८ वैशाख २०८१ शनिबार
राजनीति

मत गणना महिलाको जिम्मा

चितवन – चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मत गणनामा महिलाहरू मात्रै राख्ने सोच बनाएको बताएका छन् ।  ‘मेरो मनमा यस्तो सोच पलाएको छ । म दलका नेता ज्यूहरूसँग आग्रह गर्दछु । सबै प्रतिनिधिहरू महिला पठाइदिनुस् । चितवनबाट एउटा नमूना योग्य काम सुरु गरौं,’ निर्वाचन सम्बन्धि मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले आग्रह गरे । 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम (एससीडीपी)ले स्वच्छरूपमा निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा आयोजना गरेको कार्यक्रममा शर्माले यी धारणा राखेका हुन् । ‘उनीहरू शान्त छन् । विवकेशिल छन् । त्यसैले गणना प्रतिनिधिमा सतप्रतिशत महिला राख्दा राम्रो हुन्छ,’ शर्माले भने ।

गत स्थानीय तह निर्वाचनमा भरतपुरको मतगणना नसकिँदै मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएको वडामा फेरि चुनाव गराएर मतगणना गर्दा मत गणनास्थल तारजालीले बारिएको थियो । ‘विगतमा के भयो त्यसको चर्चा नगरौं । म पिन ड्रप साइलेन्स अर्थात् सियो खसे पनि आवाज आउने गरेर शान्तपूर्णरूपमा मतगणना कार्य सक्नुपर्छ भन्ने मान्यतामा छु । र त्यस्तै हुन्छ पनि,’ शर्माले भने ।

कार्यक्रममा चितवन जिल्ला प्रहरी कार्यालका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले जिल्लामा रहेका चार सय आठ मतदान केन्द्रमा र हरेक क्षेत्रमा सुरक्षा दिन प्रहरी सक्षम रहेको जानकारी दिए । ‘मतदान केन्द्र पहिला तीन सय ७६ थिए अहिले बढेका छन् । तर हामी सुरक्षा दिन सक्षम छौं । स्थानीय तह चुनावमा सात आठ घण्टा हिँडेरै राति दुई बजेसम्म मत पेटिका संकलन गरेकै हो । अहिले पनि सुरक्षा दिन सक्छौं,’ एसपी थापाले भने ।

उनले आचारसंहिता पालना गराउने विषयमा प्रहरी सजग रहेको बताए । ‘सबैभन्दा बढी समस्या हुने भनेर मौन अवधिलाई चिनिन्छ । तर गएको स्थानीय तह चुनावमा सोही मौन अवधिमा गलत काम गर्ने उम्मेदवारसमेत ३१ जनालाई तत्कालै समाएको हो । त्यसैले हामी हरदम सक्रिय रहने गरेका छौं । केही अप्रत्याशित घटना नभएका होइनन् । तर शान्ति सुरक्षाका दृष्टिले समस्या भएन,’ उनले भने ।

चुनाव बिथोल्ने पक्षदेखि फेसबुक र अनलाइनमा समेत प्रहरीले निगरानी राखेको उनले बताए । ‘यहाँ भुस्या कुकुरको घाँटीमा उम्मेद्वारको फोटो टाँगेर डुलाउने भन्ने जस्ता निर्वाचन बिरोधी गतिविधि हुँदै छन् भन्ने जानकारीमा आएको छ । यसलाई हामी नियन्त्रण गर्ने नै छौं । त्यस्तै फेसबुक र अनलाइन समाचारमा जे मन लाग्यो त्यही लेख्नेलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी छ,’ थापाले भने ।

कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रतिनिधिले चितवनमा निर्वाचनका समयमा सद्भाव बिथोलिने घटना भने नहुने गरेको अनुभव राखेका थिए । ‘पहिलापहिला प्रचारप्रसार र ¥यालीमै पनि हुलहुज्जत, झगडा र झडप हुन्थ्यो । त्यो अहिले कम भएर गएको छ,’ नेकपा (एमाले) चितवनकी सहसचिव सूर्यवदना हमालले भनिन् । माओवादी केन्द्रका बाबुराम खरेलले स्वस्थ्य प्रतिस्पर्धा गर्ने क्रम बढ्दै गएको बताए ।

कांग्रेसका भूपतिदास सापकोटाले मतगणनाको चरणलाई पनि संवेदनशील अवस्थाका रूपमा लिनुपर्ने स्थानीय तह निर्वाचनमा भरतपुरमा भएको घटनाले देखाएको बताए । ‘गणना गर्दा जितेको भन्नेले हारेको छ हारेको भन्नेले जितेको छ । हुँदाहुँदा मतपत्र नै च्यातिने जस्ता घटना भए । अब यस्तो नहोस् भनेर सबैले बेलैमा ध्यान दिन आवश्यक भएको छ,’ सापकोटाले भने । 

निर्वाचन खर्च थेग्नै गाह्रो हुने गरेको र आचारसंहिता पालना नगर्ने क्रम बढेकोमा कार्यक्रममा चिन्ता व्यक्त भएको थियो । ‘रक्सी, मासु र साडी मतदाताको घरमा पार्सल नै गरेर पठाउने चलन छ । आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द हुने व्यवस्था रहेछ । कारबाही नै गरेर देखाए बल्ल यो आचारसंहिता उल्लंघन रोकिने थियो । निर्वाचन कम खर्चिलो हुने थियो,’ नेकपा (माले)का सचिव परशुराम लामिछानेले सmुभाव दिए ।

 

चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीस कुलप्रसाद शर्मा तस्बिर ःनागरिक 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App