coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

दुःस्वप्न

यो लेख पढेर पंक्तिकारलाई कसैले पुरातनवादी, कसैले पश्चगामी पनि भन्लान् । नेपालको करिब तीन हजार वर्षदेखिको राजनैतिक इतिहास पढ्ने हो भने र यसको नजीर हेर्ने हो भने छोटो समयका लागि नेपाल विशाल हुने अनि निकै लामो समय टुक्रने गरेको देखिन्छ । अनि बीच बीचमा कुनै राजाले लडाइँभिडाइ गरी पुनः ठूलो बनाउने गरेका रहेछन् । पछिल्लो उदाहरण हेर्ने हो भने सिञ्जाका राजा जितारी चल्ल (मल्ल) को राज्य । पूर्वमा सिम्रौनगढको राज्य र मध्य नेपालमा मल्ल राज्य । १२ औँ शताब्दीतिर विशाल नेपाल टुक्रिएर तीन भंगाला भएका थिए । पछि ती तीन भंगला पनि टुक्रेर हालको मेची–महाकालीभित्र मात्र करिब ५६ राज्य बने । अनि मेचीपूर्वको आसामसम्मको नेपाल र महाकालीपारिको झन्डै हरिद्वारसम्मको परापूर्व कालको नेपालको राजनैतिक इतिहासको अत्तोपत्तो छैन । १२ आैँ शताब्दीको मध्यतिर आइपुग्दासम्म नेपालको अवस्था टुक्रिएर रहेको थियो । वि.सं. १८०१ तदानुसार सन् १७४४ तिरबाट नेपाल विशाल बनाउने अभियान भएको देखिन्छ । वि.सं. १६७५ का गोर्खाका राजा रामशाह, बडामहाराज पृथ्वीनायायण शाह, राजकुमार बहादुर शाह, मुमा बडामहारानी राजेन्द्रलक्ष्मी, राजा गिर्वाणयुद्धविक्रम शाह र अन्ततः वि.सं. १९१५ को प्रधानमन्त्री जंगबहादुर राणाको समेत प्रयासले पुनः बृहत् नेपाल बनेर, नेपाल अंग्रेज युद्धपछि हालको सिमानाभित्र बाँधिएको छ ।

कुनै पनि देश जोडिने र टुक्रिने प्रक्रिया राजनैतिक कारणले हुन्छ । जनताको नजरबाट गिरेका शासकबाट वाक्क भएपछि जनताले राज्यलाई टेर्दैनन् र ‘राज्यभित्रको राज्य’ खडा हुन्छ । देशको संविधान, कानुनले काम गर्दैन र त्यो क्षेत्रमा ‘माफिया’हरूले पकड जमाउँछन् र अन्ततः विभिन्न शक्तिको उदय भएर देश फुटेर त्यहाँ थुप्रै नयाँ देश बन्छन् । भर्खरकै उदाहरण हेर्ने हो भने पनि युगोस्लाभिया, सोभियत संघ आदि हुन् । नेपालको राजनैतिक चक्र हेर्दा पनि नेपाल पुनः टुक्रिने संघारमा पुगेको देखिन्छ । इतिहास हेर्दा नेपाल देश पूरै गायब भएको छैन तर करिब १०० किलोमिटरको घेरा बन्दीमा सो घुरिएको चाहिँ छ । उस बखत पनि विभिन्न कुपात्रहरूले गर्दा नेपाल टुक्रियो भने अहिले पनि २०६३ पछिका कुपात्रहरू धेरै जिउँदै छन् भने केही मरिसके । यो नेपाल टुक्रन सक्ने आधारमध्ये केही निम्न देखिन्छ ः पहिलो कारण नेपालको वर्तमान संविधान आफैँ छ । यो नेपालीको दुःखको पोको हो । यसमा लेखिएका र विदेशीले लेखाइएका अक्षर, शब्द, वाक्य र धारालाई अथ्र्याउन कि त राजनैतिक दलका झोले न्यायाधीश चाहिन्छन् कि त तिनका डनले मात्र सक्छन् । होइन भने यो संविधानले नेपालमा जातीय, क्षेत्रीय तथा क्रिस्चियन उकास्ने र सनातन धर्म, विशेष गरी बुद्ध धर्म मास्ने र अमेरिका र युरोपियनलाई खुसी पार्ने खालको छ । अन्ततः यसले पशुपतिनाथ, जामे मस्जिद र लुम्बिीनीको बुद्ध जन्मेको स्थानमा समेत भ्याटिकनको पोपको चर्च बनाउनेछ । १० वर्षे जनयुद्धमा माओवादीलाई पश्चिमा मुलुकले लगाएको लगानी, एमालेले एनजिओबाट विदेशी पैसा आर्जन गरेको मोह र नेपाली कांग्रेसको ‘लुते’ नेतृत्वको परिणाम हो आजको संविधान । अनि गिरिजाप्रसाद कोइरालाबाट हुकुम प्रमांगी भएको ‘मधेस प्रदेश’को परिणाम हो, आजको संघीयता । यो संविधानमा गजमजिएका अधिकार र कर्तव्य व्यवहारमा उतार्न अर्को १०० वर्ष लाग्नेछ, नेपालमा । तसर्थ, यो संविधान दिवा सपना हो भने यसको कारणले नेपालमा द्वन्द्व जन्मिसकेको छ।

कुनै पनि देश जोडिने र टुक्रिने प्रक्रिया राजनैतिक कारणले हुन्छ । जनताको नजरबाट गिरेका शासकबाट वाक्क भएपछि जनताले राज्यलाई टेर्दैनन् र ‘राज्यभित्रको राज्य’ खडा हुन्छ । 

अमेरिकी कार्टर सेन्टरका डलर खानेले र युरोपको युरो खाने हाम्रा नागरिक समाज, प्राज्ञ, विज्ञ, सुरक्षा अंगका विशिष्ट पूर्वपदाधिकारी, सांसद, मन्त्री, सभामुखलगायतले बिनासित्तीमा नेपालको सनातन धर्म फाले । माओवादीका तीन–चारवटा नेता, एमालेका चार–पाँच जना नेता, नेपाली कंग्रेसका केही लुते नेतालाई सात पुस्तासम्मलाई आम धर्मभीरु नेपालीको श्राप लाग्नेछ । यही जुनीमा यिनले गरेको पापले दण्ड दिनेछ । सनातन धर्ममा सामाजिक अनुशासन हुन्छ । अहिले नेपाल धर्म र अनुशासनविहीन बनाइएको छ । अनुशासनविहीन देशमा अराजकता बढ्छ भने त्यसबाट द्वन्द्व जन्मन्छ । अनि माफियाले राज गर्नेछन् । यो देश टुक्रन केही बेर लाग्दैन।

नेपालका लागि संघीयता भनेको तीन पांग्रे टेम्पुलाई ट्रकको बडी राखेर सामान बोकाएजस्तै हो । जुन देशको वार्षिक बजेटमा ७० प्रतिशत जति विदेशीको भर पर्नुपर्छ । त्यहाँ मन्त्री, सांसद, कर्मचारी, राजनैतिक झोलेहरू थपेर कसरी देश चल्छ । पैसा कमाउन राजनीति गर्ने हाम्रा दरिद्रहरूलाई प्रदेश चलाउन पैसा पुग्नेछैन । हाल अकूत सम्पत्ति कमाउने नेपाली कांग्रेस, माओवादी र एमालेको नेता अनि कलम थापा, विजय गच्छेदार, राजेन्द्र महतो जस्ताहरू केन्द्रमै तर मार्नेछन् भने दोस्रो–तेस्रो पुस्ताका खान नपाएका नेताहरू प्रदेशमा मुख्य मन्त्री, मन्त्री, सांसद बन्नेछन । अनि यो वर्ग अति नै संवेदनशील हुनेछ । किनभने पैसा कमाउन नपाएका आँ–आँ खाँ–खाँ गर्ने यिनलाई सीधै पश्चिमा, अमेरिकीलगायतका एनजिओ र भारतले बाक्सामा हालेर दिने पैसा तिनले सीधै बुझ्नेछन् । त्यसपछि हाम्रो नेताहरूको दोस्रो र तेस्रो पुस्ताको पनि देशभक्ति मारिनेछ । सबैभन्दा खतरनाक पक्ष भनेको मेचीदेखि महाकालीबीचको समथर भूभाग हो । राजनैतिक अवस्था गन्जागोल हुनेछ । यस बेला हाम्रा उत्तरी प्रदेशहरूको पकड पश्चिमाको हातमा जानेछ । अनि उनीहरूको मर्जीमा चीनविरुद्ध विभिन्न गतिविधि बढ्नेछन् । सबैभन्दा खतरा भनेको यहाँको बुद्ध धर्म मासिनेछ । यही प्रक्रिया रहँदै गर्दा तराई–पहाडमा धेरै माफिया जन्मनेछन् । अनि देशमा कानुनले काम गर्दैन।

अर्को घाती कुरो सरकारले वैदेशिक रोजगार प्रवर्धन केन्द्र खोलेर र विदेशमा पढ्न पठाएर झन्डै करोड युवकयुवती विदेश भासिएका छन् । तिनको मेहनत खेर गएको छ । चुनावमा मत हाल्न दिइएको छैन । स्वदेशका युवा विदेश पठाउने अनि सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, वामदेव गौतम, माधव नेपाल, खिलराज रेग्मी, बाबुराम भट्टराई, पुष्पकमल दाहाल, शेरबहादुर देउवाको अथक प्रयास चाहिँ भारतीयलाई नागरिकता बाँडेर नेपाली बनाउनु नै रहेको छ । यो अक्षम्य अपराध हो र नेपाल टुक्र्याउने ग्य्रान्ड डिजाइन हो । अन्ततः आत्मा निर्णयको अधिकारको नाममा नेपालका धेरै भूभाग क्रिमियाजस्तै गरी विदेशमा मिल्नेछ । सिक्किम बन्नेछ । यो भागमा भारतले अधिकतम लगानी बढाउनेछ । पैसा बिच्छाउनेछ । आँ–आँ–खाँ–खाँ गर्ने धोती–टोपी–सारी–कुर्ता लगाउने नेता नेतृहरूलाई प्रसन्न पार्नेछ। भारतीयहरूलाई अंगीकृत नागरिकता मनलागी बाँडिनेछ । पुराना तराईवासी बिस्तारै मासिनेछन्, नासिनेछन् । भारतले अझै सीमा मिच्नेछ । विस्तारै अब ‘आत्मनिर्णयको अधिकार’को प्रयोग गराइनेछ । भारतमा गाभिने, स्वतन्त्र राज्य हुने वा केन्द्रसँग बस्ने भन्ने छान्न दिइनेछ । अन्ततः नेपालको समथर भूभाग वास्तविक भारतीय मधेसमा मिसिनेछ । त्यहाँ भारतीय झन्डा फहराइनेछ । यो अवस्थामा नेपालको केन्द्र सरकार टुलुटुलु हेर्नेछ । केन्द्रमा हुनेहरू पनि उतैका मतियार हुनेछन् । अचम्म नमाने हुन्छ, त्यति बेलासम्म नेपालका सुरक्षा अंगहरू पनि कि त भारतकै कि अमेरिकी मतियार बन्न तयार हुनेछन् ।

अर्को तहमा, पश्चिमा र अमेरिकी पैसाले हिमाली क्षेत्रका प्रदेशहरूमा थप जातीय राज्य माग्न लगाइनेछ । क्रिस्चियन धर्म नेपालको राष्ट्रिय धर्म बन्नेछ । त्यसपछि संविधानबाट ‘धर्म निरपेक्ष’ शब्द हटाइनेछ । हामीबीच काटामार बढ्नेछ । सात प्रदेशबाट २० प्रदेश हुन १० वर्ष कुर्नपर्ने छैन । किनकि, पश्चिमा र अमेरिकी पैसा कुम्ल्याउन हामी नयाँ नयाँ राज्यको परिकल्पना गर्नेछौँ । अर्को अति डरलाग्दो पाटो भनेको अब आउने दशकमा नेपालमाथि अमेरिकाले पकड जमाउन यहाँ ठूलो चलखेल गर्नेछ । त्यस बखत भारत नतमस्तक भएर चुप लाग्नेछ । केही वर्षपछिको नेपाल सरकारले नेपालमा अमेरिकी सेना राख्न पाउने स्विकृित दिएमा आश्चर्य नमाने हुन्छ। 

अन्ततः नेपाल पुनः बाइसे–चौबीसे राज्यमा विभक्त हुनेछ । डा.बाबुराम भट्टराईलगायत माओवादीले कल्पना गरेको नयाँ नेपाल जस्तै हुनेछ । अनि नेपालको राष्ट्रिय झन्डा पनि फेरिनेछ । एउटै वाक्यमा भन्नुपर्दा नेपालको वर्तमान संविधान भनेको माकुराका नयाँ बच्चाजस्तै हो र ती बच्चाले अन्ततः आमा माकुराको मासु खाई भुँडी भर्नेछन् र आमा माकुरो रहनेछैन। 

मेरा यी काला सपना सपना नै रहून्, विपनामा नबदलिऊन् । 

प्रकाशित: २० कार्तिक २०७४ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App