८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ७ : ‘हेभिवेट’ बीच रोचक प्रतिस्पर्धा

धनगढी- प्रदेश नम्बर ७ का केही निर्वाचन क्षेत्रमा हुने रोचक प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, एनपी साउद, ईश्वरी न्यौपाने, रामजनम चौधरी, वीरबहादुर बलायर तथा एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्ट प्रदेश ७ का निर्वाचन क्षेत्रमा मैदानमा छन् ।  

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा २०४८ सालदेखि लगातार ५ पटक चुनाव जित्दै आएका छन् ।
१ मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवाले आगामी मंसिर २१ गने हुने निर्वाचनमा वाम गठबन्धन भएका बेला आफ्नो बिरासत जोगाउन सक्लान् ? यस्तै अडकलबाजीले माहोल तातेको छ । देउवासँग वाम गठबन्धनबाट माओवादीका केन्द्रका प्रभावशाली युवा नेता खगराज भट्ट चुनावी मैदानमा छन् । भट्ट २०६४ सालदेखिका देउवाका प्रतिद्वन्द्वी हुन् । उनी तेस्रो पटक देउवासँग चुनावी मैदानमा भिड्दैछन् ।
माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै हँुदा देउवालाई टक्कर दिएका भट्ट अहिले वाम गठन्धन भएकाले विगतभन्दा बलियो प्रतिस्पर्धी मानिएका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको पाएको भन्दा वाम गठबन्धनले पाएको मत करिब साढे ८ हजार बढी छ । २०७० को संविधानसभा निर्वाचनमा  देउवाले २३ हजार ९ सय २० मत प्राप्त गरे । भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए । यस्तै एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाए ।
२०६४ सालमा भट्ट देउवासँग १३ सय ६८ मतको झिनो अन्तरले मात्र पराजित भएका थिए । देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । एमाले उम्मेदवार विक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए । देउवा र भट्टबीच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

आरजु र नारदमुनि
    गत संविधानसभा चुनावका बेला शेरबहादुर देउवाले चुनाव लडेको प्रदेश ७ को एकमात्र उपमहानगरपालिका रहेको कैलाली क्षेत्र नम्बर ५ पनि अहिले चर्चामा छ । पहिलेको क्षेत्र नम्बर ६ रहेको धनगढी उपमहानगरपालिका तथा कैलारी गाउँपालिकाका दुईवटा वडा समेटिएर क्षेत्र नम्बर ५ बनाइएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा मैदानमा भएकाले यो क्षेत्रले चर्चा पाएको हो ।
यसअघिको संविधानसभा चुनावमा समानुपातिक कोटावाट सभासद् बनेकी आरजु पहिलोपटक  निर्वाचन लडेकी हुन् ।
उनीसँग वाम गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना प्रतिस्पर्धामा छन् । राना २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवाले क्षेत्र नम्बर ६ मा चुनाव जितेका थिए । उनले यो क्षेत्र छोडेपछि उपनिर्वाचनमा पनि कांग्रेसका पुष्करनाथ ओझाले चुनाव जितेका थिए । वाम गठबन्धन हुनु र नारदमुनि बलिया उम्मेदवार भएकाले यहाँ पनि रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दुवै उम्मेदवारले प्रचारप्रसार तीव्र पारेका छन् । यस क्षेत्रमा कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारी विवेकशील साझा पार्टीबाट चुनावी मैदानमा छन् । उनले ल्याउने मतले पनि चुनावी नतिजामा असर पार्ने विश्लेषण गरिएको छ ।

भीम रावल र भरतकुमार स्वाँर
एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् । उनीसँग कांग्रेसका भरतकुमार स्वारले प्रतिस्पर्धा गर्नेछन् । स्वाँर अछाम कांग्रेसका सभापति तथा पूर्वजिविस सभापति हुन् । रावल एमालेका यस प्रदेश नम्बर ७ का शीर्ष नेता भएकाले यो क्षेत्र पनि चर्चामा छ ।
लेखराज र भण्डारीसँग
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका यस क्षेत्रका शीर्ष तथा प्रभावशाली नेता लेखराज भट्ट चुनाव लड्दैछन् । उनीसँग कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनिल भण्डारी चुनावी मैदानमा छन् । संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ५ बाट विजयी भट्ट संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए ।
गोदावरी र गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ लाई समेटेर क्षेत्र नम्बर ४ बनाइएको छ । स्थानीय निर्वाचनमा यहाँका सबै तह एमालले जितेको थियो । स्थानीय तहको चुनावका बेला कांग्रेसमा चरम विवाद थियो । बढी जनसंख्या रहेको अत्तरिया क्षेत्र (गोदावरी नगरपालिका) कांग्रेस पकड मानिन्छ  । क्षेत्र नम्बर ४ मा भट्ट र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ ।
रामजनमका प्रतिस्पर्धी गौरीशंकर
    सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ बाट शेरबहादुर देउवापछि कहिल्यै पराजय नभोगेका अर्का नेता रामजनम चौधरी हुन् । २०४८, २०५१, २०५६ मा कांग्रेसबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा उनले चुनाव जितेका हुन् । विजय गच्छदारको पार्टीमा प्रवेश गरेर उनी २०६४ सालमा समानुपातिक कोटाबाट  सभासद् चुनिए । अहिले उनी नेपाली कांग्रेसबाट कैलाली ३ मा उठेका छन् ।
वाम गठबन्धनबाट गत संंविधानसभा निर्वाचनमा यही क्षेत्र (तत्कालीन क्षेत्र नम्बर ४) बाट विजयी माओवादी नेता गौरीशंकर थारूलाई उम्मेदवार बनाएको छ ।  यहाँ रामजनम र गौरीशंकरबीच कडा प्रतिस्पर्धा हुने भएको छ । तत्कालीन क्षेत्र नम्बर ३ बाट विजयी रामजनम चौधरीको बलियो प्रभाव रहेको जोशीपुर र भजनीका दुईवटा वडा अहिले क्षेत्र नम्बर १ मा गाभिएका छन् । लोकतान्त्रिक फोरमका सह संयोजक रहेका भानुराम चौधरी पनि संघीय फोरमबाट यहाँ चुनावी मैदानमा छन् ।

रमेश लेखकसँग दीपकप्रसाद भट्ट
    नेपाली कांगे्रसका नेता रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ र अर्का नेता एनपी सावद कञ्चनपुरकै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन लड्दै छन् । लेखकसँग वाम गठबन्धनबाट एमालेका युवा नेता डा. दीपकप्रकाश भट्ट प्रतिस्पर्धामा छन् ।  भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्ट तत्कालीन सेना समायोजन समिति सदस्य हुन् । क्षेत्र नम्बर २ बाट कांग्रेस नेता साउद चुनावी मैदानमा छन् । उनले एमालेका युवा नेता नरबहादुर धामीसँग प्रतिस्पर्धा गर्दैछन् ।

डोटीमा वीरबहादुर बलायर र प्रेम आले भिड्दै
डोटीमा कांग्रेसका नेता तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायर र एमाले डोटीका प्रभावशाली नेता प्रेमबहादुर आलेबीच प्रतिस्पर्धा हुँदैछ । गत संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर २ प्रेम आले विजय भएका थिए भने क्षेत्र नम्बर १ वाट वीरबहादुर बलायर विजय भएका थिए । दुई क्षेत्र मिलाएर डोटी निर्वाचन क्षेत्र १ बनाइएको छ ।

कैलाली १ मा महिला नेत्रीबीच प्रतिस्पर्धा
    कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वसचेतक ईश्वरी न्यौपाने र एमाले केन्द्रीय सदस्य गरिमा शाहबीच प्रतिस्पर्धा हुँदैछ ।
राठोर र रावल भिड्दै
कैलाली क्षेत्र नम्बर २ मा एमाले पार्टी परित्याग गरेका मोहनसिंह राठोरलाई कांग्रेसले उम्मेदवार बनाएको छ । एमालेबाट टिकट नपाएपछि असन्तुष्ट रहेका राठोरलाई कांग्रेसले उम्मेदवार बनाएको हो । उनीसँग एमालेका कैलाली पार्टी इन्चार्ज झपट रावल मैदानमा छन् । संविधानसभा चुनावअघिको अन्तरिम सरकारमा राठोर शिक्षा राज्यमन्त्री थिए भने रावल उनका पिए थिए । अहिले एमालेमा राठोरलाई पछि पार्दै उनले टिकट पाएका हुन् ।

 

प्रकाशित: २३ कार्तिक २०७४ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App