coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

युद्ध कथालाई अवार्ड

काठमाडौं– गत बिहीबारदेखि ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा जारी एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रूपमा ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’ जितेका छन् । आइतबार साँझ आयोजित समापन समारोहमा भारतीय निर्देशक तुषार माधव र सार्भनिक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’ तथा श्रीलंकाली निर्देशक जुड रत्नमले निर्देशन गरेको ‘डेमोन्स इन प्याराडाइज’ले संयुक्त रूपमा उक्त अवार्ड जितेको हो । २ हजार अमेरिकी डलर राशीको यो पुरस्कार दुवै फिल्मले दामासाही बाँडेका छन्।

फिल्म ‘सोजः ए ब्यालेड अफ मालाडिज’ले संगीतको माध्यमबाट हेरिएको कश्मिर द्वन्द्वलाई र ‘डेमोन्स इन प्याराडाइज’ले अढाई दशकको श्रीलंकाली गृहयुद्धलाई समीक्षात्मक रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा स्टाजिन दोर्जाई र क्रिस्टियन मोर्डेलेटले निर्देशन गरेको भारतीय फिल्म ‘सेफर्ड अफ ग्लासियर्स’ले १ हजार अमेरिकी डलर राशिको ‘फस्ट रनर्स अप’ पुरस्कार सुरक्षित गर्‍यो । भारतीय प्रख्यात शास्त्रीय गायक उस्ताद अब्दुल रसिद खानको कथा पेश गर्ने फिल्म ‘रसन पिया’का लागि निर्देशक निहारिका पोप्लीले १ हजार अमेरिकी डलर राशिको ‘तारिक मसुद बेस्ट डेब्यु फिल्म अवार्ड’ चुम्यो। 

साथै, युनिसेफको प्रायोजन रहेको ‘बेस्ट फिल्म अन चिल्ड्रेन अर सोसियल इस्यु’ को अवार्ड भारतीय निर्देशक चन्द्रशेखर रेड्डीको फिल्म ‘फाइर फ्लाइज इन द एबिस’ प्राप्त ग¥यो । सो फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार पोल्टामा पा¥यो । त्यसैगरी म्यानमारका साइन खामले निर्माण गरेको फिल्म ‘३२ सोल्स’ले पाँच सय अमेरिकी डलर पुरस्कारसहितको ‘द बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ पायो।

फिल्म साउथ एसियाका निर्देशक कनकमणि दीक्षितले उच्च गुणस्तरमा बनाइएका दक्षिण एसियाली नन फिक्सन वृत्तचित्र दर्शकका लागि खुल्ला दृश्यावलोकनको माध्यम बनेको बताए । ‘यी फिल्महरू एसियाली उप महाद्विपमा हुने घुमन्ते फेस्टिभलमा देखाइनेछ । त्यहाँका दर्शकका नजरमा पनि यी सिर्जना अवश्य पर्नेछन्,’ उनले भने ।
फेस्टिभलकी निर्देशक मितु वर्माले वृत्तचित्र हेर्न आएका दर्शकहरूले अर्को वर्ष पुनः वृत्तचित्र हेर्न आउने कुरा बताउँदा आफूलाई खुशी लागेको जनाइन् । ‘काठमाडौंका दर्शक महान् छन् । हामीले अन्य दक्षिण एसियाली मुलुकमा घुमन्ते फेस्टिभल गर्दा पनि यति धेरै दर्शक देखेका थिएनौं,’ उनले भनिन्, ‘दक्षिण एसियाली वृत्तचित्रको सहभागिताको लहरले पनि नयाँ हौसला दिएको छ।’

भारतीय पत्रकार शशी कुमारले उद्घाटन गरेको मेलाको जुरीमा ‘नेपाली टाइम्स’का सम्पादक कुन्द दीक्षित, पाकिस्तानी फिल्मकर्मी फरजाद नबी र भारतीय पत्रकार राजाश्री दासगुप्ता थिए । फिल्म साउथ एसियामा सहभागिताका लागि तीन सय वृत्तचित्रले आवेदन दिए पनि निर्णायक समितिले ६३ वटा मात्र वृत्तचित्रलाई छनोट गरेको थियो । जसमध्ये ४५ वृत्तचित्र पुरस्कारका लागि प्रतिस्पर्धी थिए।

मेलामा विद्यार्थीहरूले निर्माण गरेका ‘सोल्स’, ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भेम्पायर्स’,‘ड्रिम्स अफ वेल्स’ र ‘पोइन्ट एन्ड सट’ सँगै गैर विद्यार्थीले बनाएका ‘डटर्स अफ द कभ्ड मुन’, ‘लास्ट डेः लास्ट सट’, ‘होली काउ’, ‘क्याम्पस राइजिङ’, ‘हिमालयन रेफ्युजी’, ‘श्रीलंका, गोस्ट अफ वार’, ‘सवारी’, ‘द सिनेमा ट्राभलर्स’, ‘अफगानिस्तान नाइट स्टोरिज’, ‘मेसिन्स’, ‘वोर्कस् भोइस’ र ‘हस्पिटल’ लगायतका वृत्तचित्र प्रदर्शन गरिएका थिए।

 

प्रकाशित: २० कार्तिक २०७४ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App