६ वैशाख २०८१ बिहीबार
अर्थ

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

काठमाडौं – केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार फर्कने योजना छ। 

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यी टोली सोमबार बिहान काठमाडौं आउन लागेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । ‘नेपालको रेलमार्गको पूर्वाधार निर्माणको विषयमा अध्ययन तथा छलफल गर्न चिनियाँ टोली सोमबार आउँदैछ,’ उपाध्ययले नागरिकसँग भने, ‘उक्त टोलीले मुख्य रुपमा काठमाडौं–केरुङ र पोखरा–लुम्बनी रेलमार्गको स्थलगत अध्ययन गर्नेछ।’
चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत छन्। 

नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आउन लागेको टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित नेपालका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गर्नेछ । उपाध्यायका अनुसार सोमबार विहान काठमाडौं आइपुग्ने टोलीले सोही दिन दिउँसो मन्त्रालयमा नेपाली अधिकारीहरुसँग छलफल गर्नेछ । ‘चिनियाँ टोलीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु हो,’ उपाध्यायले भने।  

चिनियाा टोली नेपाली प्रतिनिधि सहित मंगलबार चीनको केरुङ जाने कार्यक्रम तह भएको छ । तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो। 

चिनियाँ टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ । उक्त संयुक्त टोलीले काठमाडौं, पोखरा, लुम्बनी रेलमार्गको विषयमा अध्ययन गर्ने जनाइएको छ। 

सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ । यी रेलमार्गको स्थलगत अध्ययन गर्न चिनियाँ टोलीले भ्रमण गर्न लागेको विभागले जनाएको छ।  

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ।  

टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ ।  चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ।   

चिनियाँ कम्पनीहरूले नेपालको रेलमार्ग निर्माण गर्न चासो देखाउँदै आएका छन् । केही समयअघि अति विकट क्षेत्रमा समेत काम गर्न सक्ने एक उच्च स्तरको चिनियाँ कम्पनी इयुएन इन्जिनियरिङ ग्रुप (सिआरइइसी) ले चीन–नेपाल अन्तरसीमा रेलमार्ग निर्माणको लागि इन्जिनियरिङ सर्भे र डिजाइन अध्ययन गर्ने रुचि देखाएको थियो। 

मुलुकमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन । इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ मार्ग निर्माणको क्रममा रहे पनि चल्न सकेको छैन। 

हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको अन्तिम चरणमा छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भए पनि रेल उपलब्ध नहुँदा उक्त समयमा चल्न सक्ने सम्भावना कम हुँदै गएको छ। 

त्यसैगरी, विहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो ट्राक निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

मुलुकमा विभिन्न रेलमार्गको विषय उठिरहेको भए पनि हाल यि दुई ट्राकको ८८ किलोमिटरको काम भइरहेको छ । निमार्णधिन यि ट्राक बाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुदै आउने रेल लगायतका मार्गको चर्चा भइरहेको छ । पूर्व–पश्चिम रेलमार्गको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बाहेक अन्य केही काम हुन सकेको छैन । रेल विभागले दिएको जानकारी अनुसार बर्दिबासदेखि बुटबल, बर्दिबासदेखि इनरुवा र इनरुवादेखि काकरभित्तासम्मको भागमा डिपिआर तयार भइसकेको छ ।

सरकारले अगाडी सारेको अर्को आकर्षक योजना हो काठमाडौं उपत्यकामा मोनोरेल संचालन हो । योजना अनुसार उपत्यकामा रहेको २९ किलोमिटर रिङरोड वरिपरी मोनोरेल कुद्नेछ । यस योजनाको प्रारम्भिक अध्ययन बाहेक अरु केही हुन सकेको छैन। 

मुलुकमा विभिन्न रेलमार्गका योजना भए पनि सरकारी संयन्त्रबीच संमन्वयको अभाव, वन र जग्गाको समस्या, प्रयाप्त बजेट नहुनु, निर्माण सामग्रीको अभाव, प्रयाप्त मात्रामा विज्ञ नहुनु, राजनीतिक अस्थिरता लगायतका समस्या रहेका छन् । यि समस्याले गर्दा मुलुकमा रेलमार्ग निर्माण हुन नसकेको सरोकारवालको भनाइ छ। 

प्रकाशित: २० कार्तिक २०७४ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App