१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जिरोनासँग रियाल स्तब्ध

स्पेनिस ला लिगा अन्तर्गत अाइतबार रियालविरूद्ध जित हात पारेपछि जिराेनाका खेलाडी । तस्बिर :एजेन्सी

जिरोना – जिरोनासँग आइतबार २–१ को अप्रत्यासित हार भोगेपछि स्पेनिस ला लिगा अंकतालिकामा शीर्ष टोली बार्सिलोनासँग दुरी कम गर्ने साबिक विजेता रियाल मड्रिडको लक्ष्यमा धक्का लागेको छ।

१२औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिए पनि रियालले अन्तिमसम्म त्यसलाई कायम राख्न सकेन । क्रिस्टियानो रोनाल्डोको प्रहार विपक्षी गोलकिपरले रोक्दा फर्किएको बललाई इस्कोले जाली चुमाएका थिए।

५४औं मिनेटमा नाचो फर्नान्डेजले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै क्रिस्टियन स्टुवानीले जिरोनालाई खेलमा फर्काएका थिए । त्यसको ४ मिनेटपछि क्रिस्टियन पोर्टुले गरेको गोलमा जिरोनाले अग्रता लिएको थियो । पोर्टुले पाउलो माफेओको पासमा गोल गरेका थिए।

रियालका प्रशिक्षक जिनेदिन जिदानले जिरोनासँग अप्रत्यासित हार भोगेपछि उपाधि रक्षा अभियान केही कठिन भए पनि आफ्नो टोली पुनरागमन गर्न सक्षम भएको बताए।

‘हामी सिजनको अन्त्यसम्म उपाधि रक्षा अभियानमा पुनरागमन गर्नेमा विश्वस्त छौं,’ जिदानले भने, ‘म टोलीले आगामी दिनमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु । सिजनमा अझै लामो यात्रा बाँकी छ । त्यसैले अहिल्यै निराश हुनु पर्दैन।’
यस जितपछि १० खेलको समाप्तीमा १२ अंक जोडेको जिरोना १२औं स्थानमा छ। जिरोनासँगको हारपछि समान खेलमा २० अंक जोडेको रियाल तेस्रो स्थानमा छ। समान खेलमा २८ अंक जोडेको बार्सिलोना शीर्ष र २४ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छन्।

‘यस जितले टोलीको मनोबल बढाएको छ । आशा छ यो लयले आगामी दिनमा निरन्तरता पाउनेछ,’ जिरोनाका प्रशिक्षक पाउलो माचिनले भने, ‘रियाल हामी भन्दा बलियो टोली भएकाले सबैले उनीहरुको पक्षमा सहजै नतिजा जाने अड्कल गरेका थिए । तर टोलीले आफ्नो क्षमता अनुरुपको प्रदर्शन गर्दै आफूहरु जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताए।’

त्यस्तै मालागाले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको छ । ४५औं मिनेटमा एड्रियन गोन्जालेजले मालागालाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा इयागो आसपासले गोल गर्दै सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गरे । तर समय सकिन ७ मिनेट बाँकी रहँदा जोस रेसियोले पेनाल्टीमा गोल गर्दै मालागालाई स्पष्ट तीन अंक दिलाए।

जितका बावजुद १० खेलको समाप्तीमा ४ अंकमा सिमित मालागा १९औं स्थानमा छ । समान खेलमा ११ अंक जोडेको सेल्टा भिगो १३औं स्थानमा छ।

आइतबारै सम्पन्न अर्को खेलमा एइबार र लेभान्टेले २–२ को बराबरी खेलेका छन्।

प्रकाशित: १४ कार्तिक २०७४ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App