१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

वृत्तचित्रमा लाङटाङ पुननिर्माण

काठमाडौं– दुई वर्ष अघिको विनाशकारी भूकम्पले देशभर ९ हजार मानिसको ज्यान जाँदा तिब्बतसँग सीमाना जोडिएको लाङटाङ उपत्यकामा एकै गाउँका १ सय ७८ मानिसको मृत्यु भयो । यो उपत्यका नजिकै रहेको एउटा पहाड खस्दा ८० जना ट्रेकिङ गाइड पनि त्यो घटनामा परे।

भूकम्पले लाङटाङ उपत्यकामा अप्रत्याशित विनाश गरेपछि निर्देशक केशाङ छेतेन लामाले त्यो क्षेत्रको भ्रमण गरी आफ्नै बलबुता र खर्चले गाउँलाई पुननिर्माण गरिरहेको समुदायको कथा समेट्दै वृत्तचित्र ‘ट्रेम्बिलङ माउन्टेन’ बनाए । झन्डै ८३ मिनेट लामो यो वृत्तचित्र ‘फिल्म साउथ एसिया २०१७’मा शनिबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा प्रदर्शन गरियो।

वृत्तचित्रमा अकल्पनीय रूपमा लाङटाङका बासिन्दा भूकम्पको चपेटामा परेपछि त्यो पीडालाई बिर्सिएर शारीरिक र आर्थिक रूपमा आफ्नो गाउँलाई कसरी पुननिर्माण गरे भन्ने विषय प्रस्तुत गरिएको छ।

फिल्म साउथ एसियाले आयोजना गरेको वृत्तचित्रको यो कुम्भ मेलामा शनिबार केसाङको वृत्तचित्रसहित १७ वटा वृत्तचित्र देखाइए । जसमा नेपालको तर्फबाट स्काइ निल र केट म्याकलार्नोनले बनाएको ‘इभन ह्वेन आइ फल’, गोपाल सिवाकोटीको ‘सेभ गंगामाया’, निखिल सिंह राजपुतको ‘हिमालयन रिफ्युजी’ देखाइए । वृत्तचित्र ‘इभन ह्वेन आइ फल’ले सरस्वती र शीतल नामका दुई युवतीको कथा देखाएको छ, जो सर्कसमा काम गर्छन् । त्यस्तै ‘सेभ गंगामाया’मा पति नन्दलालको मृत्युपछि पनि छोराको हत्याराको कारबाही माग गर्दै अनसनरत गंगामाया अधिकारीको संघर्षलाई देखाइएको छ । वृत्तचित्र ‘हिमालयन रिफ्युजी’मा चाहिँ काठमाडौंमा शरणार्थी जीवन बिताइरहेका पाकिस्तानीको कथालाई देखाइएको छ।

शनिबार भारतका ९ वृत्तचित्र देखाइए । जसमा अञ्जली मोन्टेरियो र केपी जयशंकरको ‘ए डेलिकेट वेभ’, बोबो खुराइजमको ‘इमा साबित्री’, तुषार माधव र सार्भनिक कौरको ‘सोज–ए बालाड अफ मलादिस’, निहारिक पोपिलको ‘रासन पिया’, रिचा हसिङको ‘निकोबार, ए लङ वे’, समर्थ महाजनको ‘दी अनरिजर्भड’, शिल्पी गुलातीको ‘लक एण्ड की’, स्टान्जिन डोर्जाइ ग्या र क्रिश्टियान मोर्डालिट’को ‘शेफर्डनेश अफ द ग्लासियर’ र सिर्ले अब्राहम र अमित मधेशीयाको ‘द सिनेमा ट्राभलर्स’ छन्।

यस्तै बंगलादेशकी मोहम्मत रोमेलको ‘वर्कस भ्वाईस’, पाकिस्तानको लारा लिको ‘के २ एन्ड दि इन्भिजिवल फुटमेन’ र महिना जिआ र मिरिअम चेन्डी मेनाक्रीको ‘लाइरी नोट्स’, श्रीलंकाको भनिषा डगनेक र फेब्रिक लौनेको ‘श्रीलंका, घोष्ट अफ वार’ देखाइएको थियो।

गत शुक्रबार तीन नेपालीसहित एकैदिन २३ वृत्तचित्र देखाइए । दक्षिण एसियाका ६३ वृत्तचित्र सहभागी मेलामा ४५ वृत्तचित्रबीच पुरस्कारका लागि प्रतिस्पर्धा हुँदैछ । फिल्म साउथ एसियाको आयोजनामा भएको प्रतिस्पर्धाका ४५ फिल्मले पाँच विधाको अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट वृत्तचित्रले २ हजार अमेरिकी डलर राशिको ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’, दोस्रो वृत्तचित्रले १ हजार अमेरिकी डलर राशिको फस्ट रनर अप पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट नव–निर्देशकलाई १ हजार अमेरिकी डलर राशीको तारिक मसुद बेस्ट डेब्यु फिल्म अवार्ड, बालबालिका सम्बन्धी उत्कृष्ट वृत्तचित्रलाई ‘युनिसेफ बेस्ट फिल्म अन चिल्ड्रेन इस्यु’ तथा विद्यार्थीले निर्माण गरेको एक उत्कृष्ट वृत्तचित्रलाई पाँच सय अमेरिकी डलरसहित ‘बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ प्रदान गरिनेछ । फिल्म साउथ एसिया आज आइतबार सम्पन्न हुनेछ।

प्रकाशित: १९ कार्तिक २०७४ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App