coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको छनोट सम्भावना समाप्त

काठमाडौं– अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ। 

किर्गिस्तानमा भैरहेको प्रतियोगितामा नेपाल शनिबार संयुक्त अरब इमरेटस (युएई)सँग १–० को नतिजामा पराजित भयो । पाँच टोली सम्मिलित छनोट प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० तथा बहराइनसँग ४–० को नतिजामा पराजित भइसकेको छ।

युएई १–० ले अगाडि रहेको बेला नेपालले ९०औं मिनेटमा पेनाल्टी पाएको थियो । तर अभिशेक रिजालको प्रहार युएईका गोलकिपर अब्दुल्लाह अलमुताबाले रोकेपछि नेपालको प्रतियोगितामा अंक तथा गोलको खाता खोल्ने मौका चुकेको थियो । विपक्षी गोलकिपर अलमुताबाले रिजन सुब्बालाई फाउल गरेपछि नेपाली टोलीले पेनाल्टीको अवसर पाएको थियो । अभिशेकको प्रहार विपक्षी गोलकिपरबाट फर्किँदा रिबाउन्डमा रेजिनले बल पाएका थिए । तर रेजिनको प्रयास पनि अलमुताबालाई छिचोल्न सफल भएन।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा शनिबार युएइले नेपाललाई हराउँदा अर्को खेलमा आयोजक किर्गिस्तानले बहराइनलाई २–१ ले हराएको छ। 

लगातार दुई खेलमा जित हासिल गरेपछि युएई ६ अंक सहित समुहको शीर्ष स्थानमा पुगेको छ । समान ६ अंक भए पनि  गोल अन्तरमा पछि परेको कारण किर्गिस्तान दोस्रो स्थानमा छ । समुहका अन्य टोली बहराइन र ओमानको समान ३ अंक छ भने नेपालले खाता खोल्न सकेको छैन।

शनिबारको नतिजापछि युएईको एएफसी च्याम्पिनसिपलाई छानिने सम्भावना बलियो बनेको छ । प्रतियोगिताको पहिलो खेलमा युएईले ओमानलाई ५–१ को नतिजामा हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो। 

शनिबार नेपालविरुद्ध जित हासिल गर्न भने युएईले कडा मिहिनेत गर्नु परेको थियो । किर्गिस्तानको डोलिन ओमुरजाकोभ रंगशालामा युएईले गोलका लागी ७१औं मिनेटसम्म कुुर्नु परेको थियो । खालफान हसन अल हामादीले गोल गर्दै युएइलाई अग्रता दिलाएका थिए। 

युएईले समुहको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग खेल्नेछ भने नेपालले बुधबार ओमानको सामना गर्नेछ । 
पहिलो दुई खेलमा हारको सामना गरिसकेको नेपाललाई प्रतियोगितामा छनोट हुने गणितीय सम्भावना जीवित राख्न शनिबार जित अपरिहार्य थियो । तर तेस्रो खेलमा पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि नेपाल एक खेल अगावै छनोट हुने दौडबाट बाहिरिएको हो। 

पाँच टोली सम्मिलित समुहमा राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गरेपछि शीर्ष टोली सोझै अर्को वर्ष इन्डोनेसियामा हुने प्रतियोगितालाई छानिन्छ । त्यसबाहेक आयोजक इन्डोनेसियासँगै छनोट चरणका १० समुहमा उपविजेता हुनेमध्ये उत्कृष्ट पाँच टोली पनि एएफसी च्याम्पियनसिपलाई छानिन्छन्। 

प्रकाशित: १९ कार्तिक २०७४ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App