८ वैशाख २०८१ शनिबार
कला

दीपिका–आलिया व्यापारिक साझेदार

मुम्बई– मनोरञ्जनको दुनियाँमा सफल हिरोइन साथी बन्न गाह्रै हुन्छ । भीडभाडमा गाला जोडे पनि छुटेपछि एक अर्काको उछित्तो काड्न कत्ति पनि पछि पर्दैनन् उनीहरू । बलिउड पनि यस्तो प्रवृत्तिको अपवाद भित्र पर्दैन । तर, पछिल्लो समय बलिउडका चल्तीका हिरोइन दीपिका पादुकोण र आलिया भट्टको मित्रताले यो परम्परालाई चुनौती दिएको छ । दुवैको मित्रता बलिउडमा चर्चाको विषय बन्न थालेको छ । शाहरुख खानले आफ्नो जन्मदिनमा दिएको पार्टीमा दुवैले हालै खिचेको पाउटले बलिउडको गसिप बजार रंगिएको थियो भने दीपिकाले पनि फिल्म ‘पद्मावति’को ट्रेलर तथा गीतको सफलतामा बोलाएका सिमित पाहुनामा आलिया भट्ट पनि समावेश थिइन्।

दीपिका र आलियाले यो व्यक्तिगत सम्बन्धलाई चाँडै व्यवसायिक बनाउन लागेको चर्चा छ । स्रोतका अनुसार दुवैले संयुक्त लगानीमा सौन्दर्य तथा फेसन सम्बन्धि व्यापारमा साझेदारी गर्न लागेका छन् । दुवै अभिनेत्री अहिले यसको तयारी गरिरहेका छन् । उनीहरूको सो व्यापार अनलाइनमार्फत हुने पनि बताइएको छ।

दीपिकाले हालसालै आलियालाई खुला पत्र लेख्दै ‘हाइवे’मा बिना मेकअप पनि सुन्दर देखिएको र सबैभन्दा कान्छी भएर पनि मेहनत गर्ने मामिलामा सबैभन्दा जेठी भएको भन्दै प्रशंसा गरेकी थिइन् । यता आलियाले पनि ‘पद्मावति’ ट्रेलरको प्रशंसा गर्दै पद्मावतिको भूमिकाका लागि दीपिकाको विकल्प नभएको भन्दै दीपिका फिल्ममा साँच्चिकै रानी देखिएको बताएकी थिइन् । तत्काल भने दीपिका फिल्म ‘पद्मावति’को प्रमोसनमा व्यस्त छिन् भने आलिया दीपिकाकै प्रेमी रनवीर सिंहको अपोजिटमा ‘गुली ब्वाइज’ सुटिङको तयारी गरिरहेकी छिन्।

प्रकाशित: २२ कार्तिक २०७४ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App