coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोटेनह्याम अन्तिम १६ मा

च्याम्पियन्स लिगअन्तर्गत बुधबार टाेटेनह्यामका डिले अलि (दायँ)रियालविरूद्ध पहिलाे गाेल गरेपछि । तस्बिर: एजेन्सी

पेरिस– घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै साबिक विजेता रियाल मड्रिडलाई ३–१ ले हराएको टोटेनह्यामले बुधबार म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

डिले अलीको गोलबाट अग्रता लिएको टोटेनह्यामले उनकै गोलबाट अग्रता दोब्बर पार्‍यो । रियालका लागि क्रिस्टियानो रोनाल्डोले सान्त्वना गोल गर्नुअघि घरेलु टोलीका लागि क्रिस्टियन इरिक्सनले तेस्रो गोल थपेका थिए । जितसँग समूह ‘एच’ मा रहेको माउरिसियो पोचेट्टिनोको टोलीले दुई खेलअघि नै नकआउट चरणमा स्थान पक्का गर्‍यो। साबिक विजेता रियालले अर्को खेल कुर्नुपर्ने भएको छ।

‘हामी उनीहरूसामु चुनौती मात्र पेस गर्न चाहँदैनथ्यौं । जित्न चाहन्थ्यौं । दुई गोलको योगदान गर्न सकेकोमा खुसी छु । तर, त्योभन्दा जित महत्त्वपूर्ण हो,’ टोटेनह्यामका अलीले भने।

अफिसियलको गल्तीमा टोटेनह्यामले २७औं मिनेटमा अग्रता लियो । किइरन ट्रिप्परले अलीका लागि बल क्रस गर्नुअघि अफसाइड झन्डा उठेको थियो । तर त्यही क्रसमा अलीले गरेको गोलबाट घरेलु टोलीले अग्रता लियो । अलीले ५६औं मिनेटमा हानेको प्रहार सर्जियो रामोसलाई लागेर पोस्टभित्र छिर्दा रियालका गोलकिपर किको कासिल्लाले बल ठम्याउन सकेनन् । इरिक्सनले ६५औं मिनेटमा काउन्टर एट्याकमा अर्को गोल थपे । रियालका लागि रोनाल्डोले खेल सकिन दश मिनेट बाँकी छँदा गोल गरेका थिए । जारी सिजन प्रतियोगितामा रोनाल्डोले गरेको यो छैटौं गोल हो।

पछिल्लो पाँच सिजन रियालले च्याम्पयन्स लिगको समूह चरणमा पराजय भोगेको यो पहिलो हो । गत साता ला लिगामा जिरोनासँग अप्रत्याशित हार बेहोरेको रियाल युरोपियन प्रतियोगितामा पनि पराजित भएपछि प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ। 

यद्यपि अर्को साता एपोइललाई पराजित गरे १२ पटकको विजेता रियालले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । एपोइलले बोरुसिया डर्टमन्डसँग १–१ को बराबरी खेल्यो । राफायल गुइरेइरोको गोलबाट डर्टमन्डले २९औं मिनेटमा अग्रता लिएको थियो । ५१औं मिनेटमा माइकल पोटलले बराबरी गोल फर्काए।

उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा म्यानचेस्टर सिटीले नेपोलीलाई ४–२ ले हराउँदै समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान पक्का ग¥यो । इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीले २१औं मिनेटमा लोरेन्जो इनसिग्नेको गोलबाट अग्रता लिएको थियो । त्यसको १३ मिनेट बित्न नपाउँदै सिटीका रक्षक निकोलस ओटामेन्डीले बराबरी गोल फर्काए । अर्का रक्षक जोन स्टोन्सको गोलमा सिटीले ४८औं मिनेटमा अग्रता दोब्बर बनायो । घरेलु टोलीका जर्जिन्होले ६२औ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । सर्जियो अग्विरोको गोलबाट ६९औं मिनेट ३–२ को अग्रता बनाएको सिटीका लागि रहिम स्टर्लिङले ९०औं मिनेटमा अर्को गोल थपे । यस गोलसँगै अग्विरो सिटीबाट सबैभन्दा धेरै १ सय ७८ गोल गर्ने खेलाडी बनेका छन् । उनले १९३० मा इरिक ब्रोकले बनाएको १ सय ७७ गोलको कीर्तिमान तोडेका हुन्। 

‘यो सफलताले उनलाई महान् खेलाडीको पंक्तिमा उभ्याएको छ । उनी इतिहासमा लेखिनेछन् । त्यसले मैले उनलाई यस क्षणको मज्जा लिन भनेको छु,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिवओलाले भने। 

फेयनुर्डलाई ३–१ ले पराजित गरेपछि शाख्तर डोनेट्क्सलाई अन्तिम १६ मा पुग्न अर्को साता नाउलेससँग बराबरी खेले मात्र पुग्छ । लिभरपुलले एनफिल्डमा मारिबोरलाई ३–० ले हराउँदै समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ । समूहमा चार खेल सकिँदा लिभरपुलले ८ अंक बटुलेको छ । दोस्रो स्थानको सेभियाले ७ अंक जोडेको छ । स्पार्टक मस्कोले ५ अंक बनाउँदा मारिबोरले १ अंक मात्र जोडेको छ । सेभियाले मस्कोलाई २–१ ले हरायो । समूह ‘जी’ मा एफसी पोर्टोले आरबी लिपजिगलाई ३–१ ले हराउँदा मोनाको  र बेसिक्टासले १–१ को बराबरी खेले।

‘हामी उनीहरूसामु चुनौती मात्र पेस गर्न चाहँदैनथ्यौं । जित्न चाहन्थ्यौं । दुई गोलको योगदान गर्न सकेकोमा खुसी छु । तर, त्योभन्दा जित महत्त्ववपूर्ण हो।’

प्रकाशित: १७ कार्तिक २०७४ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App