८ वैशाख २०८१ शनिबार
राजनीति

इलामबाट को–को परे समानुपातिकमा ?

इलाम- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्।

एमाले स्रोतका अनुसार पार्टीले आइतबार राति बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा एमालेबाट जिल्लाका मणिकुमार लिम्बूको मात्रै नाम छ । जिल्ला कमिटीले लिम्बूसहित पदम भण्डारी र डम्बर गदालको नाम प्रतिनिधिसभाको समानुपातिकका लागि प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

          प्रदेशसभाको समानुपातिकमा जिल्लाबाट केहेरसिंह लिम्बू, ध्रुव श्रेष्ठ र सानु शिवा पहाडीको नाम बन्दसूचीमा परेको स्रोतले जनाएको छ। मंगलबार बेलुकीसम्ममा तारा गुरुङको नाम पनि यसमा थप्ने तयारी भएको स्रोतले जनायो । प्रदेशको समानुपातिकतर्फ जिल्लाबाट १५ भन्दा धेरैको नाम सिफारिस भएको थियो। 

          प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचन क्षेत्र १ बाट झलनाथ खनाल र क्षेत्र २ मा सुवासचन्द्र नेम्बाङको नाममा एमाले–माओवादी गठबन्धनबीच सहमति भइसकेको छ । प्रदेशसभातर्फ क्षेत्र १ को २ मा काजीमान कागते, २ को १ मा रामबहादुर राना र क्षेत्र २ को २ मा धीरेन शर्मा रमणको नाममा सहमति जुटिसकेको छ ।

          कागते र राना एमाले हुन् भने शर्मा माओवादी । गठबन्धनका तर्फबाट उनीहरूले उम्मेदवारी दिएका हुन् । क्षेत्र १ को १ मा एमाले उपाध्यक्ष भक्त केसीसहित ७ जनाको नाम जिल्लाबाट सिफारिस भएपनि अन्तिम टुंगो लागेको छैन । मंगलबार साँझसम्ममा सबै उम्मेदवारको टुंगो लाग्ने एमाले जिल्ला कार्यालय सचिव नवराज शंकरले जानकारी दिए। ‘जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभातर्फ ३ सदस्यका उम्मेदवार एमालेबाट तथा प्रदेशसभाको एउटा सदस्यका लागि माओवादीबाट उम्मेदवारी दिने गठबन्धनबीच सहमति छ,’ उनले भने, ‘एमालेकै भागमा रहेको क्षेत्र १ को १ बाहेक सबै उम्मेदवार अब टुंगो भइसक्यो ।’

          नेपाली कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ इलामका कुलबहादुर गुरुङ, विष्णु लिम्बू (दाहाल) र सुजाता परियारको नाम परेको छ । कांग्रेस जिल्ला समितिले गुरुङ, लिम्बू र परियारसहित तोयानाथ भट्टराई, टीकाराम लेप्चालगायतको नाम सिफारिस गरेको थियो । तर, तीनजनाको नाम सूचीमा परेको जानकारी पाएको कांग्रेस स्रोतले जनाएको छ ।

          प्रदेशसभातर्फ शान्तिकला तामाङको नाम बन्दसूचीमा परेको छ। कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जिल्लाको क्षेत्र २ मा केशव थापाको नाममा टुंगो भइसकेपनि अन्य कुनै पनि क्षेत्रमा उठ्ने उम्मेदवारको नाममा निर्णय भइनसकेको बताए । ‘आजै (मंगलबार) साँझसम्ममा निर्णय हुने बुझेको छु,’ उनले भने।

प्रकाशित: १४ कार्तिक २०७४ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App