८ वैशाख २०८१ शनिबार
अर्थ

चार युवा साउदीमा अलपत्र

काठमाडौं- गएको साउन तेस्रो सातादेखि उदयपुर, रामपुर–९ ठोकसिलाकी सरस्वती रेग्मीलाई एक छिन फुर्सद छैन ।
एकाएक उनी व्यस्त हुनुको कारण वैदेशिक रोजगारी भइदिएको छ । रोजगारीका लागि साउदी अरेबिया पुगेका भाइ उतै अलपत्र परेपछि उद्धारका लागि हारगुहार गर्दैमा उनको व्यस्तता बढेको हो ।
‘कमाउन गएको भाइ जब अलपत्र परेको खबर पाएँ, त्यसपछि उद्धारका लागि खटिरहेकी छु,’ बुधबार उनले नागरिकसँग भनिन्, ‘जति पनि निकायसँग सहयोगको याचना गर्दा कुनै उपलब्धि हुन सकेको छैन ।’ २०७३ को वैशाख १६ गते इमास्को मेनपावरलाई ७५ हजार रुपैयाँ बुझाएर साउदी उडेका बाबुराम रेग्मीले सुरुदेखि नै काम नपाएको सरस्वतीले बताइन् ।
‘साउदी पुगेदेखि नै रोजगारदाताले काम दिएको रहेनछ,’ सरस्वतीले भनिन्, ‘काम पाउन भाइले गरेका कैयन प्रयास असफल भएपछि गत साउनदेखि बस्नै नसकेपछि अवस्था सिर्जना भएको खबर पायौं । सोही खबर पाएपछि उद्धारका लागि हारगुहार थालेका छौं ।’
विभिन्न जिल्लाका १७ जना युवा उडाएको मेनपावरले समेत उद्धारमा चासो नदिएको उनको भनाइ छ । बाबुरामसँगै साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको भन्दै रोजगारदाताविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दा लम्बिँदै जाँदा आत्तिएका युवाले मुद्दा फिर्ता लिएपछि नेपाली दूतावास, रोजगारदाता कम्पनीलगायत उनीहरूलाई घर फर्काउन तयार भएका थिए । सोही सम्झौताअनुसार १३ जना अघिल्लो साता नेपाल फर्के पनि चार जना भने साउदीमै रोकिएको सरस्वतीले बताइन् ।
‘मेरो भाइ बाबुराम लगायत चार जनालाई साउदी विमानस्थलबाट नेपाल आउन दिइएन,’ उनले भनिन्, ‘न भाइले कुनै अपराध गरेको छ । न घर फर्कन नदिनुको कारणबारे जानकारी दिइएको छ ।’
साउदीमा अलपत्र पर्नेमा उदयपुरका बाबुरामसहित काभ्रेका भरत राना, धादिङका हर्कबहादुर तामाङ र सुनसरीका रमेशकुमार श्रेष्ठ छन् । उनीहरूले साउदीको जेद्दास्थित नियोगमा सरण लिइरहेका छन् । नियोगका अधिकारीले घर फर्काउने प्रयास भइरहेको जानकारी दिए पनि कहिले आउँछन् भन्ने बारे एकिन नभएको सरस्वतीले बताइन् ।

 

प्रकाशित: २३ कार्तिक २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App