coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकहरूले बढाए  नाफा

काठमाडौं – चालु अर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो। 

२८ वाणिज्य बैंकमध्ये ११ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नबिल बैंकले ८५ करोड १४ लाख नाफा गरेको छ । नबिलले गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा पाँच करोड ३१ लाख बढी नाफा गरेको छ । यसले गत आर्थिक वर्षमा ७९ करोड ८३ लाख नाफा नाफा गरेकोमा यो वर्ष ८५ करोड १४ लाख पु¥याएको छ। 

दोस्रो धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक परेको छ । यसले गत वर्षभन्दा यस वर्ष २० करोड ७० लाख बढी नाफा गरेको छ । यसले गत आर्थिक वर्ष ५० करोड ८ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षमा ७० करोड ९५ लाख पुर्‍याएको छ। 

अपरिष्कृत वित्तीय विवरण अनुसार, एभरेस्ट बैंक तेस्रो धेरै नाफा कमाउने बनेको छ । एभरेस्टले एक करोड ८० लाखभन्दा बढीले नाफा बढाएको छ । यसले पोहोर वर्ष ५१ करोड ३४ लाख नाफा गरेकोमा चालु आवमा ५३ करोड १४ लाख पुर्‍याएको छ।

एनएमबी बैंक चोथौ बढी नाफा गर्ने बैंक बनेको छ । यसले गत वर्षको तुलनामा नौ करोड ८२ लाख बढी नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा यसले ३५ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । यस वर्ष बैंकको नाफा ४५ करोड १३ लाख पुगेको छ।

हिमालयन बैंकले ४१ करोड एक लाख नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा उसले ४३ करोड ८४ लाख नाफा गरेको थियो । गत वर्षभन्दा हिमालय बैंकको नाफा घटेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा दुई करोड ८३ लाख रुपैयाँले घटेको छ।

सानिमा बैंकको नाफा सात करोड २८ लाखले बढेको छ । यसले चालु आवको पहिलो त्रैमासमा ३४ करोड ४४ लाख गरेको छ । गत वर्ष सानिमा बैंकले २७ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो।

यसैगरी, प्राइम कमर्सियल बैंकले गत वर्षभन्दा नौ करोड सात लाखले नाफा बढाएकोे छ । उक्त बैंकले चालु आवको पहिलो तीन महिनामा ३४ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष उक्त बैंकले २५ करोड १० लाख नाफा गरेको थियो।

सिटिजन्स बैंकको पनि नाफा घटेको छ । सिटिजन्सले गत वर्षभन्दा दुई करोड ६१ लाख रुपैयाँले नाफा घटाएको हो । गत वर्ष ३४ करोड ५१ लाख नाफा गरेको बैंकले यस वर्ष ३१ करोड ९० लाख नाफा गरेको छ।

एनआइसी एसिया बैंकको नाफा एक करोड ७६ लाख बढेको छ । गत वर्ष २६ करोड १० लाख नाफा गरेको उक्त बैंकले यस वर्ष २७ करोड ८६ लाख गरेको छ।

मेगा बैंकले पनि नाफा घटाएको छ । उक्त बैंकको नाफा ६ करोड ५८ लाख घटेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ । गत वर्ष १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकले यस वर्ष आठ करोड ११ करोड मात्र नाफा गरेको छ।

जनता बैंकको नाफा नौ लाख मात्र बढेको छ । गत वर्ष ६ करोड ३९ लाख नाफा गरेको जनताले यस वर्ष ६ करोड ४८ लाख नाफा गरेको छ।

तरलताको अभाव, स्थानीय तहको निर्वाचन लगायत कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा अपेक्षाकृत रुपमा बढ्न नसकेको बैंकर बताउँछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले राम्रै नाफा कमाएका छन् । उनीहरुको नाफामा खास संकुचन देखिएको छैन। 

बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको एक बैंकरले बताए । बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नुलाई उनले स्वाभाविक प्रक्रिया भएको उनले प्रस्ट पारे । चालु आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा वृद्धि भएको बैंकरहरुको भनाइ छ।

१७ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन् । औसतमा हेर्दा चालु आवको पहिलो तीन महिनामा गत वर्षको भन्दा धेरै बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ । निक्षेपको तुलनामा कर्जाको विस्तार पनि बढी देखिन्छ । कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन्।

प्रकाशित: १७ कार्तिक २०७४ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App