मार्सियलले ८१औं मिनेटमा पाएको अवसरमा कुनै गल्ती गरेनन्। 

इङ्ल्यान्डका फरवार्ड ह्यारी केनविना म्यानचेस्टर भ्रमणमा निस्केको टोटेनह्यामका लागि नतिजा निराशजनक रह्यो । यो नतिजाका कारण टोलीलाई केनमाथि बढी निर्भर भएको आरोप पुनः व्युतिने भएको छ।

‘डेले अलीले गोल गरेको भए प्रश्न अर्कै हुन सक्थ्यो । सधै केनको बारेमा चर्चा गर्नु उचित हुदैन,’ टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने, ‘हारबाट निराश छौं । मलाई लाग्छ हामी यसका लायक थिएनौं । खेल सकिन १० मिनेट बाँकी हुँदा गोल खानु दुर्भाग्यजनक कुरा हो । तर त्यो हाम्रै गल्तीका कारण भएको थियो।’

लिभरपुलसँग गोलरहित बरीबरी खेलेदेखी चर्को आलोचना खेप्दै आएका युनाइटेडका प्रशिक्षक माउरिन्होले भने जितपछि केही राहत पाएका छन् । लिभरपुलसँग गोलरहित बराबरी खेले लगत्तै युनाइटेडले हडर्सफिल्डलाई २–१ को नतिजा सुम्पिए पछि माउरिन्हो झनै आलोचित भएका थिए । घरेलु मैदानमा सुखद नतिजा निकाले पनि युनाइटेड अघिल्ला खेलमा जस्तो धेरै गोल गर्न भने असफल रह्यो । तथापी ओल्ड ट्राफोर्डमा टोटेनह्यामलाई हराएपछि माउरिन्होले खुशी लुकाउन सकेनन्।

‘हामी हरेक खेल जित्नुपर्छ भन्ने सोच्छौं । त्यसैले हडर्सफिल्डसँगको खेलपछि हामी धेरै निराश भयौं,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘प्रत्येक अंकको महत्व हुन्छ भन्ने हामीलाई थाहा नभए जस्तो भयो । तर, आज खेलाडीले प्रत्येक बल करियरको अन्तिम बल हो भने जसरी खेले।’

भविष्यमा युनाइटेडमै रहने वा नरहने अन्योलमा रहेका मार्सियलबारे माउरिन्होले भने, ‘कहिले काँही उनी पहिलो रोजाईमा खेल्छन् । टोलीमा योगदान गर्छन्, तर गोल गर्न सक्दैनन् । उनी रेड डेभिल्सकै खेलाडी हुन् भन्ने जस्ता प्रतिकृयालाई मैले बुझ्न सकेको छैन । उनले दुई उत्कृष्ट रक्षकको बीचबाट अघि बढेर गोल गरेका छन्।’

गोलकिपर डेभिड डी हियाले गरेको लामो प्रहार पेनाल्टी बक्स बाहिर रहेका रोमेलु लुकाकुसम्म पुगेको थियो । त्यही मुभमा लुकाकुले हेर्डमार्फत दिएको पासमा दुई रक्षकलाई पछि पार्दै मार्सियलले गोल गरेका थिए। 

‘खराब सटमा मार्सियलले गोल गरे । खराब सट, तर निकै सुन्दर,’ माउरिन्होले भने, ‘धेरै राम्रो टोलीविरुद्ध राम्रो खेले । यो निकै कठिन खेल थियो । दुवै टोली जित्न चाहन्थे, तर दुवै प्रतिद्वन्द्वी बलिया थिए । रक्षापंक्तिमा गरेको एकमात्र गल्ती पनि हामीलाई महंगो पर्न सक्थ्यो । हामीले प्रयास गर्‍यौं र नतिजा पनि निकाल्यौं।’

लेरोए सेनको गोलमा १०औं मिनेटमा अग्रता लिए पनि पेप ग्वार्डिओलाको सिटीले त्यसको खुसी धेरैबेर मनाउन पाएन । १३औं मिनेटमा जे रोडरिग्वेजले वेस्ट ब्रोमका लागि बराबरी गोल गरे । तर त्यसपछि खेलमा पकड कायम गरेको सिटीका लागि लगत्तै १५औं मिनेटमा फर्नान्डिन्होले गोल गरेर अग्रता पुनस्थापित गरे । रहिम स्टर्लिङले ६४औं मिनेटमा गोल गरेपछि सिटीको अग्रता ३–१ ले फराकिलो भयो । इन्जुरी समयमा म्याथु फिलिप्सले वेस्ट ब्रोमका लागि एक गोल फर्काए पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन। 

आर्सनलले घरेलु मैदानमा पहिलो हाफ १–० ले पछि रहेर विताए पनि मध्यान्तरपछि उत्कृष्ट पुनरागमन जनाउँदै तीन अंक हासिल ग¥यो । आर्सेन वेंगरको टोलीका लागि सिड कोलासिनाकले ५१औं मिनेटमा बराबरी गोल गरे भने आरोन रामसेले ५८औं मिनेटमा विजयी गोल गरेका थिए। 

शीर्ष चारको अर्को दाबेदार लिभरपुल हडर्सफिल्डमाथि ३–० को जित निकाल्दै १६ अंकका साथ छैटौं स्थानमा उक्लियो । घरेलु दर्शकसामु मोहम्मद सालाहले पहिलो हाफको अन्त्यतिर प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसके पनि लिभरपुलको जितमा मध्यान्तरपछि ड्यानिअल स्टुरिज, रोबर्टो फिर्मिन्हो र जर्जिनियो विज्नाल्डमले गोल गरेका थिए। 
पुछारको टोली क्रिस्टल प्यालेसले घरेलु मैदानमा इन्जुरी समयमा गोल गर्दे वेस्ट ह्यासमँग २–२ को बराबरी नतिजा निकालेको छ । हाभियर हर्नान्डेज र आन्द्रे अयुको गोलमा भ्रमणकारी वेस्ट ह्यामले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तर लुका मिलिभोजेभिचले ५०औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै क्रिस्टल प्यालेसको पुनरागमन आधार बनाए । इन्जुरी समयमा विल्फ्रिड जाहाले गोल गरेपछि घरेलु टोली अंक बाढ्न सफल भयो। 

इङलिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अर्को खेलमा स्टोक सिटीले वाट्फोर्डमाथि १–० को विजय हासिल गर्‍यो। स्टोकको जितमा डारेन फ्लेचरले १६औं मिनेटमा गरेको गोल पर्याप्त भयो। 

प्रकाशित: १२ कार्तिक २०७४ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App