८ वैशाख २०८१ शनिबार
अर्थ

ब्रोकरबाटै सेयर धितो राखेर कर्जापाइने

काठमाडौं- सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने व्यवस्था धितोपत्र बोर्डले गरेपछि लगानीकर्तालाई बैंकसम्म पुग्नु नपर्ने भएको हो ।
बोर्डले सोमबार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आए सेयरलगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर ऋण लिन जान पाउने व्यवस्थाको अन्त्य हुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सोमबार नागरिकलाई बताए ।
‘प्रारम्भिक चरणमा लगानीकर्ता बैंंक जानुपर्ने अवस्थाको अन्त्य नभएपनि विस्तारै यसको अन्त्य हुन्छ,’ उनले भने, ‘ग्राहकलाई सानो तिनो ऋण लिन बैंक तथा वित्तीय संस्थामा जानुपर्ने व्यवस्था भने यो लागू भएदेखि नै अन्त्य हुनेछ ।’
यसरी मार्जिन ट्रेडिङ अन्तर्गत किनिएको सेयर सम्बन्धित व्यक्तिको नाममा नै हुन्छ । तर, यस्तो सेयर खरिद गर्नेले बिक्री गरेर पैसा लान भने पाउँदैन । मार्जिन ट्रेडिङमा किनिएको सेयर ब्रोकरकोमा धितो राखिएको हुन्छ । ब्रोकरले त्यही सेयर धितो राखेर बैंकबाट कर्जा लिएको हुन्छ । र, त्यही कर्जाको रकम सेयरधनीले प्रयोग गर्नेछ ।
मार्जिन कारोबार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्ने व्यवस्था धितोपत्र बोर्डको निर्देशनमा गरेको छ । तर, अहिले कुल ५० ब्रोकर कम्पनी मध्ये ८–१० वटाको मात्रै खुद सम्पत्ति पाँच करोड रुपैयाँ भएको ब्रोकरहरु बताउँछन् ।
पुस मसान्तसम्म ब्रोकर कम्पनीको चुक्ता पुँजी दुई करोड हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । अहिलेलाई बोर्डले दुई करोड पुँजी हुने ब्रोकरलाई चार कारोडसम्मको मार्जिन कारोबार गर्ने सुविधा दिएको भए राम्रो हुने तर्क रेग्मीको छ । ‘यद्यपि धितोपत्र बोर्डले जे गरेको छ ठिकै गरेको छ,’ उनले भने, ‘यस्तो व्यवस्थाले दोस्रो बजारलाई थप चलायमान बनाउने छ  र बजारमा सकारात्मक प्रभाव पर्नेछ ।’
कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक भई पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमामात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
धितोपत्र दलाल व्यवसायीले सूचीकृत संगठित संस्थाको सेयरको एक सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्ने गरिएको छ । अहिले वाणिज्य बैंकले जे व्यवस्था गरेको छ, त्यही किसिमको व्यवस्था बोर्डले पनि गरेको रेग्मीकोे भनाइ छ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था निर्देशनमा गरेको छ ।
ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ । धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछन् ।
धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीको पाँच करोडको खुद सम्पत्ति छ भने उसले १० करोडसम्म मार्जिन कारोबार गर्न सक्नेछन् ।
धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी सुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने सेयरको विवरण इत्यादि सर्त व्यवस्थाहरु खुलाउनु पर्नेछ ।
साथै, यस सुविधा अन्तर्गत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्ने, लेखापरीक्षण गरिएको कारोबार भएको सेयरको हिसाब किताब तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेस गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेन्डिङको रुपमा रहेको सेयर धितो कर्जा यथावत रहने छ भने यस निर्देशनबाट मार्जिन कारोबार सम्बन्धमा स्पष्ट रुपमा नीतिगत व्यवस्था भई मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आई दोस्रो बजारमा नयाँ अध्याय थपिने विश्वास बोर्डको छ । यसका साथै यस व्यवस्थाबाट दोस्रो बजारको तरलतामा अभिवृद्धि हुने, लगानीकर्तालाई सेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुन गई धितोपत्र कारोबार बढी गतिशील हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ ।
अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोबार सुरु गर्न लगानीकर्ताहरु तथा धितोपत्र दलाल व्यवसायीले माग गर्दै आएका थिए । धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्धमा बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत रहेको थियो ।
लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यलेबोर्डले मार्जिन कारोबार सम्बन्धी आवश्यक निर्देशन जारी गरिएको बोर्डको भनाइ छ । ‘केही नीतिगत व्यवस्थाहरु गरिएको छ,’ बोर्डद्वारा सार्वजनिक गरिएको निर्देशनमा उल्लेख छ, ‘यसको कार्यान्वयनको लागि कार्यविधि बनाई पेस गर्न धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग उक्त निर्देशन जारी गरिएको हो ।’

प्रकाशित: २१ कार्तिक २०७४ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App