८ वैशाख २०८१ शनिबार
अन्य

सामाजिक सद्भावको धरोहर बडिकेदार

नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमाल । सामुन्नेमै मिलेजस्तो लाग्ने कर्णाली र सेती नदीको दोभान । नाङ्गो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भूभाग । चिसो बतास चल्ने अग्लो डाँडो (गाई बाच्छे) । राइसल्ला र खर्सुका ठूल–ठूला जंगल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर देवथान । यो सुन्दरता र धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’ । समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको बडिकेदार दक्षिण डोटीको बडिकेदार गाउँपालिका (साविकको मान्नाकापडी, लानाकेदारेश्वर, धिर्कामाण्डौ र सातफरी गाविसको बीचमा) पर्छ ।

 

बडिकेदारमा थारू र भारतीय नागरिकको आस्थाले पछिल्लो समयमा तराईमा बिग्रदो सामाजिक तिक्ततालाई सामाजिक सद्भावमा रुपान्तरण गरेको छ ।  


अग्लो डाँडोबाट यस्ता दृश्य अवलोकन गर्दा कसको पो मन फुरुङ्ग नहोला र ! सररर् बग्ने हावासँगै सल्लाका कुसुम चलमलाउँदा त्यहाँ पुग्नेको मन झनै प्रशन्न हुने गर्छ । यहाँ पुग्ने जो कोही बडिकेदारको सौन्दर्यमा लिप्त हुने गर्छन् । सधैँ उही र उस्तै प्रकृतिको वातावरण रहने बडिकेदारमा भने हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा तीर्थालुको भिड हुने गर्छ । ‘महाशिवरात्रिभन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा (यसपालि कात्तिक १४ गतेदेखि १६ गतेसम्म) भव्य मेला लाग्छ,’ बडिकेदार संरक्षण समिति सचिव टोपबहादुर चन्द भन्छन्, ‘डोटीसँगै कैलाली, कञ्चनपुर र भारतको उत्तरप्रदेशका तीर्थयात्रुको धार्मिक आस्थाको केन्द्र हो बडिकेदार ।’ मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहर (लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाही) बाट बर्सेनि कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गरेको समिति बताउँछ । खोँचमा रहेको बडिकेदार शिलाको दर्शन गर्न पाउनु नै तीर्थालुको मुख्य ध्येय रहने गरेको बताउँदै चन्द भन्छन्, ‘मनोकामना पूरा हुने विश्वासका साथ टाढाटाढाबाट तीर्थालु आउने गरेको तथ्याङ्क हामीसँग छ ।’  जात्रामा रातभर डेउडा खेल्ने र धामी, झाँक्रीले वर्षभरीको भविष्यवाणीसमेत गर्छन् । यो समयमा धामीले आफ्नो दैवीय शक्ति समेत देखाउने गर्छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् । विस्तारै बडिकेदारको दैवीय शक्तिको प्रचारप्रसार हुँदा पछिल्लो तीस वर्ष यता कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।
सन्तानप्राप्त नभएका तमामौँ दम्पतीसमेत पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्छन् । ‘सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन्,’ बडिकेदार व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर बोगटीले भने, ‘डोटीकै प्रसिद्ध एवम् दैवीय शक्तिपीठका रुपमा बडिकेदारलाई लिने गरिन्छ ।’ मन्दिर नभएर ढुङ्गाको शिलामा पूजाआजा गरिने गरिएको बताउँदै बोगटी भन्छन्, ‘बडिकेदार मन्दिर नभएर शिला हो ।’ शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति ठूलो भिरको बीचमा रहेको उनी बताउँछन् ।
कात्तिक त्रयोदशीको राति मेला लागेर बैकुण्ठ चतुर्दशीको बिहान पूजाआजासहित जात्रा सकिने गरेको बताउँदै उनले भने, ‘बडिकेदारमा देश विदेशबाट तीर्थालु आउन थालेकाले यसलाई धार्मिक पर्यटनका रुपमा विकास गर्दै लैजान सके महत्व बढ्ने थियो ।’ धार्मिक आस्था मात्रै नभई वरपरको वातावरण, दृश्यावलोकन गर्न सकिने सुन्दर र रमणिय स्थलले बडिकेदारको गरिमा बढाएको बताउँदै मान्नाकाडी, बरालगाउँका यज्ञराज जोशी भन्छन्, ‘पर्यटन मन्त्रालयले यसलाई धार्मिक पर्यटनका साथै पर्यटकीय गन्तव्यका रुपमा समेट्न सके बडिकेदारमा संकलित भेटीबाटै बोगटान क्षेत्रको विकास हुन सक्छ ।’ डाँडोबाट कैलालीको महाभारत क्षेत्र रहेको चोसेकाँडा, सदरमुकाम सिलगढी, तेलेको लेक, सेती र कर्णालीको दोभान, अपी र शैपाल हिमाल तथा कैलाली, कञ्चनपुरका अन्य समथर भू–भागका साथै भारतको उत्तरप्रदेशका केही सहर सजिलै देख्न सकिने उनी बताउँछन् ।
बडिकेदार जात्राका लागि भारतको उत्तरप्रदेशबाट हजारौँ भक्तजन आउने गरेको बडिकेदार संरक्षण समिति बताउँछ । बोगटान क्षेत्रका देउताका राजाका रुपमा मानिने बडिकेदारमा आ–आफ्ना कूल देउताको पूजापछि स्थानीय यहाँ पुग्ने गर्छन् । ‘कूल देउताको पूजा सकिएपछि बडिकेदार नगए खल्लो महसुस हुने गरेकाले प्रायः तीर्थालु यहाँ पुग्ने गर्छन्,’ बर्छैनका लालबहादुर कलेल भन्छन्, ‘बडिकेदार जात्रा मात्रै नभई यहाँको प्राकृतिक सौदर्यताले पनि यात्रुलाई लोभ्याउने गर्छ ।’  
बडिकेदार बोगटान क्षेत्रको मात्रै नभई तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र मानिएको डोटी क्षेत्र नम्बर २ का सांसद प्रेम आलेमगरले बताए । उनले भने, ‘बडिकेदार विशुद्ध धार्मिक पर्यटकीय स्थल हो, यहाँ कात्तिक बैकुण्ठ त्रयोदशीमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।’ उनले मित्र राष्ट्र भारत–तराई र पहाडी समुदायलाई जोड्ने ठूलो धार्मिक स्थल बडिकेदार भएकाले यसलाई धार्मिक सद्भावको धरोहरका रुपमा लिइएको बताए ।
तराईको थारु समुदाय र भारतीय धार्मिक पर्यटकलाई अझै भिœयाउन सके बोगटान क्षेत्रको मात्र नभई डोटीकै अर्थतन्त्र बलियो हुने डोटी उद्योग वाणिज्य संघ अध्यक्ष नरेन्द्र खड्का बताउँछन् । उनले भने, ‘बडिकेदारले धार्मिक पर्यटन मात्रै भित्रयाउने काम नगरी तराई र पहाडी समुदायबीचको सद्भावलाई जोड्ने सेतुका रुपमा काम गरेको छ ।’ पछिल्लो समयमा तराईमा पहाडी र थारु समुदायबीचको आपसी बैमनस्यतालाई तोड्दै बडिकेदारले सामाजिक सद्भाव जगाएको उनी बताउँछन् । बोगटान क्षेत्रमा बडिकेदार शक्तिशाली शक्तिपीठका रुपमा पूजिने गरेको उनले बताए ।
अति अग्लो लेकमा अवस्थित बडिकेदारलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा जोड्न सके यसबाट पर्यटनका साथै यस क्षेत्रको विकासमा टेवा पुग्ने चन्द बताउँछन् । उनी भन्छन्, ‘बडिकेदार कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतीय नागरिकको धार्मिक आस्थाको केन्द्र बन्न थालेकाले यसले जातीय सद्भावको काम पनि गरेको छ ।’ पहाडमा थारू समुदायका तीर्थालु आउँदा तराईमा बिग्रदो सामुदायिक तिक्ततालाई बडिकेदारले धर्मलाई सद्भावका रुपमा रुपान्तरण गरेको उनले बताए ।

कसरी पुग्ने बडिकेदार ?
धनगढी–अत्तरिया–सहजपुर–बीपीनगरहुँदै डोटीको अत्तरकाँडासम्म १०४ किलोमिटर बसको यात्रा गर्नुपर्छ । धनगढी बसपार्क र अत्तरियादेखि दैनिक चार वटा बस जान्छन् । मेलाका बेला भने रिजर्व र क्युफ्री गाडी अत्याधिक मात्रामा पाइन्छन् । अत्तरकाँडाबाट तीन घण्टाको पैदल यात्रापछि बडिकेदार पुग्न सकिन्छ ।

मौसम
उच्च लेकाली क्षेत्र भएकाले यहाँ जाडो अत्यधिक हुन्छ । त्यसैले बाक्ला र ऊनीका कपडा बोकेर जानु उपयुक्त हुन्छ । मेलामा अस्थायी पसल तथा होटेलहरु थुप्रै हुन्छन् । खानाका लागि समस्या पर्दैन ।

प्रकाशित: १९ कार्तिक २०७४ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App