coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प ११ दिने लामाे एसिया भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्प हवाईस्थित पर्ल हार्वर संयुक्त बेसमा । तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ११ दिने लामो एसिया भ्रमण सुरु गरेका छन्।

भ्रमणकाक्रममा ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको यात्रा गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपतिले एसियाको यति लामो भ्रमण गर्न लागेको २५ वर्षपछि पहिलो पटक भएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाले लगातार रुपमा गरिरहेको आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढिरहेका बेला हुने अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । एसियाली मुलुकका भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानसँग संयुक्त मोर्चा गठन गर्दै प्योङयाङविरुद्ध कडा कदम चाल्न चीनलाई दबाब दिने अपेक्षा गरिएको छ । आफ्नो ११ दिने लामो एसिया भ्रमणमा निस्कनु पूर्व ट्रम्प वासिङ्टनबाट सन् १९४१ मा जापानले आक्रमण गरेको हवाई प्रान्तस्थित पर्ल हार्वरमा रहेको युएसएस एरिजोना मेमोरियलको भ्रमण गरेका थिए । जापानले हवाई प्रान्तको पर्ल हार्वरमा आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा सहभागि होमिएको थियो । त्यहाँ उनी युएस प्यासिफिक कमान्डका लागि भएको व्रिफिङमा पनि सहभागि भएका थिए। 

राष्ट्रपति ट्रम्प हवाईबाट प्रथम महिला मेलानिया ट्रम्पसहित जापानतर्फ प्रस्थान गरेका थिए । उत्तर कोरियाले गरिरहेको आणविक कार्यक्रमलाई लिएर केही उत्तेजक जवाफ दिएका ट्रम्प दक्षिण र उत्तर कोरियाको बीचमा रहेको अति संवेदनशील डिमिलिटराइज्ड जोनमा भने सहभागि नहुने उनका सहयोगीले जानकारी दिएका छन् । तर उनले दक्षिण कोरियाको राजधानी सोलको दक्षिणतर्फ रहेको अमेरिकी सैन्य कम्प्लेक्समा रहेको हम्परेस शिविरमा भने भ्रमण गर्ने बताइएको छ । एसिया भ्रमणकै क्रममा उनी एसिया प्यासिफिकको अपरेशन सम्मेलनमा भाग लिन भियतनामको डनाङ पुग्ने छन् र त्यसपछि राजधानी हनोईमा राजकीय भ्रमणका लागि जानेछन्। एसिया भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिको अन्तिम सहभागिता फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्र आसियानको सम्मेलनमा हुनेछ । यस अघि एसियाको यति लामो भ्रमण सन् १९९१ को अन्तिमदेखि १९९२ को सुरुवातसम्म अमेरिकी राष्ट्रपति जर्ज एच डब्लु बुसले गरेका थिए । त्यस क्रममा जापानमा आयोजना भएको रात्रि भोजका बेला बुसले भोमिट गरेका थिए र बेहोससमेत भएका थिए। 

जापानबाट आफ्नो ११ दिने लामो एसिया भ्रमणमा निस्केका ट्रम्पले आइतबार जापानी प्रधानमन्त्री सिन्जो आबे र व्यवसायिक गल्फ खेलाडी हिडेकी माट्सुयामासँग कासुमागासेकी कन्ट्री क्लबमा गल्फ खेल्नेछन् । त्यसपछि ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच द्विपक्षीय वार्ता हुने भ्रमण तालिकामा उल्लेख गरिएको छ । नोभेम्बर ७ का दिन अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भेटवार्ता हुनेछ । दक्षिण कोरियामा रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहाँको राष्ट्रिय सभामा सम्बोधनसमेत गर्ने छन् । त्यसपछि ट्रम्प बुधबार चीन पुग्नेछन् ।  चीनमा उनले विभिन्न कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटघाट गर्नेछन् । शुक्रबार ट्रम्प भियतनामको डनाङ पुगरे त्यहाँ आयोजना हुने एसिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक)को सम्मेलनमा सहभागि हुनेछन् । नोभेम्बर ११, शनिबारका दिन ट्रम्प भियतनामको राजधानी हनोई पुग्ने भ्रमण तालिका सार्वजनिक गरिएको छ । हनोईमा उनले भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ र अन्य भियतनामी नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नोभेम्बर ११ मा ट्रम्प दक्षिण एसियाली राष्ट्रहरुको समूह आसियान स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आयोजना हुने गाला डिनरमा सहभागि हुन फिलिपिन्सको राजधानी मनिला पुग्नेछन् । नोभेम्बर १३ का दिन उनी मनिलामा नै हुने आसियान सम्मेलनमा भाग लिनेछन् र सोही दिन नै उनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग भेटघाट गर्ने तालिका सार्वजनिक गरिएको छ। 

 

प्रकाशित: १९ कार्तिक २०७४ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App