पनामाले आफ्नो अफसोर वित्तीय उद्योगमा पारदर्शिता अभिवृद्धि गर्न एउटा अन्तर्राष्ट्रिय प्यानल बनाउने भएको छ ।
मोस्याक फोन्सेका नामक ल फर्मबाट लाखौं गोप्य कागजात चुहिएर नाम कहिलाएका मानिसहरूको अकुत धन र करछलीबारे पर्दाफास भएपछि पनामा यो कदमतर्फ उन्मुख भएको हो । यो प्रकरणपश्चात थुप्रै देशले धनी तथा शक्तिशालीहरूबाट भएका वित्तीय अपराधबारे छानविन सुरु गरेका छन् ।
पनामाका राष्ट्रपति हुवा कार्लोस भलेराले पनामाले अन्य देशसँग पनि मिलेर काम गर्ने बताए । उनले यो प्रकरणका कारण धनी देशका मिडियाले आफ्नो मुलुकमाथि आक्रमण गरिरहेको बताए । ‘पनामा सरकारले विदेश मन्त्रालयमार्फत स्वदेशी तथा विदेशी विशेषज्ञसहितको एउटा स्वतन्त्र आयोग बनाउनेछ,’ टेलिभिजनबाट प्रसारित वक्तव्यमा उनले भने ।
यसैबीच, मोस्याक फोन्सेकाले आफ्नो सूचना हयाक भएको गुनासो गरेका छन् । फर्मका मालिक रामोन फोन्सेकाले विदेशमा रहेका सर्भरबाट आफ्नो कम्पनीको सूचना चोरी भएको बताए ।
उनले यसविरुद्ध पनामा महान्यायाधिवक्ताको कार्यालयमा ऊजुरी गरिएको बताए । फोन्सेकाले वर्तमान राष्ट्रपति भलेराको सरकारमा मन्त्रीका रूपमा समेत काम गरेको थिए ।
प्रकाशित: २६ चैत्र २०७२ ०७:२३ शुक्रबार