८ वैशाख २०८१ शनिबार
विचार

कांग्रेसको जीर्ण नारा

नेपाली कांग्रेस आउँदो निर्वाचनलाई लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एउटा रोज्ने अवसरका रूपमा प्रचारित गर्दैछ । त्यस पार्टीका नेताले आफ्ना चुनावी भाषणमा यस्तै आशय प्रकट गर्दै आएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्र जारी गर्ने दौडमा पहिलो हुँदै कांग्रेसले वामगठबन्धनको विजय भए लोकतन्त्र खतरामा पर्ने मूल राजनीतिक नारा अघि सारेको छ । घोषणापत्रमा त्यस पार्टीले केही अनुच्छेदलाई वडो महत्व प्रदान गर्दै गाढा रंगमा प्रस्तुत गरेको छ । त्यस्ता केही अनुच्छेदहरूमा दोहोर्‍याइ–तेहेर्‍याइ, घुमाइ–फिराइ वा सोझै वाम गठबन्धनको भूत खडा गर्न खोजिएको छ । यस्तै एक ठाउँ गाढा रंगमा उल्लेख गरिएको छ— राष्ट्रिय राजनीतिमा पुनः उठ्न थालेको अतिवादी र एकदलीय कम्युनिस्ट वर्चस्वको शासनको सोच र प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि जोखिमपूर्ण छ । कांग्रेसले मतदातासमक्ष प्रश्न राखेको छ— देशलाई अतिवादी राजनीतिक सोच र व्यवहारतर्फ धकेल्ने वा पारस्परिक सहमति, सहिष्णुता र सहकार्यको लोकतान्त्रिक र सुरक्षित बाटोतर्फ उन्मुख गराउने ?

कांग्रेसले नयाँ संविधानका आधारभूत मान्यताहरूको पालना र कार्यान्वयनप्रति दृढता व्यक्त गरेको छ । तर एकातिर त्यस पार्टीले संविधानका आधारभूत मान्यताप्रति असहमत हुनेहरूसँग गठजोड गर्दै संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्कोतिर यही संविधान निर्माणमा संलग्न र यसैबमोजिम राजनीतिक मैदानमा एकगठ भएर ओर्लिएका वामपन्थीलाई अलोकतान्त्रिक साबित गर्न खोजेको छ । तर लोकतन्त्रका लागि खतरनाक काल्पनिक भूतको भय देखाएर मत बटुल्न सकिने कांग्रेसको आँकलन नै सन्दर्भ र सूचनाको वस्तुगत आधारमा अडेको छैन । घोषणापत्रमा अभिव्यक्त सिर्जनशीलताको अभाव झल्किने यस्तो जीर्ण नारालाई त्यस पार्टीले उद्धारको मन्त्र ठह¥याएको छ । तर ०४६ सालपछिका निर्वाचनहरूमा प्रयोग भइसकेको त्यो मन्त्र आजको सन्दर्भमा म्याद गुज्रिएको औषधि साबित हुने प्रस्टै देखिन्छ ।

कांग्रेसले एकदलीय तानाशाहीको अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने चर्को नारा उरालेको छ । तर मनोगत भूतविरुद्धको त्यस्तो लोकतान्त्रिक मोर्चाबन्दीको न जग देखिएको छ, न खाका । कांग्रेस एकातिर लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र ओलकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा सामेल हुन आग्रह गरिरहेको छ । अर्कोतिर स्वस्थ राजनीतिक प्रतिस्पर्धाको मान्यतालाई बिर्सेर लोकतन्त्रका वाहक शक्तिलाई नचिनेभैmँ गरिरहेको छ । कांग्रेस घोषणापत्रमा उल्लेख गर्छ, दक्षिणपन्थी विचारका राजनीतिक दल र प्रवृत्तिको कांग्रेस प्रभाव र सहकार्यमा क्रमशः लोकतन्त्रीकरण भएको छ । तर आफ्नो भट्टीमा दक्षिणपन्थी पनि गलेर लोकतन्त्रको साँचोमा ढालिन्छन् भन्ने दाबी गर्ने कांग्रेस यो मान्दैन, एमालेको प्रभाव र सहकार्यमा उग्रवामपन्थी पनि क्रमशः लोकतान्त्रिक हुन सक्नेछन् । बरू कांग्रेस के ठान्छ भने हिजो त्यस पार्टीसँग माओवादीको सहकार्य हुन्जेल नेपाली लोकतन्त्र अत्यन्त ठीक दिशातर्फ उन्मुख थियो । माओवादीले एमालेसँग सहकार्यको थालनी गर्नेबित्तिकै लोकतन्त्रउपर खतराको घन्टी बज्न थाल्यो । त्यसैले एमालेको आलोचना गर्ने क्रममा घोषणपत्रमा उल्लेख गरिएको छ, त्यस पार्टीले ०६२–६३ पछिको सहकार्यको वातावरणलाई भत्काउने प्रयत्न गरेको छ । अर्थात् माओवादीलाई आफ्नो छातामुनि तानेर एमालेले सहकार्यको वातावरण बिथोलेको छ ।

कांग्रेसले आफूलाई मध्यधारको बताउँदै मत मागेको छ । त्यसक्रममा पार्टीले घोषणापत्रमा सहमति र सहकार्यजस्ता शब्दहरूको पर्याप्त मात्रामा उल्लेख गरेको छ । वाम एकताको विरोध गर्ने क्रममा घोषणापत्र माओवादीलाई हलुका प्रहार त गर्छ । तर केही आग्रहसहित निष्कर्ष लेख्छ, माओवादी एमालेसँग मिल्नु स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसक्नु हो । कांग्रेसको चतु¥याइँ नबुझिने किसिमको भने छैन । यतिखेर एमालेको बाध्यता बुझ्न सकिन्छ, हिजो माओवादी ज्यादतिविरुद्ध आफ्नो पार्टीको झन्डा बोकेर अडिग भएकै कारण बर्बरतापूर्वक मारिएका गुरु लुइँटेल, यदु गौतम वा अनेकौँ नेता–कार्यकर्तालाई सम्झिन सहज छैन । तर कांग्रेसले पनि दश वर्षे हिंसात्मक युद्धमा मारिएका आफ्ना नेता–कार्यकतालाई औपचारिकतावश मात्र स्मरण गरेको छ । वाम गठबन्धन र यसको नेतृत्वकारी भूमिकामा रहेको एमालेप्रति आक्रामक कांग्रेसले अरू जोसुकैसँग एकता र सहकार्य गर्ने रुचि प्रकट गरेको छ । तत्कालका लागि त्यस पार्टीले मधेसकेन्द्रित दल र दुई राप्रपाको निकै प्रशंसा गरेको छ । तर माओवादीका सम्बन्धमा कांग्रेसको बुझाइ के छ भने त्यो शक्ति वामगठबन्धनमा समावेश भएको अवस्थामा मात्र लोकतन्त्र विरोधी हुन पुग्छ । लोकतन्त्रको नारालाई सबैभन्दा जोडका साथ उरालिरहेको कांग्रेसले आफ्नो घोषणापत्रमा धर्मनिरपेक्षता भन्ने शब्दको उच्चारण पनि गरेको छैन । बरू हिन्दू राष्ट्रका पक्षपातीहरूलाई खुसी पार्न उल्लेख गरिएको छ, हजारौँ वर्षदेखि हिमालयको काखमा बसेको नेपालले सनातन वैदिक संस्कृति र सभ्यताको संरक्षण र पोषण गर्दै आएको छ । कांग्रेसको ठहर छ, त्यही संस्कृतिले बहुसंख्यक हिन्दूहरूको आध्यात्मिक ऊर्जालाई मात्र होइन, परिवार र समाजको सम्बन्ध र दैनिकीलाई पनि मार्गदर्शन गर्ने गरेको छ ।

संविधानसभाको पहिलो निर्वाचनबाट पहिलो पार्टीका रूपमा स्थापित भएपछि माओवादीले ठूलो दम्भ प्रदर्शन गरेको थियो । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न नभएसम्मको अवधिमा त्यो पार्टी पटक–पटक लोकतन्त्रका विश्वव्यापी मान्यताबाट पछि हटेको मात्र थिएन, त्यसले बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, विधिको शासन र स्वतन्त्र न्यायपालिकाजस्ता आधारभूत लोकतान्त्रिक मूल्यमा समेत विवाद सिर्जना गरेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा एमालेले यही कथन अघि सारेर मत मागेको थियो । एमालेले चार वर्षअघि भनेकै थियो, एकातिर माओवादीको सहयोगबिना शान्ति प्रक्रिया पूरा नहुने अवस्था थियो, संविधान पनि बन्न नसक्ने अवस्था थियो, अर्कातिर त्यसपार्टीका नीतिहरू नै समस्याको कारक थिए । त्यसबेला एमाले र कांग्रेस दुवै माओवादीको दृष्टिमा संसदवादी पार्टी थिए ।

कांग्रेस ०७३ साउनदेखि ०७४ असोज मध्यसम्म माओवादीले पहिलो संविधानसभामा मधेसकेन्द्रित दलहरूसँग मिलेर निर्वाह गरेको भूमिका सम्झिनै चाहँदैन थियो । त्यसबेला काठमाडौँसम्म आएर भारतीय विदेश मन्त्रीले कांग्रेस माओवादी सहकार्य निरन्तर अघि बढोस् भन्ने शुभकामना प्रदान गर्दा कांग्रेस तलदेखि माथिसम्म प्रफुल्ल थियो । त्यसअवधिमा कांग्रेसलाई माओवादीको कुनै विगत यादै थिएन । तर ०७४ साल असोज–कात्तिकसम्म आइपुग्दा कांग्रेस एमाले र माओवादीबीचको चुनावी तालमेललाई लोकतन्त्रका निम्ति घातक देख्दैछ । यतिखेर कांग्रेस घोषणापत्रमा उल्लेख गर्दैछ, पहिलो संविधानसभामा चार वर्षसम्म देशले संविधान पाउन सकेन । यो त जगजाहेर कुरा नै हो । तर यहाँनेर घोषणापत्र भन्छ, उल्टै देश वामपन्थी अतिवादी निर्णयका कारण गम्भीर संवैधानिक संकटमा फस्न गयो । यसरी माओवादी आफ्नो गठबन्धनबाट बाहिर गएपछि बल्ल कांग्रेस पुराना कुरा सम्झिन थालेको छ । अहिले कांग्रेसलाई लाग्दैछ, वर्तमान कम्युनिस्ट गठबन्धनले फेरि एकपटक देशलाई उग्र राजनीतिक विचार, व्यवहार र द्वन्द्वतर्फ लैजान खोजेको छ । अहिले कांग्रेसको निष्कर्ष छ, एमाले माओवादी सहकार्य देशको समृद्धि र सामाजिक एकताका लागि बाधक बन्न सक्छ ।

घोषणापत्रमा पूर्वपञ्चहरूको प्रशंसामा पर्याप्त शब्द खर्च गरिएको छ । जहाँ लेखिएको छ, देशको नयाँ संविधानप्रतिको गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका मूल्य पद्धतिमाथिको विश्वास नै नेपाली कांग्रेस तथा राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालको सहकार्यको आधार हो । पूर्वपञ्चहरूको प्रशंसा गरिएकै अनुच्छेदमा लेखिएको छ, कम्युनिस्टहरूको गठबन्धन चुनावमा हिंसा र बल प्रयोग गर्ने, कम्युनिस्ट वर्चस्वको संसद् बनाएर व्यापक सहमतिबाट बनेको संविधानको प्रावधानलाई एकलौटी ढाँचामा संशोधन गर्ने र कम्युनिस्ट पार्टीको एकदलीय शासन स्थापना गर्ने षड्यन्त्रबाट निर्माण भएको छ । अनि त्यस्तो षड्यन्त्रलाई कांग्रेसले पूर्वपञ्चहरूसँग सहकार्य गर्दै परास्त गर्ने योजना अघि सारिएको छ ।

वाम गठबन्धनप्रति आक्रमक भए पनि कांग्रेसले सबै राजनीतिक दलसँग निरन्तर संवादमा बसेर देशलाई सहमति, सहकार्य, एकता र मेलमिलापको बाटोमा हिँडाउने शाब्दिक संकल्प गरेको छ । तर मेलमिलापको संकेतको अर्थ खोज्न केही समयअघि देखिको राजनीतिको चर्चा गर्नैपर्ने हुन्छ । कांग्रेस आज वामगठबन्धनमाथि प्रहार गर्दागर्दै माओवादीप्रति केही आशावादी पनि छ । निर्वाचनपछिको समीकरणमा फेरि पुष्पकमल दाहालको उपादेयता नदेखेको भए कांग्रेसले संवाद, सहकार्य र मेलमिलापको कुरा मात्र घोषणापत्रमा उल्लेख गर्ने थिएन । युद्ध अपराध र संक्रमणकालीन न्यायका सिद्धान्तको विस्तृत चर्चा गर्ने थियो । त्यसैले लोकतन्त्रमाथि खतराको नारा कांग्रेसको आवरण मात्र हो भन्ने प्रस्ट छ । कांग्रेसको राजनीतिक कार्यदिशा आवरण पृष्ठ पल्टाउँदै गएपछि मात्र बुझिन थाल्छ । 

 

 

प्रकाशित: १५ कार्तिक २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App