६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यमनी राष्ट्रपति साउदीमा नजरबन्द

रियाद– यमनी राष्ट्रपति अब्दराबुह मन्सुर हादी र उनका छोराहरुसहित यमनका मन्त्री तथा अन्य सरकारी अधिकारीलाई कैयौं महिनासम्म यमन फर्कन नमिल्ने गरी साउदी अरबले घरमै नजरबन्द गरेको यमनी अधिकारीलाई उल्लेख गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

यमनी राष्ट्रपति अब्दराबहु मन्सुर हादी र संयुक्त अरब इमिरेट्सबीचको शत्रुता कारण साउदी अरबले यस्तो कदम चालेको बताइएको छ । हुथी विद्रोहीविरुद्धमा साउदी नेतृत्वको गठबन्धनमा युनाइटेड अरब इमिरेट्स रहेको छ । हुथी विद्रोहीको नियन्त्रण बाहिर रहेको दक्षिणी यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले नियन्त्रणमा लिएको छ । यमनमा युद्ध चलिरहँदा हादी र उनका सरकारका अधिकांश सदस्यहरु साउदी राजधानी रियादमा रहने गरेका छन्।

यमनमा रहेका हुथी विद्रोहीविरुद्ध युद्ध गरिरहेको गठबन्धनमा रहेका देशमध्ये साउदी अरब र संयुक्त अरब इमिरेट्स दुई ठूला स्तम्भ हुन् जसले हादी सरकारको पक्षपोषण गर्दै यमनमा विद्रोह गरिरहेका सिया विद्रोही हुथीका विरुद्धमा संघर्ष गरिरहेका छन् । साउदी नेतृत्वको गठबन्धनले यमनमा रहेका हुथी विद्रोहीविरुद्धमा हवाई आक्रमणलाई जारी राखेको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्सले पनि दक्षिणी यमनमा बलियो सैन्य उपस्थिति देखाएको छ । गठबन्धन सेनाले आक्रमण गरिरहेपनि यमनको उत्तरी भेगलाई अझैपनि हुथी विद्रोहीले नियन्त्रणमा राखेको छ।

त्यस अघि साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले आइतबार छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सिमा नाका बन्द गरेको थियो । शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि पछिल्लो निर्णय भएको बताइन्छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीविरुद्धको लडाइँमा यमनको सरकारलाई समर्थन गर्दै आएको छ । शनिबार रियादलाई निशानामा पारेर हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ।

साउदी अरबले हुथी विद्रोहीलाई इरानले हतियार उपलब्ध गराएको आरोप लगाएको छ । तेहरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण रहेको बताएको छ । साउदी अरबले सिमा नाका बन्द गरिदिएपछि यमनको राजधानी सानामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ भने केही पेट्रोल पम्प बन्द भएका छन् । पेट्राले पम्पहरुमा लामो लाइन देखिन थालेको छ। 

साउदी अरेबियाले हालका निम्ति यमनमा सक्रिय हुथी विद्रोहीले थप हतियार तस्करी गर्न नपाउन् भनेर यमनका सिमा बन्द गरिदिएको बताएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने पनि प्रष्ट पारेको छ । लामो समयदेखि जारी गृहयुद्धका कारण यमनमा भोकमरीको समस्या उत्पन्न हुन लागेको छ । त्यसैले पनि यमनमा मानवीय सहायता अत्यन्त आवश्यक रहेको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरुले बताउँदै आएका छन्।

अढाई वर्षदेखि भइरहेको लडाइँका कारण यमनका विभिन्न क्षेत्र ध्वस्त भएका छन् । यमनका एक करोड ८० लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ।

प्रकाशित: २२ कार्तिक २०७४ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App