coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरियाबाट औपचारिक माध्यमबाट पैसा पठाउन गर्भनरको आग्रह

काठमाडौं—नेपाल राष्ट्र बैंककागर्भनर डा.चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन भ्रमण गरेका छन्। जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए।

भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाबारे समेत जानकारी लिएका थिए। अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसँग समेत उनले अन्तरक्रिया गरेका थिए। कोरियामा रहेका नेपालीहरुलाई उनले औपचारिक माध्यमबाट नेपाल रकम पठाउन आग्रह गरेका थिए।

यही विषयलाई लिएर कोरियास्थित नेपाली दुतावासले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उनले अवैध च्यानलबाट कोरियाबाट नेपाल पैसा जाने कार्यलाई रोक्न राष्ट्र बैंक सचेत रहेको बताए। नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागिबैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे। वैदेशिक रोजगारीको शिलशिलामा कोरिया लगायत अन्य मुलुकमा रहेका नेपालीले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्नेसम्मको चेतावनी उनले दिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका राजदूत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले सहकार्य गर्ने बताए। कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवा दिँदै आएको जानकारी गराए। शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिन नसकेको भन्दै अबदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवादिन सक्ने उल्लेख गरे।
 

प्रकाशित: २२ कार्तिक २०७४ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App