७ वैशाख २०८१ शुक्रबार
समाज

भरिन आँट्यो ओखरपौवा, तयार छैन बञ्चरेडाँडा

नुवाकोट- विगत १२ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर ‘डम्प’ गरिँदै आएको नुवाकोटको ओखरपौवामा अब ६ महिना मात्र फोहर अट्ने आकलन सँगै अब कहाँ फोहोर व्यवस्थापन गर्ने भन्ने प्रश्न उब्जिएको छ ।
सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्ड फिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको छ । तर, हालसम्म खोला डाइभर्सन र हिमपाइन राख्ने काम मात्र भएको छ । उक्त क्षेत्रलाई डम्पिङ साइट बनाउन अझै तीन वर्ष लाग्ने काठमाडौं महानगरपालिकाका कर्मचारीहरू नै बताउँछन् ।
महानगरपालिकाको वातावरण महाशाखाको टोलीले बुधबार ओखरपौवा र बञ्चरेडाँडाको स्थलगत अध्ययन गरेको थियो । ओखरपौवामा बढीमा छ महिनाको फोहोर मात्र अट्ने सम्भावना देखिएको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । ‘माथिल्लो निकायकै कमजोरीले २०५२ सालमा जग्गा अधीग्रहण गरिएको बञ्चरेडाँडामा ल्याण्ड फिल्ड साइट बनाउन ढिलाइ भइरहेको हो,’ उनले भने, ‘फोहोर संकलन गर्दै आएको ओखरपौवामा अब ३÷४ महिनामात्रै फोहोर फाल्न मिल्छ, यदी माथिल्लो निकायले चासो नदिने हो भने काठमाडौंको फोहोर व्यवस्थापन गर्नु साँच्नै चुनौतीपूर्ण हुनेछ ।’
उपत्यकाबाट दैनिक १० हजार टन फोहोर ओखरापौवामा डम्प गर्ने गरिएको छ । २०५८ सालमै सरकारले बञ्चरेडाँडाका स्थानीयलाई मुआब्जा दिएको थियो । हालको ककनी गाउँपालिका वडा २ मा पर्ने यस क्षेत्रमा ल्याण्ड फिल्ड साइट बनाउनको निम्ति २०६१÷६२ देखि वार्षिक ढेड करोडभन्दा बढी रकम विनियोजन गर्दै आएको महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख युवराज खनालले जानकारी दिए । उनले उक्त बजेट हिमपाइप हाल्ने, वृक्षरोपण गर्नेलगायतका काममा खर्च भएको बताए । उनका अनुसार सरकारले उतिबेलै मुआब्जा दिए पनि कतिपय स्थानीयले घर छोड्न अटेरी गरेका छन् ।
‘फोहर फाल्ने ठाउँ तयार पार्ने मुख्य जिम्मा स्थानीय विकास मन्त्रालय अन्र्तगतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको हो, तर केन्द्रले खासै काम गरेको देखिन्न,’ उनले भने । उनले अहिले उपत्यकाका १८ मध्ये १२ नगरपालिकाको फोहोर ओखरपौवामा फाल्ने गरिएको बताए ।
१ सय २५ ट्रकले दैनिक उपत्यकाको फोहर नुवाकोट पु¥याउने गरेका छन् । ओखरपौवा काठमाडौं टेकुदेखि २८ किमीको दूरीमा पर्छ । उक्त दूरी लामो भएको भन्दै महानगर र स्थानीय विकास मन्त्रालयको सहकार्यमा बञ्चरेडाँडादेखि मुड्खुसम्म भित्री बाटो बनाउने कार्य भइरहेको वातावरण महाशाखा प्रमुख श्रेष्ठले बताए । उनले अहिले सडक निर्माणको काम धमाधम भइरहेको जानकारी दिए । ‘अहिलेको बाटो लामो र स्थानीयलाई अवरोध पुग्ने खालको छ,’ उनले भने, ‘बञ्चरेडाँडादेखि मुड्खुसम्मका भित्री बाटो बनाउदा छोटो र स्थानीयलाई अवरोध पुग्दैन ।’ यो रुट हुँदै बञ्चरेडाँडा पुग्न करिब ३५ मिनेट लाग्ने अनुमान छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले नगरपालिकाले सरकारको निर्णयपत्रमा अनुमोदन नगरेका कारण फोहर व्यवस्थापनको समस्या जटिल बन्दै गइरहेको आरोप लगाए । उनले फोहर व्यवस्थानबारे २०६७ सालमा ग्लोबल टेण्डर गरे पनि नगरपालिकाले खास विषयमा चासो नदिएका कारण ल्याण्ड फिल्ड साइट निर्माणको काम ढिलो हुँदै गएको बताए । ‘निर्वाचित मेयरहरुले फोहर व्यवस्थापनमा चासो नदिएकै कारण अहिले फोहरले व्यवस्थापन ठूलो समस्याको विषय बनेको छ,’ उनले भने, ‘खासमा काठमाडौंको फोहर काठमाडौंमै व्यवस्थापन गर्न सकिन्छ, तर नगरपालिकाहरुलाई वास्तै छैन, सबै माथिल्लो निकायले मात्रै गर्ने होइन ।’ उनले पुनःप्रशोधन गर्न सकिने र नसकिने फोहर छुट्याएर काम गर्न सकेको भए काठमाडौंको फोहर व्यवस्थापन यति चुनौतिपूर्ण नहुने बताए ।
 

प्रकाशित: १६ कार्तिक २०७४ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App