coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

काठमाडौं – कृषि विज्ञहरुले सन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्न सुझाव दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अगुवा किसान र विक्रेतालाई रासायनिक मल प्रयोगको मात्रा र विधिबारे अभिमुखीकरण गर्न आइतबार आयोजना गरिएको कार्यक्रममा यस्तो सुझाव दिएका हुन्। 

कार्यक्रममा माटो निर्देशनालयका वरिष्ठ वैज्ञानिक इन्द्रबहादुर ओलीले तरकारी र बालीनालीमा कसरी मल प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराएका थिए । त्यसैगरी कर्पोरेसनका कृषि विशेषज्ञ भगवान कोइरालाले पनि जग्गाको उत्पादकत्व जोगाइराख्न अपनाउनुपर्ने उपायबारे जानकारी गराए।

मल बिक्री गर्ने डिलर, सहकारी र किसानलाई संयुक्त रुपमा अभिमुखीकरण गरिएका कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए । रासायनिक मलको अव्यवस्थित प्रयोगले जग्गाको उत्पादकत्वमा ह्रास आइरहेको अवस्थामा कर्पोरेसनले अगुवा किसानमार्फत यो अभियान चलाउने झाले बताए।

भारतको मल उत्पादक साई कम्पनीसँगको सहकार्यमा मल प्रयोगको प्राविधिक पक्षको बारेमा जानकारी गराएको हो । कार्यक्रममा काठमाडौं, ललिलपुर, भक्तपुर, काभ्रे, धादिङ, नुवाकोटका अगुवा किसान र विक्रेताको सहभागिता रहेको थियो । कर्पोरेसनले झापा, झापा, विराटनगर, लहान, जनकपुर, वीरगन्ज, नारायणगढ, भैरहवा, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत स्थानमा पनि यो अभियान सञ्चालन गर्ने झाले बताए । ‘देशभरका किसानलाई सूसुचित गर्ने योजना हो,’ उनले भने, ‘माटोको उर्वरा शक्ति जोगाउन नयाँ अभ्यास सुरु गरेका हौं।’

माटोमा अम्लियपन बढेर उत्पादन शक्तिमा ह्रास आइरहेको अवस्थामा यसले केही सुधार हुने अपेक्षा गरिएको छ । सन्तुलित रुपमा रासायनिक मल प्रयोग गरेर उर्वर शक्तिलाई सन्तुलन गर्ने, कुन बालीमा कति मात्रा प्रयोग गर्ने विषयमा किसानलाई जानकारी गराइएको थियो।

नेपालमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल खपत हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल ल्याएर बिक्री गर्ने गरेका छन् ।  करिब एक लाख मेट्रिक टन मल भारतबाट ल्याएर बिक्री गर्ने गरेको झाले बताए । कर्पोरेसनले युरिया, डिएपी, पोटाससहित अल्मोनियम सल्फेट र सिंगल सुपर फस्पेक्टसमेत ल्याएर बिक्री गर्ने गरेको छ। 

रासायनिक मल प्रयोगले माटोमा अम्लीयपना (एसिडिटी) बढ्ने भएकाले सरकारले प्रांगारिक मललाई प्रोत्साहन गर्दै आएको छ । अम्लीयपना बढ्दा माटोको उर्वरा शक्ति नष्ट भई बालीले दिने उत्पादनमा कमी आउने भएकाले प्रांगारिक मल प्रयोग गरिन्छ।

प्रकाशित: २० कार्तिक २०७४ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App