८ वैशाख २०८१ शनिबार
राजनीति

दलको निर्णयअघि नै गाउँ पुगे उम्मेदवार

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेताल झलनाथ खनाल इलामको रोङ गाउँपालिका–६, जिर्मलेका मतदातासँग आफूले खिचेको सेल्फी मोबाइलमा देखाउँदै । तस्बिर : नागरिक

इलाम – जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता गराएकै दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आफ्नो निर्वाचन क्षेत्र पुगे । त्यो दिन कार्यकर्तासँग भेटभाट गर्दै फिक्कलमा बिताएका खनाल इलामकै क्षेत्र १ मा पर्ने रोङ गाउँपालिका, सूर्याेदय र माई नगरपालिकाका गाउँगाउँ पुगिरहेका छन् । 

पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङ पनि मनोनयन दर्तापछि सदरमुकाम बसेनन् । नेम्बाङ अहिले आफूले विगतमा ३ पटक लगातार चुनाव जितेको आफ्नै क्षेत्र घुमिरहेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मंगलबारे, दक्षिणी चुलाचुली हुँदै उनी आइतबार पश्चिमी दुर्गम बाँझोगाउँस्थित लारुम्बाको कार्यक्रममा पुगेका छन् । 

आउँदो मंसिर २१ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने भएपछि खनाल र नेम्बाङ मात्र होइन, सबैजसो राजनीतिक दलका उम्मेदवारलाई आफ्ना कार्यकर्ता, मतदाता भेट्ने धपेडी छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार अहिले मतदाता रिझाउँदै गाउँगाउँसम्म पुगेका छन्। 

पछिल्लो समय निर्वाचन क्षेत्र विस्तार भएर भूगोल ठूलो भएपछि चुनावको मितिभन्दा महिना दिनअघि नै उम्मेदवारहरू भोट माग्दै गाउँ पुगेका हुन् । कतिपय दलले उम्मेदवारको चुनावी कार्यक्रम बनाउनुअघि नै उम्मेदवारहरू गाउँसम्म पुगेका हुन्। 

एमाले नेता खनाल जिल्लाबाट ५ पटक चुनावमा उम्मेदवारी दिएर ४ पटक विजयी भइसकेका छन् । उनको यो उम्मेदवारी छैटौंपटकको हो । नेम्बाङले लगातार तेस्रोपटक विजयी भएर चौथोपटक उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट इलामको क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका केशव थापा पनि जिल्लाबाट २ पटक सांसदमा विजयी भइसकेका छन् । उनको यो तेस्रोपटकको उम्मेदवारी हो । त्यसैले आफ्नो उपस्थिति परिणामुखी बनाउने उद्देश्यसहित ‘हेभिवेट’ देखि नयाँ अनुहारका उम्मेदवारसमेत अहिले बेलैदेखि चुनावी अभियानमा मतदातासम्म पुग्न जुटेका हुन्। 

गत असार १४ को स्थानीय तह निर्वाचनको नजिता हेर्दा जिल्लाका २ प्रतिनिधिसभा र त्यसको दोब्बर संख्याका प्रदेशसभाका निर्वाचन क्षेत्रमा एमाले पहिलो दल छ । सबै क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेसको मतभन्दा एमाले एक्लैको मत नै बढी छ । अहिले माओवादीसँग वाम गठबन्धन भएपछि गठबन्धनभन्दा कांग्रेसको मत निकै कम देखिन्छ । तर, स्थानीय तहको निर्वाचनमा व्यक्तिगत प्रभाव पनि रहने भएकाले परिणाम उस्तैगरी दोहोरिन्छ भन्नेमा कुनै पनि दल ढुक्क छैनन् । विभिन्न दलका नेताकार्यकर्ताको साझा बुझाइ छ– जति धेरै मतदातासम्म पुग्न सकिन्छ, उति नै आफूअनुकूल विजय हात पार्न सकिन्छ।

खनाल फिक्कल, कोल्बुङलगायत स्थानमा भएका चुनावी कार्यक्रम सकेर आइतबार माई नगरपालिकाको दानाबारीगाउँ पुगेका छन् । उनी सोमबार कन्यामको चुनावी कार्यक्रममा सहभागी हुने उनका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए । ‘खनाल मंगलबारभन्दा पछि एकचोटि काठमाडौं पुगेर केही दिनमै पुनः इलाम आउनुहुनेछ,’ उनले भने, ‘त्यसपछि नयाँ तालिका बनाएर चुनावी अभियानमा गाउँ डुल्नेछौं।’

नेम्बाङ आइतबार लारुम्बामा हुने चुनावी कार्यक्रम सकेर सोमबार आमचोक पुग्दैछन् । उनी मतदातालाई आफ्नो नेतृत्वमा बनेको नयाँ संविधान कार्यान्वयन गर्न वामशक्ति एक भएको भन्दै र आफ्नो उम्मेदवारबारे बताउँछन् । ‘देशलाई शान्तिपूर्ण बाटोमा हिँडाउने महान् कार्यमा इलामका राजनीतिक दलका नेताले जति भूमिका निर्वाह गर्नुभएको छ, अहिले नयाँ संविधान कार्यान्वयनका लागि पनि उनीहरूकै नेतृत्व आवश्यक छ,’ नेम्बाङ मतदातालाई भन्दैछन्, ‘तर, राष्ट्रिय राजनीतिमा भुलेर मैले आफ्नो क्षेत्रको विकास निर्माणको काम कहिल्यै भुलेको छैन । भुल्ने पनि छैन।’

सदरमुकाममा मंगलबार पार्टीले आयोजना गर्ने बैठकपछि नेम्बाङको चुनावी घरदैलो कार्यक्रमको नयाँ तालिका बन्ने एमाले इलामका सचिव महेश बस्नेतले बताए । ‘अहिले पनि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चुनावी अभियानमा लागिसक्नुभएको छ,’ बस्नेतले भने, ‘कात्तिक २१ गतेपछि अझ व्यवस्थित तरिकाले योजना बनाएर मतदातासँगको भेटघाटमा पुग्नुुहुनेछ।’

पूर्वसांसद तथा क्षेत्र २ का उम्मेदवार केशव थापा पनि उम्मेदवारी दर्तापछि मतदातासम्म पुगेका छन् । उनी आफ्नो क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा चुनावी कार्यक्रममा रहेको कांग्रेसले जनाएको छ । ‘जिल्लाको क्षेत्र नम्बर ३ बाट विजयी हुँदा मैले जे–जति विकासका काम गर्न सकें, त्यसकै आधारमा मलाई मतदाताले विश्वास गर्नुभएको छ,’ उनले भने, ‘क्षेत्र २ मा गर्नुपर्ने विकास निर्माणका कामका लागि पनि मतदाताले अनुमोदन गर्ने देखेर मतदातासँग लागेको छु ।’ 

प्रतिनिधिसभा क्षेत्र १ का कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेल पनि चुनावी अभियानमा जुटिसकेका छन् । तर, कांग्रेसले भने सोमबार जिल्लामा बैठक गरेर चुनावी कार्यक्रम बनाउने पार्टीको क्षेत्र १ का क्षेत्रीय सभापति दुर्गाकुमार बरालले बताए । ‘म अहिले पनि कन्यामको तारगाउँमा चुनावी अभियानमै छु,’ क्षेत्र १ को प्रदेश क्षेत्र २ का उम्मेदवारसमेत रहेका बरालले सुनाए, ‘चुनावका लागि पार्टीले विस्तृत कार्यक्रम मंगलबार तय गर्दैछ तर हामी उम्मेदवारचाहिँ अहिले पनि गाउँतिरै छौं ।’

प्रतिनिधिसभाको क्षेत्र १ बाट गठबन्धनका खनाल र कांग्रेसका कट्टेल मुख्य प्रतिस्पर्धामा छन् । क्षेत्र २ बाट गठबन्धनका उम्मेदवार नेम्बाङ र पूर्वसांसद कांग्रेसका थापाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशतर्फ क्षेत्र १ को १ मा गठबन्धनकी खिनु लङ्वा लिम्बू र कांग्रेसका देवेन्द्र राई तथा क्षेत्र १ को २ मा गठबन्धनका काजीमान कागते र कांग्रेसका दुर्गाकुमार बरालबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र २ को १ मा गठबन्धनका राम राना र कांग्रेसका डम्बर खड्का तथा क्षेत्र २ को २ मा गठबन्धनका धीरेन शर्मा रमण र कांग्रेसका खगेन्द्र देवानबीच मुख्य प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २० कार्तिक २०७४ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App