coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एलर्जीलाई हेलचक्र्याँइ नगर्न सुझाव

बनेपा- एलर्जीको समस्या छ र बेलैमा यसको उपचारमा ध्यान दिइएन भने कालन्तरमा जीर्ण रुघा हुँदै दमजस्तो दीर्घरोगको जोखिम हुने भएकाले सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

    ‘अधिकांश बिरामीले एलर्जी भनेको छाला चिलाउने मात्रै हो भनेर हेलचक्र्याँइ गर्दा समस्या बल्झेर दमसम्मको अवस्थामा पुगेपछि मात्रै जचाउँन आउनेहरू धेरै छन् । एलर्जी हुनबाट जोगिएमा यस्ता कडा रोग बोक्नु पर्दैन,’ धुलिखेल अस्पताल, छालारोग विभागका प्रमुख डा. धर्मेन्द्र कर्णले भने ।

ग्रामीण र सहरी भेगका आठ वटा स्कूलका एक हजार आठ सय ९६ विद्यार्थीमा गरिएको टेष्टबाट आठ दशमलव तीन प्रतिशतलाई एलर्जी भएको पाइयो र अधिकांशको कारक हाउस डष्ट माइट्स(कीटाणु) पाइयो ।

घाम, धुलो, धुवाँ, फूलको परागकण, औषधि, कस्मेटिक्स, खानेकुरा, गाईको दूधको प्रोटिन, जनावरको रौंजस्ता बाहिरी तत्व मानिसको शरीरले स्वीकार गर्न नचाहेर बाहिर निकाल्दा विभिन्न किसिमका लक्षण उत्पन्न हुने र त्यसलाई एलर्जी मानेर उपचार गर्दै आइएको उनले बताए । ‘एलर्जी ठूलो रोग होइन । तर, बेलैमा रोक्न नसक्दा यसबाट धेरै रोग लाग्न सक्ने सम्भावना उत्तिकै हुन्छ,’ कर्णले थपे ।
सुरुवाती दिनमा एलर्जीलाई छाला रोगका रूपमा उपचार गरिँदै आएकोमा पछिल्ला वर्षमा यससँगै हुने अन्य रोगलाई समेत बहु–बिधामा आधारित पद्धतिबाट उपचार गर्न थालेको कर्णको भनाइ छ, ‘बालरोग, आँखा, नाक–कान–घाँटी र स्वासप्रस्वासका रोगसमेत एलर्जीबाटै सुरु हुने गरेको पाइन्छ । यसै कारण पनि उपचारमा समेत हामीले बहु–बिधा अपनाउन थालेका छौं,’ उनले थपे ।
विगतमा एलर्जीको उपचारमा मात्रै ध्यान दिइने गरिएकोमा पछिल्लो तीन वर्षदेखि धुलिखेल अस्पतालको छाला रोग विभागले जर्मनीको युनिभर्सिटी अफ रेगेन्सबर्गकी एलर्जोलोजिष्ट हेन्रिएटी मुलरसँगको सहकार्यमा एलर्जीको टेष्टसमेत हुँदै गर्दै आएको कर्णले जानकारी दिए ।
अस्पतालमा आएका बिरामी र जिल्लाका ग्रामीण तथा शहरीभेगका स्कूले विद्यार्थीमा गरिएको अध्ययनले समेत एलर्जीको सबैभन्दा बढी कारण हाउस डष्ट माइट्स(कीटाणु) रहेको देखाएको छ । आँखाले सोझै देख्न नसकिने तर माइक्रोस्कोपको मद्दतबाटमात्रै देख्न सकिने माइट्सकै कारण धेरैमा एलर्जी भएको पाइएको छ ।
‘ग्रामीण र सहरी भेगका आठ वटा स्कूलका एक हजार आठ सय ९६ विद्यार्थीमा गरिएको टेष्टबाट आठ दशमलव तीन प्रतिशतलाई एलर्जी भएको पाइयो र अधिकांशको कारक हाउस डष्ट माइट्स(कीटाणु) पाइयो,’ विभागका डा. शेखर केसीले भने ।
एलर्जी हुँदा रातको समयमा बढी दम आउनुमा हाउस डष्ट माइट्सको कारणले हुने गरेको जर्मनी एलर्जोलोजिष्ट मुलरको भनाइ छ  । ‘मान्छे बस्ने र सुत्ने ठाउँमा शरीरका कोष झर्ने हुँदा माइट्सले यसमा आश्रय लिन्छ । हामीले प्रयोग गर्ने सिरक, डसना र तकियामा रहेको कटनमा यी माइट्स बाँच्छन्’, उनले भनिन्, ‘एक वर्ष पुरानो ओछ्यानमा १० लाखदेखि एक करोड(१ देखि १० मिलियन) माइट्स हुने देखाएको छ । दुई वर्ष पुरानो तकियामा त्यसको तौलकोे डबल दोब्बर माइट्स हुन्छ । सम्पूर्ण एलर्जीको २५ प्रतिशत र दमको रोग ५० प्रतिशतसम्म बढाउने काम यीनै माइट्सले गर्छ । रातिको समयमा दम बढी हुने कारण यी किटाणु राति सक्रिय हुने भएकाले हो,’  मूलरले थपिन् ।
विश्व स्वास्थ्य संगठनले समेत एलर्जीलाई संसारमै बढ्दो क्रममा रहेकाले आगामी दशकसम्म तेस्रो मुख्य स्वास्थ्य समस्या हुन सक्नेतर्फ सवाधानी गराएको छ । अमेरिकी वातावरण संरक्षण एजेन्सीले पनि कहिल्यै दम रोगको सामना नगरेका बालबालिकाले डष्ट माइट्सकै कारण दम रोग व्यहोर्नु पर्ने अवस्था आएकोतर्फ सचेत गराएको पाइन्छ ।
युरोपलगायत अन्य मुलुकमा कटनको साटो विशेष सामग्रीले बनेका सिरक, डसना र तकियाको प्रयोगले माइट्सको नियन्त्रण भए पनि नेपालमा सहजै सम्भव नभएको मूलरको भनाइ छ । ‘खर्चिलो भएकाले नेपालीले सिरक, डसना र तकिया फेर्न सक्दैनन् । यस्तोमा विशेष तरिकाले तयार पारिएका खोल(इनकेसिङ) प्रयोग गर्न सकिन्छ । यस्ता खोलमा दुई तह हुने भएकाले भित्रजति माइट भए पनि बाहिर निस्कन पाउँदैन,’ उनले थपिन् ।
आम जनमानसमा एलर्जी भन्नासाथै पाको उमेरका मानिसमा मात्रै हुने धारणा रहेता पनि नवशिशुबाटै एलर्जी सुरु हुनसक्ने अस्पतालको बालरोग विभागकी डा. सिर्जना डंगोलको भनाइ छ, ‘३८ हप्ताअघि जन्मने शिशुलाई तत्कालै एलर्जी हुन्छ । त्यसको दाँजोमा समय पुगेका शिशुलाई कम एलर्जी हुन्छ । आमाको दूध खान पाएको बच्चालाई कम र नपाएकोमा बढी एलर्जी हुन्छ । उनीहरूलाई फुड एलर्जीका कारण छालामा डाबर आउने र सास फेर्दा घ्यार–घ्यार आउँछ,’ उनले भनिन् ।
जन्मनासाथ बाल सघन उपचार कक्ष(एनआइसियु)मा राख्नु परेका बच्चालाई लामो समय अक्सिजन दिइने हुँदा आमासँगै घर गएका बच्चालाई भन्दा त्यस्ता बच्चामा बढी एलर्जी हुने डंगोलको भनाइ छ, ‘जुन बच्चालाई एलर्जी छ, उसलाई दम हुन्छ । यसबारेमा अभिभावकलाई परामर्श दिँदा बुढापाकाको रोग बच्चालाई कहाँ लाग्छ र भन्छन् । बच्चाको केसमा समयमै उपचार गर्न सकेमा ९० प्रतिशत दम निको हुन्छ’, उनले भनिन् ।
अर्को एक अध्ययनले ग्रामीण जीवनमा भन्दा सहरी जीवनमा एलर्जीको मात्रा धेरै रहेको देखाएको छ । आधुनिक जीवनशैली र रहनसहन यसको प्रमुख कारक रहेको चिकित्सकहरू बताउँछन् ।
‘विकासको गतिले हामी जति आधुनिक हुँदै गयौं त्यति नै कृत्रिम कुरासँग नजिकिने भएकाले एलर्जीको सम्भावना पनि बढ्दो रहेको छ’, अस्पतालको मेडिसिन विभागका डा. विजयकृष्ण प्रजापतिले भने ।
    ‘अहिले पनि छालाको एलर्जी भयो भने छालाकै डाक्टरलाई देखाउने, नाकको एलर्जी भयो भने नाक–कान–घाँटी विभागमै र स्वाँ–स्वाँ आएमा छातीरोग विभागमा जाने चलन छ । एलर्जीपछि बिरामीलाई जीर्ण रुघा हुँदै दमको रोगसम्म हुने गरेको पाइएको छ । नाकमा एलर्जी हुनेलाई दम रोग हुने ९० प्रतिशतसम्म जोखिम रहन्छ । त्यसैले एलर्जी हुनासाथ सबै विधामा एकै पटक देखाउनु बुद्धिमानी हुन्छ,’ उनले सुझाए ।
    नेपालमा कमै मात्र चर्चा हुने गरेको फुड एलर्जीअन्तर्गत आन्द्रामा हुने सिलियाक रोगले छालामासमेत समस्या निम्तन सक्ने उनको भनाइ छ । ‘विदेशमा पहिले थोरै परिणाममा खानेकुरा खाएर एलर्जी नभएको खण्डमा धेरै परिणाममा किन्ने चलन छ । हामीकहाँ डिपार्टमेन्टल स्टोरमा देखिएका राम्रा प्याकिङका खानेकुरालाई हामी कुनै सोधखोज नगरी खान थाल्छौं । यसले पनि समस्या ल्याइरहेको हुनसक्छ,’ प्रजापतिले भने ।

एलर्जी सम्बन्धी पहिलो सम्मेलन धुलिखेलमा
धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पतालले मुलुकमै पहिलोपटक नेपाल एलर्जोलोजी सम्मेलनको आयोजना गरेको छ । एलर्जी भनेको नचिलाउने औषधि खानुमात्रै भन्ने धारणामा परिवर्तन ल्याइ एलर्जीको कारण पत्ता लगाएर त्यसलाई रोकथाम, नियन्त्रण र एलर्जी हुनेहरुको प्रतिरोधात्मक क्षमता(इम्युनोथेरापी) बारेमा यो सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा युनिभर्सिटी अफ रेगेन्सबर्ग र वर्थ अस्पताल जर्मनीका एलर्जीसँग सम्बन्धित विशेषज्ञहरुबाट बहु–बिधा समाधानबारे कार्यपत्र प्रस्तुत हुँदैन् । एलर्जीको अनुसन्धान र उपचारका निम्ति विकसित देशमा मार्गदर्शन(गाइडलाइन) भए पनि हालसम्म नेपालमा छुट्टै गाइडलाइन छैन । सम्मेलनको अन्त्यमा एलर्जीको नेपाल गाइडलाइन तयारीका लागि समिति गठन गरिने पनि आयोजकले जानकारी दिए ।
सम्मेलन अवधिमै इम्युनोथेरापी, स्किन प्रिक टेष्ट, स्किन प्याच टेष्ट, प्रोभोकशन टेष्ट र फूड एलर्जी टेष्टबारेमा विज्ञबाट प्रयोगात्मक कार्यशालासमेत हुनेछन् । दुई दिनसम्म चल्ने प्रथम एलर्जी सम्मेलनमा केयु र त्रिविअन्तर्गतका नेपालभरिका मेडिकल कलेजहरुका साथै अन्य अस्पतालहरुका छाला, बाल, नाक–कान–घाँटी र छाती रोग विशेषज्ञ गरी दुई सय चिकित्सक सहभागी छन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App