८ वैशाख २०८१ शनिबार
अर्थ

‘स्काई डाइभ खेल ओझेलमा’

काठमाडौं- नेपालमा आठ हजारभन्दा अग्ला हिमालबाट खेलिने साहसिक खेल ‘स्काई डाइभ’को प्रचूर सम्भावना हुँदाहुँदै पनि यसको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन्। विश्वमा हिमाली देशको रुपमा चिनिएको नेपालमा स्काई डाइभको अन्तराष्ट्रिय तहमा सरकारले प्रवद्र्धन गर्न नसकेको उनीहरुको भनाइ छ।

राजधानीमा मंगलबार १०औं स्काई डाइभ दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल पर्वतारोहण संघका (एनएमए) अध्यक्ष सन्तवीर लामाले विश्वलाई आकर्षण गर्न सक्ने प्राकृतिक सौन्दर्य हिमाल हुँदा पनि स्काई डाइभ विधामा फड्को मार्न नसकेको बताए । ‘आठ हजारभन्दा अग्ला हिमाल १५ वटा छन् । यसमा विश्वकै साहसिक खेल स्काई डाइभ गर्न सकिन्छ । यसका लागि राज्यले नयाँ नीति र नियम ल्याउन जरुरी छ,’ अध्यक्ष लामाले भने, ‘निजी क्षेत्रले जसरी प्रयास गरिरहेको छ, यसलाई सरकारले सहज ढंगबाट सकारात्मक नतिजा आउने गरी सहयोग गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय स्काई डाइभका प्रोफेसरहरु आएका छन् । उनीहरुबाट सल्लाह लिएर यो विषयमा सामूहिक छलफल गरौं।’

उनका अनुसार नेपालमा प्यारा ग्लाइडिङ, र्‍याफ्टिङ, ट्रेकिङ, जंगल सफारी जस्ता बिधा नेपालको साहसिक खेलको प्रवद्र्धनमा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्नुपर्ने बताए । निजी क्षेत्रले यी खेलहरुको प्रवद्र्धन गर्दै विश्वका पर्यटन नेपाल भित्र्याउने काम गरेको अध्यक्ष लामाको भनाइ छ ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका (टान) अध्यक्ष नवराज दाहालले नेपालमा पर्यटक आकर्षित गर्ने साहसिक खेलमध्ये स्काई डाइभ भएको बताए। १०औं स्काई डाइभ दिवस मनाइरहँदा नेपालमा यो सुरुवाती चरणमा रहेको उनले बताए। ‘विश्वमा जवसम्म नेपालको साहसिक खेलको प्रवद्र्धन गर्न सकिँदैन तबसम्म स्काई डाइभ खेल ओझेलमा रहन्छ,’ उनले भने, ‘अब संघीय संरचना अनुसार पर्यटन क्षेत्रको प्रवद्र्धन नीति आवश्यक छ।’

कार्यक्रममा नर्भिक इन्टरनेसल हस्पिटलका सञ्चालक वसन्त चौधरीले नेपालको पर्यटन प्रवद्र्धनका लागि विगत एक दशकदेखि स्काई डाइभ दिवस मनाउँदै आएको बताए । नेपालको एभरेस्ट क्षेत्रको प्रचारप्रसार गर्न स्काई डाइभ जस्ता खेललाई राज्यले नै वार्षिक कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने बताए । 

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्र देवले साहसिक खेल स्काई डाइभको प्रवद्र्धन गर्न नीतिगत रुपमा अप्ठेरो विषयलाई फुकाउने बताए । ‘यहाँका तराई, पहाड र हिमाल नै पर्यटकको पहिलो आकर्षण हो, ‘उनले भने, ‘भाषा, कला, संस्कृति र रितिरिवाज पनि पर्यटनको मुख्य आधार हो ।’

नर्भिकले आयोजना गरेको कार्यक्रममा आठजना विदेशी स्काई डाइभ खेलाडीलाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले सम्मान गरेका थिए । मोरक्कोको व्यावसायिक स्काई डाइभ खेलाडी एनास बेकाली सहित विभिन्न देशका स्काई डाइभ खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने विदेशी र स्वदेशी खेलाडीमा थोम नुनान, विथ स्मिथ, ओमन अल गेलन, पल हेन्री दि वेरी, र्‍यायन ज्याक्सन, टेड अटकिन्स, ग्रिक राव, रोज म्याक्सवेल, म्याथ्यु एन, सुजिता साही, विवेक पाण्डे, नविन गुरुङ थिए ।

स्काई डाइभ खेल टोलीका संयोजक एनास वेकमले नेपालमा अहिलेसम्मकै आनन्ददायी डाइभ गरेको बताए । ‘विश्वका अन्य देशमा गरिएको स्काई डाइभभन्दा नेपालको डाइभ साहसिक लाग्यो । नेपालमा खेल्न सजिलो छ,’ उनले भने ।

उक्त टोलीको व्यवस्थापक नविन गुरुङले नेपालमा स्काई डाइभ मात्रै नभएर जंगल, पहाड, गाउँमा विदेशी स्वयंसेवी पर्यटक ल्याउन सकिने बताए। ‘नेपालमा धेरै सम्भावना छ । तर, व्यवस्थापनका लागि सरकारसँगै निजी क्षेत्र तयार हुनुपर्छ,’ उनले भने।

 

प्रकाशित: २२ कार्तिक २०७४ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App