coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

शौच आए कहाँ जाने ?

जोरपाटीकी करुणा फुयाँल माइक्रो बस चढेर वसन्तपुर घुम्न निस्किन् । जोरपाटीबाट गुडेको माइक्रो करिब एक घन्टा लगाएर सुन्धारास्थित नेपाल वायु सेवा निगम अगाडि रोकियोे । यहीबेला उनलाई पिसाबले च्याप्यो । 
माइक्रोबाट ओर्लनेबित्तिकै उनले शौचालय नियालिन् । तर, कतै पनि शौचालय देखिनन् । न्युरोडतिर लागेर सार्वजनिक शौचालय खोज्दा पनि उनले कतै फेला पार्न सकिनन्। 

‘ट्वाइलेट खोज्दाखोज्दै आधा घन्टा बित्यो,’ फुयाँलले भनिन्, ‘पिसाबले निकै च्यापेपछि पेट दुखेजस्तो भयो, खप्नै नसकेपछि रेस्टुरेन्ट छिरेर कफी अर्डर गरेँ, अनि ट्वाइलेट पसेर हल्का भएँ ।’ कफी खाने इच्छा नहुँदानहुँदै पनि बाध्यताले पिसाब गर्नकै लागि उनी रेस्टुरेन्ट छिर्नुपर्‍यो।

फुयाँलले गत असोज दोस्रो साता भागेको समस्या हो यो । उपत्यकामा सार्वजनिक शौचालय नहुँदा उनी मात्र होइन, धेरैले दैनिक यस्तै समस्या भोग्ने गरेका छन् । ठाउँठाउँमा सार्वजनिक शौचालय नहुँदा उपत्यकामा घरबाट निस्केपछि कि कार्यालय, कि त होटल, रेस्टुरेन्टमै पुग्नुपर्ने बाध्यता छ। 

राजधानीमै आवश्यक स्थानमा सार्वजनिक शौचालय नहुँदा अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाउँदै आएको छ । सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त राष्ट्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । तर, उपत्यकाकै कारण निर्धारित समयमा लक्ष्य पूरा गर्न नसकिने अनुमानमा मन्त्रालय पुगिसकेको छ ।

‘घरमा पिसाब गरेरै निस्के पनि छिटोछिटो लाग्छ,’ सार्वजनिक शौचालय नहुँदा पीडा भोगेका विद्यार्थी राजेन्द्र लामिछाने भन्छन्, ‘यसरी पिसाब लाग्दाको एउटै चिन्ता हुन्छ, ट्वाइलेट खोज्न कहाँ जाने ?’ सार्वजनिक शौचालय नहुँदा पिसाब आउँदा कामै नपरे पनि बैंक, अस्पताल र सरकारी कार्यालय पसेर शौच गर्नुपरेको उनले बताए। 

घरबाहिर निस्कँदा शौच आएमा कोही खाजा खाने बहानामा होटल छिरेर, कोही अस्पताल त कोही बैंक छिरेर शौच गर्छन् । ती सबै ठाउँमा पुग्न पहुँच नहुनेले खुला ठाउँमै पनि शौच गर्दै आएका छन् । त्यसले उपत्यकामा दुर्गन्ध फैलिरहेको छ। 

राजधानीमै आवश्यक स्थानमा सार्वजनिक शौचालय नहुँदा अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाउँदै आएको छ । सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त राष्ट्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । तर, उपत्यकाकै कारण निर्धारित समयमा लक्ष्य पूरा गर्न नसकिने अनुमानमा मन्त्रालय पुगिसकेको छ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र पनि पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालय समेत अव्यवस्थित र फोहोर छन् । महानगर क्षेत्रमा समेत आवश्यक सार्वजनिक शौचालयको व्यवस्था महानगरले गर्न सकेको छैन । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चुनावी अजेन्डामा समेत ‘स्मार्ट ट्वाइलेट’ बनाउने घोषणा गरेका थिए । महानगरले नीति तथा कार्यक्रममा पनि यस्ता शौचालय बनाउने घोषणा गरेको छ । तर, हालसम्म सार्वजनिक शौचालय निर्माणमा महानगर लागेको छैन। 

महानगर प्रशासन प्रमुख हरि कुँवरका अनुसार अघिल्लो वर्ष करिब एक सय ३० वटा सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारिएको थियो । त्यसका लागि महानगरले दुई करोड रुपैयाँ बजेट छुट्ट्यायो । वडा नागरिक मञ्चले शौचालय निर्माणका लागि आवश्यक ठाउँबारे अध्ययन समेत ग¥यो । मञ्चले उपत्यकाभित्र चार सयभन्दा बढी शौचालय आवश्यक रहेको प्रतिवेदन दिएको छ । तर, हालसम्म महानगरले योजनाअनुसार शौचालय बनाउने सुरसार समेत गरेको छैन। 

‘सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले खेपिरहेको पीडाबारे हामी पनि जानकार छौँ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘त्यसका लागि हामी लागे पनि सफल हुन सकेका छैनौँ ।’ उनका अनुसार महानगरले अघिल्लो वर्ष नै आवश्यक ठाउँमा शौचालय बनाउने योजना थालेको थियो । महानगरले त्यसका लागि ठेक्का आह्वान पनि ग¥यो । 
‘हामीले कुन मोडलमा शौचालय निर्माण गर्ने भनेर निर्धारण गरी ठेक्का आह्वान गरेका थियौँ,’ उनले भने, ‘दुइटा कम्पनीले ठेक्का हाले पनि तोकेको मापदण्डभित्र नपरेपछि ठेक्काको टुंगो नलागेको हो ।’ प्रवक्ता कार्कीका अनुसार ठेक्काको टुंगो लागेको भए अहिले धमाधम शौचालय निर्माण भइरहेका हुने थिए। 

महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माणका लागि स्थानीय विकास मन्त्रालयसँग अनुमति मागे पनि ठेक्काकै कारण समस्या देखिएको हो । गत वर्ष ठेक्का टुंगो नलागेपछि महानगरले कुनै योजना अघि सारेको छैन । 
महानगरका अनुसार सार्वजनिक स्थलमा शौचालय बनाउने विषयमा अन्योल छ । ‘सार्वजनिक स्थलमा शौचालय बनाउन महानगर तयार छ,’ प्रवक्ता कार्कीले भने, ‘अहिले हामी कुन मोडेलमा कस्ता शौचालय बनाउने भनेर छलफल गरिरहेका छौँ ।’ 

भएका पनि दुर्गन्धित 
महानगरभित्र अहिले घुम्ती र सार्वजनिक गरेर जम्मा ३२ वटा सार्वजनिक शौचालय छन् । यी शौचालय नियमित सरसफाइ नहुँदा फोहोर र दुर्गन्धले प्रयोग गर्न नसकिने अवस्था रहेको सर्वसाधारणको गुनासो छ । कतिपय सर्वसाधारणले त सार्वजनिक शौचालय छन् भनेर थाहा नहुँदा समेत समस्या झेल्दै आएका छन् । गोंगबुका मनोज केसी भन्छन्, ‘शौचालयले प्रतिव्यक्ति १० रुपैयाँ लिन्छन् । भित्र पस्यो कि बिरामी भइएला भन्ने डर लाग्छ ।’ पस्दा मात्र होइन, शौचालय नजिकबाट ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।
कतिपय सर्वसाधारणले भने लामो समयसम्म शौचलाई रोक्नुपर्ने बाध्यता रहेको बताए । ‘घरबाट निस्केपछि शौच लागे सार्वजनिक शौचालय नै भेटिँदैनन्,’ कपनका दोर्जे लामा भन्छन्, ‘शौच रोक्दा बिरामी नै परुँलाझैँ हुन्छ ।’ 
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार पिसाब रोक्नु राम्रो होइन । ‘पिसाब र निसाफ सफा गर्नुपर्छ भन्ने भनाइ नै चर्चित छ,’ उनले भने, ‘हामीले पिसाब लामो समय रोक्यौँ भने स्वास्थ्यमा गम्भीर असर पर्छ ।’ उनका अनुसार लामो समयसम्म पिसाब रोके त्यसको असर मिर्गौलामा समेत पर्छ ।

प्रकाशित: २० कार्तिक २०७४ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App