४ वैशाख २०८१ मंगलबार
राजनीति

भक्तपुर : नेमकिपा भर्सेस कांग्रेस-एमाले

भक्तपुर- आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा तीनवटा राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवदी केन्द्रबीचको वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो ।
जिल्लाका दुईवटा प्रतिनिधि सभा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं १ मा नेमकिपाको बलियो पकड छ । यो क्षेत्रमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर जित्दै आएका थिए । २०४८, ०५१, ०५६, ०६४ र ०७० सालको निर्वाचनमा यो क्षेत्रमा विजुक्छेले निरन्तर जित्दै आएका थिए । तर, यसपटक भने विजुक्छेले पुस्ता हस्तान्तरण भन्दै यो क्षेत्र युवा पुस्तालाई दिएका छन् । पार्टी सचिव प्रेम सुवालले यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । सुवालसँग नेपाली कांग्रेसका बाबुराजा जोशी प्रतिस्पर्धामा देखिन्छन् । यस क्षेत्रमा वाम गठनबन्धनले विजुक्छेलाई निःशर्त सघाउने बताए पनि मिलन सुवाललाई उम्मेदवार बनाएको छ । नेमकिपा उम्मेदवार सुवाललाई हराउन यी दुवै दललाई ठूलै मिहेनत गर्नुपर्ने देखिन्छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ ‘क’ मा नेमकिपालाई आफ्नो साख जोगाउन भने त्यति सहज छैन । यस क्षेत्रमा चाँगुनारायण नगरपालिका पर्छ । स्थानीय चुनावमा यो क्षेत्रमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । नेमकिपाले एउटै वडामा मात्रै वडा अध्यक्ष जितेको थियो । यस अर्थमा यो क्षेत्रमा एमाले बलियो देखिएको छ । तर वाम गठबन्धनमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले यो क्षेत्रमा पार्टी जिल्ला संयोजक डीपी ढकाललाई उठाएको छ । आफ्नो बलियो क्षेत्रमा माओवादी केन्द्रलाई दिएको भन्दै एमालले जिल्लाले पनि त्यहाँ बागी उम्मेदवार उठाएको छ । एमालेले पार्टी सचिव हरिशरण लामिछानेलाई यो क्षेत्रबाट उठाएको छ । बागी उम्मेदवार उठाएको भन्दै माओवादी केन्द्र जिल्लाले जिल्लामा वाम गठबन्धन तोडेको पत्रकार सम्मेलन नै गरी घोषणा गरेको छ । यस क्षेत्रमा नेमकिपाले भने युवा नेता नीरज लवजूलाई उठाएको छ ।  जीवन खत्री यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार छन् ।
क्षेत्र नं २ ‘ख’ मा भने नेमकिपाका सुरेन्द्रराज गोसाईको विजयी निश्चित जस्तै छ । यो भक्तपुर नगर क्षेत्र हो । स्थानीय चुनावमा यो क्षेत्रमा नेमकिपाले प्रतिस्पर्धी नेपाली कांग्रेस र एमाललाई देशकै सबैभन्दा फराकिलो मतले पराजित गरेको थियो । २५ हजार मतका साथ नेमकिपाले मेयर जित्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेका मेयरको मत पाँंच हजारमा सीमित थियो । यो क्षेत्रमा कांग्रेसले अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार  छन् ।
भक्तपुरको सबैभन्दा रोमाञ्चक क्षेत्र क्षेत्र नं २ हो । यो क्षेत्रमा २०४८ सालदेखि नै नेपाली कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ मा कांग्रेसले, ०५१ मा नेमकिपाले, ०५६ मा कांग्रेसले, ०६४ मा नेमकिपाले र ०७० मा कांग्रेसले जित्दै आएको छ । पालोअनुसार यो पटक जित्ने पालो नेमकिपाको हो । तर उसका लागि भने यो त्यति सहज भने छैन । यो क्षेत्रमा यो पटक कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत प्रतिस्पर्धामा छन् । साथमा नेमकिपाकी अनुराधा थापामगर पनि प्रतिस्पर्धी छन् ।
पार्टी जिल्ला कमिटीबाट रिफारिस गरी पठाएका उम्मेदबारलाई हटाई यो क्षेत्रमा टुरिष्ट उम्मेदवार पठाएको भन्दै जिल्ला कांग्रेस असन्तुष्ट छ । कांग्रेस जिल्ला सभापति दुर्लभ थापा यसको नेतृत्वकर्ता छन् । पार्टी केन्द्रले प्रतिनिधिसभाको सट्टा उनलाई प्रदेशसभाको उम्मेदबार बनाएपछि उनले उम्मेदवार नै नबनी अंगद खड्कालाई उम्मेदवार बनाएका छन् । यता पूर्वमन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भने अगाडि नै चुनाव प्रचारप्रुसार सुरु गरिसकेका थिए ।
क्षेत्र नं २ ‘क’ सूर्यविनायकमा एमालेका शशीजंग थापा थापा उठेका छन् भने नेमकिपाका सरोजराज गोसाईं चुनावी मैदानमा छन् । क्षेत्र नं २ ‘ख’ मा कांगेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसक्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ ।
२०४८ सालदेखिको चुनावमा भक्तपुरमा नेमकिपा पहिलो शक्तिका रूपमा रहँंदै आएको छ । दोस्रो शक्तिको रूपमा भने कांग्रेस रहने गरेको छ । तथापि निर्वाचनैपिच्छे फरकफरक शक्तिको उदय हुँंदै आएको छ । पछिल्लो स्थानीय निकायको निर्वाचनमा एमाले दोस्रो ठूलो शक्तिको रुपमा उदायो भने त्यो भन्दा अगाडि २०७० सालको संविधानसभाको चुनावमा माओवादी केन्द्र दोश्रो ठूलो शक्तिको रूपमा स्थापित थियो ।

प्रकाशित: २१ कार्तिक २०७४ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App