सोल–अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका छन्।
हवाईस्थित अमेरिकी प्यासिफिक कमान्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई उक्त चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।
वार्तामा उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बताइएको छ।
अमेरिकी सेनाद्वारा जारी एउटा वक्तव्यमा उत्तर कोरियालाई गैरजिम्मेवारपूर्ण उक्साउने गतिविधिदेखि पर बस्न आग्रह गरिएको उल्लेख छ।
केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिले पनि स्वीकार नगर्ने बताएका थिए । म्याटिसले यस्तो चेतावनी दिनुभन्दा अघि उत्तर कोरियाकी एक कूटनीतिज्ञ च्वे सन–हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका तयार हुनुपर्ने बताएकी थिइन्।
प्योङयाङले पछिल्लो समय लगातार क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणहरु गर्न थालेपछि कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । प्योङयाङको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उन व्यक्तिगत रुपमा आरोपप्रत्यारोपमा संलग्न हुँदै आएका छन्।
केही समय अगाडि सम्पन्न भएको संयुक्त राष्ट्रसंघीय महासभामा उत्तर कोरियालाई नष्ट गरिदिने चेतावनी दिएका ट्रम्पले किम जोङ–उनलाई आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे भनेका थिए।
जवाफमा किम जोङ–उनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको कुकुरको आवाज भनेपछि अमेरिका र उत्तर कोरियाबीच तनाव झनै बढेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई उत्तर कोरियासँग वार्ता गर्ने प्रयासमा समय खेर नफाल्न सुझावसमेत दिएका थिए ।
‘रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौं,’ ट्रम्पले ट्विट गर्दै भनेका थिए।
यसैबीच उत्तर कोरियाली हिमाली क्षेत्रमा रहेको आणविक हतियार परीक्षण केन्द्रमा यदि प्योङयाङले नयाँ आणविक परीक्षण ग¥यो भने त्यसबाट हानिकारक विकिरण चुहावट हुनसक्ने दक्षिण कोरियाका प्रमुख मौसम विज्ञले चेतावनी दिएका छन् । यदि उत्तर कोरियाले त्यस क्षेत्रमा नयाँ आणविक परीक्षण गरेमा मान्टाप हिमालको मुनि सय मिटरसम्म लामो दुलो पर्नसक्ने दक्षिण कोरियाका प्रमुख मौसम विज्ञ जाय–चेवललाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । सेप्टेम्बर महिनामा प्योङयाङले गरेको आणविक परीक्षणका कारण विभिन्न क्षेत्रमा पहिरो गएको थियो । उत्तर कोरियाले एउटै आणविक परीक्षण क्षेत्र प्रयोग गरेर सन् २००६ देखि हालसम्म ६ वटा आणविक परीक्षण गरेको छ।
‘पंगी आणविक परीक्षण केन्द्रमा रहेको मान्टाप हिमालको मुनि ६० देखि १०० मिटर लामो दुलो परेको छ, जाय चेवललाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ । ‘सोही आणविक हतियार परीक्षण केन्द्रबाट नै अर्को परीक्षण गरिए, त्यहाँ विध्वंस हुनसक्ने सम्भावना रहेको छ,’ चेवलले चेतावनी दिएका छन्। उत्तर कोरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको पंगी–री आणविक हतियार परीक्षण केन्द्र प्योङयाङको प्रमुख आणविक सुविधासम्पन्न र विश्वमा रहेको एक मात्रै क्रियाशील आणविक परीक्षण केन्द्र भएको बताइन्छ।
प्रकाशित: १४ कार्तिक २०७४ ०५:१९ मंगलबार