८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्पका चुनावी अभियानका प्रमुखमाथि जालसाझीको आरोप

सन् २०१६ जुलाई २१ मा एउटै स्टेजमा ट्रम्पसँगै पल मानाफर्ट (दायाँबाट दोस्रो) । तस्बिर : एजेन्सी

वासिङ्टन– राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल मानाफर्टमाथि युक्रेनसँगको सम्झौताका क्रममा अमेरिकामाथि जालसाजी गरेका आरोप लागेको छ। 

मानाफर्ट र उनका एक व्यापारिक सहयोगी रिक गेट्समाथि सम्पत्ति शुद्धिकरणसहित १२ वटा मुद्दा दर्ता गरिएको बिबिसीले जनाएको छ । आफूमाथि विभिन्न मुद्दा परेपछि मानाफर्ट र उनका कानुन व्यवसायी वासिङ्टनस्थित संघीय जाँच ब्युरो (एफबिआई) मा हाजिर भएका छन् । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनका बेला भएको भनिएको रुसी संलग्नताका बारेमा भइरहेको जाँचबुझका अनुसन्धान गर्ने क्रममा उनीमाथि लागेको आरोपमाथि एफबिआईको पहिलो अनुसन्धान भएको बताइएको छ । तर एफबिआईले उनीहरु माथि भइरहेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानलाई नजोडेको बताइएको छ । उनीहरुमाथि सन् २०१५ मा युक्रेनसँग भएको व्यापारिक सम्झौताका बेला राज्यलाई जालसाझी गरेको आरोप मात्रै लगाइएको छ । एफबिआईका विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले हेरिरहेको यस अनुसन्धानमा राष्ट्रपतीय निर्वाचनका बेला भएको ट्रम्पको चुनावी अभियान र रुसबीच केही सम्बन्ध थियो कि भनेर पनि अनुसन्धान भइरहेको बताइएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपमा रुस र ट्रम्प दुवैलै अस्विकार गर्दै आएका छन्। 

आफ्नो चुनावी अभियानका प्रमुख मानाफर्टमाथि लगाइएको मुद्दामाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले ट्विट गरेका छन् । उनले मानाफर्टमाथि लागेका मुद्दा व्यक्तिगत भएको र ती मुद्दामा आफ्नो चुनावी अभियानको कुनै सरोकार नरहेको बताएका छन् ।  उनले राष्ट्रपतीय निर्वाचनका बेला आफ्ना प्रतिद्वन्दी रहेकी हिलारी क्लिन्टनले गरेको गलत क्रियाकलापमाथि चाहिं किन अनुसन्धान केन्द्रित गरिदैन भनेर प्रश्नसमेत गरेका छन् । मानाफर्टले कैयौं वर्ष ट्रम्पको प्रमुख सहयोगी भएर काम गरेका थिए । वासिङ्टनको प्रभावशाली खेलाडीमध्ये एक रहेका मानाफर्टलाई अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा भने लिइँदैन किनभने देशभित्र उनको सेवाको उच्च माग रहेको छैन । ट्रम्पको राजनीतिक वृतमा रहेका अन्य थुप्रै राजनीतिक अनुहार जस्तै उनी पनि केन्द्रविन्दुमा रहेका थिए किनभने अमेरिकामा स्थापित भएका कैयौं अनुहार राष्ट्रपतीय अभियानसँग जोडिन अनिच्छुक रहेका थिए । त्यसकारण पनि मानाफर्टले ट्रम्पको चुनावी अभियानको प्रमुखका रुपमा काम गर्ने ठूलो मौका पाएका थिए । तर अब उनको राजनीतिक यात्रा समाप्त हुनेतिर देखिएको छ । ट्रम्पको चुनावी अभियान प्रमुख भएपछि केन्द्रविन्दुमा परेका मानाफर्टको विगतका गतिविधि माथि खोजी हुन थाल्यो र उनले गरेका गतिविधिमाथि पनि प्रश्न उठ्न थाल्यो। 

मानाफर्टमाथि ट्रम्पको चुनावी अभियानलाई लिएर भन्दापनि  उनको व्यापारिक सम्झौतामाथि मात्रै मुद्दा पर्नु ट्रम्पका लागि सुखद रहेको बताइएको छ । मानाफर्टमाथि रुस समर्थित युक्रेनी राजनीतिज्ञसँग वर्षौं काम गरेको र करौडौं मनी लाउन्ड्रिङ गरेको आरोप लागेको छ । युक्रेनी व्यापारीसँग मानाफर्टको सम्बन्ध रहेको विवरण बाहिरिएसँगै गत अगस्टमा उनलाई हटाउने ट्रम्पको निर्णय एकदमै बुद्धिमता पूर्ण रहेको देखिएको छ । मानाफर्ट र उनका व्यापारिक सहयोगी र रुस समर्थित युक्रेनी राजनीतिज्ञबीच भएको भनिएको सम्बन्ध सन् २००६ देखि २०१५का बीच स्थापित भएको थियो। मानाफर्ट र गेट्समाथि लागेको आरोप अनुसार उनीहरुले युक्रेनी राजनीतिज्ञ भिक्टोर यानुकोभीच र उनको दलसँग अनाधिकृत एजेन्टका रुपमा काम गरेका थिए । यानुकोभीचको रुस समर्थित नीतिको विरोध गर्दै भएको आन्दोलनका कारण सन् २०१४ मा उनलाई युक्रेनको राष्ट्रपति पदबाट हटाइएको थियो । ६८ वर्षे मानाफर्टले सन् १९७६ मा गेराल्ड फर्डको चुनावी अभियानदेखि रिपब्लिकनका तर्फबाट उम्मेद्वार बनेका विभिन्न व्यक्तिको चुनावी मोर्चा सम्हालेका थिए । 
 

प्रकाशित: १४ कार्तिक २०७४ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App