coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

काठमाडौं – करिब साढे चार करोड रुपैयाँबराबरको भारतीय आर्थिक सहयोगमा मुस्ताङ जोमसोमस्थित कालिगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल तयार भएको छ। 

नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले आइतबार उक्त पुलको उद्घाटान गरे । यो पुल निर्माण गर्न भारतले ४ करोड ४५ लाख रुपैयाँ वित्तीय सहायता प्रदान गरेको थियो । भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत साना विकास कार्यक्रम मातहत उक्त पुल निर्माण गर्न भारतले वित्तीय सहयोग गरेको थियो। 

भारतीय दूतावासका अनुसार पक्की पुल निर्माण हुनुभन्दा अघि झोलुंगे पुल बनाइए पनि सवारीसाधन आवतजावत गर्न सकिएको थिएन । पुलको एक छेउसम्म गाडीमा आउने र हिँडेर पुल तरेपछि अर्को गाडीमा जानुपर्ने बाध्यता थियो। 

‘नयाँ पक्की पुलबाट मुस्ताङका स्थानीयबासिन्दालाई सवारीसाधनबाट आवतजावत गर्ने प्रत्यक्ष सुविधा पुगेको मात्र छैन,’ भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर जाने धर्मावलम्बीदेखि माथिल्लो मुस्ताङमा पदयात्रा गर्न जाने हजारौं पर्यटकलाई सहज आवागमन समेत उपलब्ध गराएको छ।’

दूतावासका अनुसार मुस्ताङमा विभिन्न परियोजनाका लागि हालसम्म भारत सरकारले २५ करोड ७७ लाख रुपैयाँबराबरको वित्तीय सहयोग उपलब्ध गराइसकेको छ । जसमा विद्यालय भवन निर्माण, मुक्तिनाथ मन्दिरमा धर्मशाला निर्माण, झारकोटको सामुदायिक हल स्तरोन्नति, मुक्तिनाथमा खानेपानी परियोजना र कागबेनीमा नदी संरक्षण कार्यलगायत छन्। 

भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत हाल ७६ अर्ब रुपैयाँबराबरको वित्तीय सहयोगमा नेपाल सरकारको सहकार्यमा विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका साना र ठूला गरी ५ सय ५४ परियोजना सञ्चालन भइरहेको भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७४ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App