७ वैशाख २०८१ शुक्रबार
अन्य

पुस्तकभित्रका मह

नेपाली भाषामा महको अर्थ असाध्यै स्वादिलो अमृततुल्य खाद्य पदार्थ हुन्छ । नेपाली कला क्षेत्रका मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमा पनि नेपाली समाजलाई जोड्ने त्यस्तै अनुपम शक्ति छ । खाने मह होस् वा हेर्ने वा व्यवहार गर्ने मह हुन्, दुवै थरी नेपाली समाजमा उत्तिकै गुनिला छन्। 

वरिष्ठ कलाकार महले नियमित कलाकारिता मात्र होइन, समाज सेवा समेत गरेर समाजमा उल्लेख्य योगदान गर्दै आएका छन् । पछिल्ला केही वर्षयता उनीहरूको लेखकीय व्यक्तित्व पनि सार्वजनिक रूपमा प्रकट भएको छ । त्यसो त, यी दुवै कलाकार लेखनका हिसाबले पनि उत्तिकै प्रतिभाशाली छन् । आफ्ना अधिकांश प्रस्तुति उनीहरू आफैँ मिलेर लेख्छन् । यस अर्थमा पनि मह लेखन, अभिनय र सेवाका त्रिवेणी हुन्। 

पुस्तक लेखनको पछिल्लो शृंखलामा जोडिन आइपुगेका छन्, महमध्येका वरिष्ठतम सदस्य अर्थात् मदनकृष्ण श्रेष्ठ । उनको कृति ‘महको म’ले यी दुईबीचको सम्बन्धको चर्चा मात्र गरेको छैन, यथार्थमा यो नेपाली कला, साहित्य, समाज र सम्बन्धको जिउँदोजाग्दो दस्ताबेज पनि हो। 

यसअघि आचार्यको ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ नामक दुई कृतिमार्फत आइसकेका धेरै विषयलाई ‘महको म’ले पुनर्पुष्टि गरेको छ । ‘महको म’मा रहेको विशेषता आफ्ना आग्रहको वशमा धेरै नहुनु पनि हो । प्रायः यस्ता जीवनी लेखकले सबै घटना आफ्नो वरिपरि घुमेको देखाउने जबर्जस्ती कोसिस गर्दा अपेक्षित कृत्रिमता बढी आउँछ । 
मदनकृष्ण र हरिवंश दुवै हाम्रो आफ्नो समयका कलाकार हुन् । सार्वजनिक व्यक्तित्व र तिनका व्यवहारले पनि धेरै विषय समकालीन समाजबाट टाढा छैनन् । तैपनि तिनका कृतिले सामयिक इतिहास, राजनीति र समाजबारे बेलिबिस्तार लगाइरहेका हुन्छन् । 
‘महको म’मा समेटिएका सामग्रीले बृहत् क्षेत्रलाई समेटेका छन् । मदनकृष्णको बाल्यकाल, उनको हुर्कौलो उमेर, उमेरसँगै उनका संघर्ष र व्यवहार, हरिवंशसँगको सम्बन्ध आदि विषयले पुस्तकलाई रोचक बनाएको छ । पुस्तकको सुरुमै हरिवंशले मदनकृष्णलाई ‘म सियो तपाईं धागो’ भनेर विनयीभाव प्रकट गरेका छन्। 

नेपाली समाजमा प्रायः साझेदारी टिक्दैनन् भनिन्छ । तर, यी दुईले यो मान्यतालाई गलत साबित गरेका छन् । केही महिनाअघि पोखरामा आयोजित साहित्य महोत्सवका बेला समेत यी दुईले यो पंक्तिकारसँगको अन्तक्र्रियाका क्रममा ‘सफल साझेदारीका सूत्र’मार्फत एकअर्काको हार्दिकतापूर्ण सम्बन्धलाई प्रस्तुत गरेका थिए। 

सम्बन्ध त्यतिबेला मात्र दिगो हुन्छ, जतिबेला एउटा आगो हुन्छ र अर्को पानी । मदनकृष्ण र हरिवंशले एकअर्कालाई त्यही संवेदनशीलताको कसीमा राखेका छन् । आखिर आफूलाई महान् र अर्कोलाई चुत्थो ठानेको भए सायदै यी दुईबीचको सम्बन्ध टिकाउ हुने थियो । त्यही भएर हरिवंशले आफूलाई सियोजस्तो घोँच्ने र मदनकृष्णलाई धागोजस्तो नरम र नबिझाउने व्यक्तिका रूपमा प्रस्तत गरेका हुन् भूमिकामार्फत। 

मदनकृष्णले आफ्नो कथाको थालनी आमाको प्रसंगबाट सुरु गरेका छन् । यो आफैँमा रोचक प्रसंग छ । आमा, आफू जन्मेको ठाउँ, पढाइलेखाइ, हुर्काइ, पारिवारिक वातावरण आदिको वर्णन लोभलाग्दो छ । उनको व्यक्तिको यो नरम पाटो सायद उनले बाल्यकालमा पाएको मायाका कारण पनि हुन सक्छ। 

पञ्चायतका बेला कलाकारिता गर्न सजिलो थिएन । त्यो बेला उनीहरूले आफूलाई जोगाएर कलाकारितालाई निरन्तरता दिएका प्रसंग लोकतान्त्रिक समयमा सम्झना गर्दा पनि अनौठो लाग्छ । कलाकारिता मात्र होइन, अन्तर्जातीय विवाह गर्दा त्यतिबेला भोग्नुपरेको पिरलो सम्झना लायक छ । अहिले आएर अन्तर्जातीय विवाह सजिलो भए पनि त्यो बेला समाज प्रतिकूल थियो । परिवारकै सदस्यलाई समेत त्यति सजिलो थिएन। 

महजोडीले पछिल्लोपटक एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला माओवादीले गरेको काठमाडौं कब्जाको अभ्यासमा खेलेको भूमिका पनि यसमा परेको छ । मुलुकका सबैजसो आन्दोलनमा उनीहरू सरिक भएका छन् । त्यसमा ०४६ को आन्दोलनका क्रममा चैत ३ गते मुखमा कालोपट्टी बाँध्ने साहित्यकारको कार्यक्रममा उनीहरूले निर्वाह गरेको भूमिका उल्लेख्य थियो। 

०६२÷६३ को आन्दोलनका बेला उपचार कोष सञ्चालन गरेर प्रशंसनीय भूमिका खेलेका थिए । केही समयपछि यी प्रसंग बिस्तारै विस्मृतिको गर्भमा जान्छन् । पुस्तकमा यी विषयलाई समेटिदिँदा आन्दोलनको इतिहास समेत जीवन्त बन्न पुगेको छ । राजनीतिक पद्धतिको प्रभाव व्यक्तिका जीवनमा पनि पर्छ भन्ने बुझेका महले जहिल्यै परिवर्तनको पक्षमा आफूलाई उभ्याएको खुलासा पुस्तकले गरेको छ। 

लोकतन्त्र प्राप्तिपछिको अहिलेको समाजमा माथिल्ला पद किनबेच हुन थालेको छ । किनेर माथिल्लो ओहोदामा पुगेका व्यक्तिमा नैतिकताको अभाव देखिनु स्वाभाविक हो । कलाकारितामा पूर्णकालीन हुनुअघि आफू कार्यरत सञ्चयकोषका तत्कालीन हाकिम परीक्षितनरसिंह राणाको प्रसंग पढ्दा भन्न मन लाग्छ– कठै कहाँ पाउनु त्यस्ता नैतिक मानिस आजको समयमा । यस्ता प्रसंगले अहिलेको समयका थोरै हाकिममा पनि विवेक जाग्यो भने यो प्रसंग उल्लेख भएर राम्रो काम भएको मान्नुपर्ने हुन्छ। 

नेपालभाषी समेत रहेका कारण मदनकृष्णले यस क्षेत्रका अनेकन् प्रसंगको चर्चा गरेका छन् । त्यसमा पनि नेपाल भाषाका विरुद्धमा तत्कालीन सत्ताले गरेको व्यवहार, त्यसले यहाँको नेपालभाषी समुदायमा संगठित भएका विषय आफैँमा रोचक छन् । अहिले सबै भाषा, जाति र क्षेत्रको पहिचानको विषय उठिरहेका बेला त्यतिबेलाको घटनाबाट पाठ सिक्न अवश्य मद्दत पुग्ने देखिन्छ। 

बेलाबेलामा पुस्तकमा आएका प्रसंगले हाँस्न बाध्य तुल्याउँछ । अल इन्डिया रेडियोमा गीत रेकर्ड गरेपछि त्यसको हिन्दीमा अनुवाद गरिएका शब्दकै कारण त्यसको लोकप्रियता बढेको कुराले कम्ती रमाइलो तुल्याउँदैन । उनले प्रयोग गरेको नेपाल भाषाको शब्दले गीतको व्याख्यालाई अर्कै लोकप्रियतामा पु¥याइदिएछ । वास्तवमा व्यक्तिको जीवनमा यस्ता अनेकन् रमाइला प्रसंग हुन्छन्, तिनलाई सूत्रबद्ध गर्दा त्यसले दिने सन्देश अझ रोचक हुन पुग्छ । 
मह नेपालमा आर्थिक रूपमा पनि सफल कलाकार हुन् । यथार्थमा उनीहरूले नै नेपाली कलाकारिताबाट जीवन धान्ने मात्र होइन, राम्रो आर्थिक अवस्था बनाउन सकिन्छ भन्ने पुष्टि समेत गरेका छन् । उनीहरूले गाईजात्रा कार्यक्रमको एल्बम निकालेर यसको थालनी गरेका हुन् । कार्यक्रम सञ्चालन गर्दा राम्रो रकम लिने चलन पनि उनीहरूले सुरु गरे । उनीहरूबाट स्वरसम्राट नारायणगोपाल समेत प्रभावित भएको प्रसंग यसमा छ। 

कलाकारका रूपमा मात्र जीवन धान्न गाह्रो हुने बुझेर व्यवसाय समेत सञ्चालन गरेका छन् मदनकृष्णले । तर, उनी व्यवसायमा सफल हुन नसकेको देखिएको छ । आफ्ना असफलतालाई पनि उनले राम्ररी उधिन्न भ्याएका छन् । इतिहासको पानामा कतिपय व्यक्तिलाई ‘खलपात्र’का रूपमा चित्रण गरेको पाइन्छ । पञ्चायतका बेला र पछिसम्म पनि शरदचन्द्र शाहका बारेमा खराब प्रसंग उल्लेख गरेको पाइन्छ । मदनकृष्णले भने शरदचन्द्रसँगको व्यावसायिक सम्बन्ध र उनको सहयोगी भावनालाई समेत उजागर गरेर न्याय गरेका छन् । कुनै पद्धतिभित्र काम गर्दा खराब देखिएका व्यक्ति यथार्थमै त्यस्ता नहुन पनि सक्छन् भन्ने उदाहरण यो प्रसंग हो। 

असल मानिसलाई सबैले सघाउँछन् । मदनकृष्णकी पत्नी यशोदा बिरामी, आफैँ बिरामी हुँदा पनि उनले धैर्य त्यागेका छैनन् । उनको असजिलोमा मलम लगाउन सर्वसाधारण अपरिचित फ्यानले गर्न सक्ने अनौठा सहयोग समेत यसमा समावेश गरिएको छ । मदनकृष्णले यसमा आफ्नो कथा मात्र भनेका छैनन्, ठाउँठाउँमा सहयात्री हरिवंशका बारेमा पनि उत्तिकै चर्चा गरेका छन् । हरिवंशले नेपालभाषामा संवाद बोलेर नाटक गरेको प्रसंगले उनको प्रखर क्षमतालाई समेत उजागर गरेको छ। 

समग्रमा यो पुस्तक रोचक प्रसंगले भरिएको छ । आफ्ना प्रिय कलाकारका बारेमा जानकारी राख्न पाइने यस्तो सामग्रीप्रति जोसुकैको रुचि हुन सक्छ । मलाई त किताब सुरु गरेपछि नसकुञ्जेल राख्नै मन लागेन । 
 

प्रकाशित: १८ कार्तिक २०७४ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App