coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब भगवानको पूजा अनलाइनबाटै

कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ। 

अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।

मन्दिरले अनलाइन पूजा सेवा सुरु गरेकाले रामभक्तहरूलाई यस्तो अवसर मिलेको हो । अब मुलुकभित्र मात्र होइन, संसारभरका धर्मावलम्बीले इन्टरनेटका माध्यमबाट राम मन्दिरमा पूजा गर्न सक्नेछन्। 

मन्दिरले अनलाइन पूजा सेवा सुरु गरेकाले रामभक्तलाई यस्तो अवसर मिलेको हो । मन्दिरले अनलाइन पूजा सेवा सुरु गरेपछि अब मुलुकभित्र मात्र होइन, संसारभरका धर्मावलम्बीले इन्टरनेटका माध्यमबाट राममन्दिरमा पूजा गर्न सक्नेछन्।

मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरले हालै सञ्चालनमा ल्याएको आफ्नो वेबसाइटमार्फत अनलाइन पूजा सेवा सुरु गरेको हो । राम मन्दिरमा अनलाइन पूजा गर्न चाहनेले मन्दिरको वेबसाइट डब्लुडब्लुडब्लु डट रामइपूजा डट ओआरजी लग इन गरी यो सेवा लिन सक्नेछन्। 

वेबसाइट खोलेपछि पूजाका प्रकार देखिन्छन् । प्रकार अनुसार पूजाका लागि निश्चित रकम दक्षिणा तोकिएको छ । अनलाइन पूजा गर्न चाहनेले न्यूनतम पाँच हजार एक रुपैयाँदेखि एक लाख ११ हजार एक सय ११ रुपैयाँसम्म दक्षिणा दिएर पूजा गराउन सक्नेछन् । मन्दिरले अनलाइनबाटै विष्णु सहर्षनाम अर्चनादेखि अन्नकुट उत्सवसम्मका पूजा गर्ने सुविधा दिएको छ।  

कुन पूजा गर्ने भनेर भक्तजन निश्चित भएपछि अनलाइनमार्फत नै रकम भुक्तानी गर्नुपर्छ । रकम भुक्तानीलाई व्यवस्थापन समितिले प्रमाणित गरेर पालोअनुसार पूजा गर्ने समितिका सदस्यसचिव गोविन्द टन्डनले जानकारी दिए। 

उनका अनुसार पूजापछि भक्तजनलाई पूजाको भिडियो र प्रसाद पठाउने व्यवस्था गरिएको छ । हाललाई मन्दिरले डिएचएल कम्पनीमार्फत प्रसाद कुरियरको व्यवस्था मिलाएको छ । गत शुक्रबारबाट सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि मुलुकभित्र र बाहिरबाट पूजाका लागि ‘बुकिङ’ हुन थाल्यो । अनलाइन पूजाबापत आएको रकम खर्च कटाएर मन्दिर विकासमा लगाइने समितिले जनायो।

०४८ सालअघि भग्नावशेष मात्र भएको श्रीरामचन्द्र मन्दिरलाई स्थानीयको सहयोगमा जीर्णोद्धार गरिएको हो । मन्दिरमा ०७२ वैशाखकोे भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पपछि पनि स्थानीयकै सहयोगमा झन्डै ४० लाख लागतमा मन्दिरको पुनर्निर्माण गरिएको मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जानकारी दिए। 

हाल मन्दिरमा दैनिक पाँचदेखि सात हजारसम्म भक्तजन आउने गर्छन् । शाकाहारी भोजमा विवाह, व्रतबन्धको व्यवस्था समेत मन्दिरले गरेको छ । १९२८ सालमा सनदसिंह टन्डनले निर्माण गरेको मन्दिरकै कारण सो स्थानको नाम नै बत्तीसपुतली बनेको मानिन्छ। 

मन्दिरको भित्रपट्टि ३२ वटा पुतलीको आकृति छन् । त्यसैका आधारमा बत्तीसपुतली नामाकरण भएको सदस्यसचिव टन्डनले जानकारी दिए । उनले धार्मिक पर्यटनलाई बढावा दिनका लागि अनलाइन पूजा सुरु गरिएको बताए । 

 

प्रकाशित: १९ कार्तिक २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App