८ वैशाख २०८१ शनिबार
खेल

‘उपाधि रक्षा गर्नु चुनौतीपूर्ण’

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीका मार्काेस अलाेन्साे बर्नामाउथविरूद्ध बल प्रहार गर्दै । तस्बिर : एजेन्सी

बर्नामाउथ– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले शीर्ष क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै   सफलतापूर्वक इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्नु चुनौतीपूर्ण भएको बताएका छन्।

१० खेलको समाप्तिमा २८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ । यता समान खेलमा १९ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । यी दुई टोलीबीचको अंकदूरी ९ छ।

कोन्टेले बर्नामाउथविरुद्धको जितले यसै साता एएस रोमाविरुद्ध हुने च्याम्पिन्स लिग भिडन्तका लागि टोलीको मनोबल उच्च पारे पनि आफूहरूले अहिले शीर्ष ४ भित्र बस्नुभन्दा माथि नसोचेको बताए।

‘अहिलेको स्थितिमा हामीले प्रत्येक खेलको नतिजालाई ध्यान दिन आवश्यक छ,’ कोन्टेले भने, ‘हामीले प्रिमियर लिगमा सोचेअनुरूपको प्रदर्शन गर्न सकेका छैनांै । त्यसैले हामी १९ अंकका साथ चौथो स्थानमा छांै । च्याम्पियन्स लिगमा हाम्रो टोलीको प्रदर्शन सन्तोषजनक छ र हामी शीर्ष स्थानमा छांै । खेलाडीमा खेलको अन्त्यसम्म हार नमान्ने र लयअनुसरको प्रदर्शन गर्ने मानसिकताको विकास भएको छ । यसमा म खुसी छु।’

‘के हामी यसका लागि सक्षम छांै ? मलाई थाहा छैन तर हाम्रो लक्ष्य शीर्ष चारमा बस्नु हो र त्यसका लागि टोली प्रयासरत छ,’ टोलीको लक्ष्यका बारेमा सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै कोन्टेले भने, ‘प्रिमियर लिगमा ६ वटा बलिया टोली छन् । त्यसमध्ये शीर्ष ४ टोली च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् । बाँकी दुई टोलीले युरोपा लिग खेल्नेछन् । मैले गत सिजनको भिडन्त अनुभव गरेको छु । शीर्ष ६ टोलीबीचको प्रतिस्पर्धा कठिन हुन्छ।’

शनिबार सम्पन्न खेलमा चेल्सीले बर्नामाउथलाई १–० ले पराजित गरेको थियो । ५१औं मिनेटमा इडन हाजार्डले गरेको गोल नै चेल्सीलाई स्पष्ट तीन अंक जोड्न प्रर्याप्त भयो । हाजार्डले अल्भारो मोराटाको पासलाई गोलमा परिणत गरेका थिए।

‘म टोलीको प्रदर्शन र नतिजाबाट सन्तुष्ट छु,’ कोन्टेले भने, ‘टोलीले आफ्नो लयअनुरूपको प्रदर्शन ग¥यो र अधिकांश समय खेल नियन्त्रणमा लियो । हामीले पहिलो हाफमै अग्रता लिनुपर्ने हो तर टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन । दोस्र्रो हाफमा टोली थप विश्वस्त देखियो र नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यस जितले यसै साता रोमाविरुद्धको कठिन च्याम्पियन्स लिग भिडन्तका लागि टोलीको मनोबल उच्च पार्दै सकारात्मक ऊर्जा थपेको छ ।’
कोन्टेले मिडफिल्डर एनगोलो कान्टे शनिबारको लिग खेलमा अनुपस्थित भए पनि रोमाको घरेलु मैदन साडियो ओलम्पियामा हुने च्याम्पियन्स लिग खेलमा उनी टोलीमा फर्कने बताए।

‘म कान्टे रोमाविरुद्धको खेलमा टोलीमा फर्कनेमा आशावादी छु,’ कोन्टेले भने, ‘उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् । टोलीमा उनको उपस्थितिले थप ऊर्जा दिन्छ । तर हामी जोखिम मोल्न चाहँदैनाैँ । उनी पूर्णरूपमा फिट भए मात्र टोलीमा स्थान बनाउनेछन्।’

चेल्सीसँगको हारपछि बर्नामाउथ ७ अंकका साथ १९औं स्थानमा छ, जुन रेलिगेसन क्षेत्र हो । बर्नामाउथका प्रशिक्षक एडी होवेले टोलीले प्रिमियर लिग अस्तित्व जोगाउन थप फरक रणनीति अपनाउनुपर्ने बताए।

‘हाम्रो लक्ष्य शीर्ष चारमा बस्नु हो र त्यसका लागि टोली प्रयासरत छ ।’

प्रकाशित: १३ कार्तिक २०७४ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App