५ वैशाख २०८१ बुधबार
समाज

दुई सय प्रदूषित सवारीलाई कारबाही

काठमाडौं- प्रदूषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको पहिलो सातादेखि उपत्यका ट्राफिक महाशाखाले प्रदूषण परीक्षण अभियान चलाएको हो । सो क्रममा दुई साताभित्र महाशाखाले विभिन्न २ सय भन्दाबढी प्रदूषित सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा निजी कार, मोटरसाइकलदेखि सार्वजनिक यातायात सबै सवारी साधन छन्।

महाशाखाका अनुसार हरियो स्टिकर टाँसेर पनि प्रदूषण गरेका सवारी साधनलाई कारबाहीमा परेका छन् । ‘स्टिकर भएर पनि धुवाँ फालेकालाई मर्मत गर्न पठाउँछौ, मर्मतपछि धुवाँ नभए मात्र पुर्जी दिन्छौं,’ महाशाखाका प्रवक्ता उमेश  रञ्जितकारले भने । स्टिकर भएर पनि धुवाँ फाल्ने सवारी साधनहरु बेला–बेलामा मर्मत नगर्नेमा पर्छन् । प्रवक्ता रञ्जितकारका अनुसार धुवाँ फालेका र स्टिकर पनि नटाँसेका सवारी साधनलाई भने धुवाँको तह तथा सवारी साधनको उमेर परीक्षणको लागि यातायात महाशाखा पठाइन्छ । यस्ता सवारी साधनले इन्जिन मर्मत गरेर आएपछि मात्र कारबाही पूर्जी फिर्ता दिने गरिएको छ ।

प्रदूषणरहित सवारी साधनलाई सरकारले पहिलादेखि नै हरियो स्टिकर वितरण गर्दै आएको छ । सवारी साधनको प्रदूषणको अवस्था हेर्ने निकाय यातायात व्यवस्था विभाग  भए पनि कारबाहीमा ट्राफिकले सहजीकरण गरिरहेको छ ।

‘हामी ट्राफिक सधैं सडकमा हुन्छौं, सवारी साधनको धुवाँको सिधा असर हामीले खेप्नु पर्छ,’ प्रवक्ता रञ्जितकारले भने, ‘त्यसैले कारबाहीमा सहजीकरण गरेका हौं ।’ यातायात विभागमा कारबाही गर्ने कर्मचारी अभाव भएकाले ट्राफिकले सहजीकरण गरेको उनले बताए ।

प्रकाशित: १५ कार्तिक २०७४ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App