८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसका प्रभावशाली प्रत्यक्षतर्फ

काठमाडौं – नेपाली कांग्रेसले दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पार्टीका अधिकांश केन्द्रीय सदस्यलाई उम्मेदवार बनाएको छ। 

पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, बालकृष्ण खाँण, मीन विक, मानबहादुर विकसहित  दर्जन नेतालाई समानुपातिकमा समेटेको कांग्रेसले यसअघि समानुपातिकबाटै सांसद् बनेका केन्द्रीय नेतालाई पनि मैदान उतारेको छ। 

एमाले, माओवादी केन्द्रसहितका दल चुनावी तालमेल गर्दै निर्वाचनमा सहभागी भएपछि कांग्रेसले पार्टीका प्रभावशाली नेताहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो । आधा दर्जन नेत्रीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको कांग्रेसले २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित अधिकांश नेतालाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि टिकट दिएको छ।  

एमाले, माओवादी केन्द्रसहितका दल चुनावी तालमेल गर्दै निर्वाचनमा सहभागी भएपछि कांग्रेसले पार्टीका प्रभावशाली नेताहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।

कांग्रेसले नेता प्रदीप गिरीलाई सिरहा–१, ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी–४, प्रकाशशरण महतलाई काठमाडौं–५ बाट उम्मेदवार बनाएको छ । त्यस्तै, मीनेन्द्र रिजाल मोरङ–२, आनन्दप्रसाद ढुंगाना धनुषा–१, महेन्द्र यादव धनुषा–४, महालक्ष्मी उपाध्याय मकवानपुर–२, अम्बिका बस्नेत काठमाडौं –३, ईश्वरी न्यौपाने कैलाली–१, सीता गुरुङ तेह्रथुम, आरजु राणा देउवालाई कैलाली–५ बाट उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनीहरू यसअघि समानुपातिक सांसद् थिए। 

२०४६ को राजनीतिक परिर्वतनपछिका पहिलो सभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्ततपुर–२ बाट उम्मेदवार बनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदै पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशक बनिसकेका गोविन्द पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि भारतको राजदूत बनेका दीपकुमार उपाध्याय कपिलबस्तु–१ बाट उम्मेदवार बनेका छन् । तीन दिनअघि मात्र एमालेबाट कांग्रेस छिरेका मोहनसिंह राठौर कैलाली–२ बाट उम्मेदवार छन्।

त्यस्तै, प्रदीप पौडेल, जीवन परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरेसहितका केन्द्रीय सदस्य प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । तर, पार्टी केन्द्रीय सदस्य बद्री पाण्डे, धनराज गुरुङसहितका नेताले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य कुनैमा पनि टिकट पाएनन् । बाजुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी पाण्डे पार्टीभित्रको गुटगत सन्तुलन मिलाउँदा बाहिर परेका हुन भने गुरुङले प्रदेशसभा सदस्य उम्मेदवार बन्न नमानेका हुन्। 
दोस्रो संविधानसभा निर्वाचनमा महिलाको कोटा पु¥याउन भन्दै अन्तिम समयमा उम्मेदवार हुनबाट वञ्चित केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपटक पनि टिकट पाएनन् भने अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि रिङ आउट भए । अन्य नेताको व्यवस्थापन गर्न पार्टीलाई सहज होस् भन्दै घिमिरेले मोरङ–४ बाट प्रदेशसभा टिकट दाबी गरेका थिए । तर, उनलाई राष्ट्रियसभा उम्मेदवार बनाउने आश्वासनसहित मैदान बाहिर राखिएको हो । केन्द्रीय सदस्य सरिता प्रसाई, कल्याण गुरुङले पनि टिकट पाएनन्। 

काठमाडौंसहित केही जिल्ला सभापति पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार हुनबाट वञ्चित भए । बाँकेसहितका केही जिल्ला सभापति समानुपातिक सूचीमा समेटिएका छन् । बिहीबार मनोनयन दर्ता भएका ४५ जिल्लामध्ये एक तिहाइले प्रतिनिधिसभा र त्यति नै जिल्ला सभापति प्रदेशसभा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । 
पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला तथा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्कासहितका प्रभावशाली नेताले यसपटक पनि विगतकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवाले वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अन्य नेताहरूले भने आफैं सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गराए । पौडेलले तनहुँ– १, कोइरालाले नवलपुर–१, सिंहले काठमाडौं–१, निधिले धनुषा–३, गच्छदारले सुनसरी–३, सिटौलाले झापा–३, खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका छन्।  

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग अन्तिम समयमा आएर चुनावी तालमेल नभएपछि प्रतिनिधिसभा सदस्यतर्फ आठ निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग कांग्रेसले चुनावी तालमेल गरेको छ । धनकुटा, काठमाडौं–७, मकवानपुर –१, चितवन–३ रुपन्देही–३ बाँके–२, दैलेख–१ मा कांग्रेसले उनीहरूसँग तालमेल गरेको छ । कात्तिक ५ गते उम्मेदवारी मनोनयन गरिएका ३२ जिल्लामध्ये कांग्रेसले सिन्धुपाल्चोक–२ मा पशुपतिशमशेर राणा (राप्रपा प्रजातान्त्रिक), गोरखा–२ मा नयाँ शक्तिका बाबुराभ भट्टराईलाई समर्थन गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही प्रदेशसभामा तालमेल गरेको छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App