coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

साँच्चीकै लौहपुरुष

गणेशमान सिंहको पारिवारिक पृष्ठभूमि शिक्षित, सम्भ्रान्त र दरबारसँग नजिक थियो । अल्पायुमा नै मृत्यु भएका पिताजी ज्ञानमान सिंह तथा काका गोविन्दमान सिंह दुवैजना त्यो जमनामा सुब्बा दर्जाका कर्मचारी थिए । त्यसैगरी गणेशमान सिंहका अर्का काका गञ्जमान सिंह सरदार थिए भने झन् अर्का काका तीर्थमान सिंह मिरसुब्बा दर्जाका कर्मचारी थिए । त्यस्तै प्रकारले गणेशमान सिंहका बाजे हरिमान सिंह खरिदार दर्जाका कर्मचारी थिए भने जेठा बाजे रत्नमान सिंह बडाकाजी थिए । फेरि उनका बूढाबाजे जीतमान सिंह चाहिँ डिठ्ठा भएका थिए । यसरी गणेशमान सिंहको पारिवारिक पृष्ठभूमि हेर्दा उनका सबै बूढाबाजे, जेठाबाजे, बाजे, पिता तथा काकासमेत शिक्षित भएका र त्यो जमानाका उच्च दर्जाका कर्मचारी भएर सरकारको सिन्दुर पहिरिएका हुनाले कुलीन र सम्भ्रान्त परिवार भएको देखिन्छ ।
गणेशमान सिंहका पिताजीको २८ वर्षको अल्पायुमा मृत्यु भएको र आफ्नै पट्टिका बाजे खरिदार हरिमान सिंहको पनि ३३ वर्षको उमेरमा मृत्यु भएकाले गणेशमान सिंहको रेखदेख र शिक्षा–दीक्षाको अभिभारा उनका अर्का बाजे बडाकाजी रत्नमानमाथि परेको थियो । गणेशमान सिंहकी आमा २४ वर्षको कल्कलाउँदो उमेरमा विधवा भएकी थिइन् भने उनकी आफ्नैतर्फकी बज्यै पनि २७–२८ वर्षको उमेरमा विधवा भएर बस्नुपरेको थियो । यसरी विधवा आमा र विधवा बज्यैको काखमा हुर्केका गणेशमान सिंहले कसैलाई नटेर्ने, गुच्चा, डन्डिबियो खेल्नेदेखि लिएर आफ्ना टोल–छिमेकका तल्लोस्तरका हुल्याहा केटाहरूलाई लिएर पौडी खेल्ने, चराचुरुङ्गीको सिकार खेल्ने, आफ्नो घरको रुपियाँ–पैसा चोरेर आफूसँग हिँड्ने साथीहरूलाई मिठाइ, चुरोट, बिँडी खुवाउने, तास खेल्नेजस्ता काममा हिँड्न थालेको थाहा पाएर काका तीर्थमान र बाजे रत्नमान सिंहसमेतको करकाप र धाकले गणेशमान सिंहलाई दरबार स्कुलमा पाँच कक्षामा भर्ना गरिएकामा ६ कक्षामा पढ्दै गरेको समयमा आफ्नै स्कुलका साथी राणाजीका छोरासँग झगडा गरेर पढ्न छाडेका गणेशमान सिंहलाई उनका बाजे रत्नमानले कमान्डर–इन–चिफ रुद्रशमशेरको दरबारमा रेहको मुलुकी अड्डामा बहिदार पदमा नोकरी लगाइदिएका थिए । दरबार स्कुलमा कक्षा ६ मा पढ्दै गरेका गणेशमान सिंह सोही स्कुलका एकजना राणा विद्यार्थीलाई पिटेपछि स्कुल जान छाडी आफ्नै घरको ढुकुटी फोरेर मुलुकी अड्डाको बहिदारको नोकरी छाडेर भारतको कलकत्तातिर भागेका थिए ।
    विसं १९९५ सालमा कलकत्तताबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा पासगरी कलकत्तामा नै आइएस्सी पढ्न थालेका गणेशमान सिंहले पहिलेदेखि नै नेपालका शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठबारे धेरै कुरा सुनेका र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र खासगरी पटनाबाट प्रकाशित हुने समाजवादी पत्रिकामा उनीहरूले नेपालबाट एकतन्त्रीय राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्नुपर्छ भनी गरेका कार्यबारे लेखिएका समाचार पढेर उनीहरूप्रति आकर्षित भएका गणेशमान सिंहलाई एकदिन कलकत्तामा नै शुक्रराज शास्त्रीलाई भेट्ने मौका मिल्यो । भेटको अवसरमा शुक्रराज शास्त्रीबाट गणेशमान सिंहले पाएको धार्मिक, राजनीतिक र सामाजिक प्रेरणाले नेपालमा आएर आन्दोलन गरी प्रजातन्त्र ल्याउने प्रण गरेका थिए । त्यसपछि नेपालमा आएको समयमा काठमाडौँको इन्द्रचोकमा शुक्रराज शास्त्रीको धार्मिक प्रवचन र गंगालाल श्रेष्ठको राजनैतिक भाषणबाट प्रभावित भएर कलकत्ताको आइएस्सीको पढाइ छाडेर नेपालबाट एकतन्त्रीय राणाशासन खत्तम गरी प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्दै आन्दोलित जीवन बिताउन थाले ।
    राणाहरूको एकतन्त्रीय शासन अन्त्य गरी प्रजातन्त्र ल्याउन भनी काठमाडौँमा नै अत्यन्त गोप्यरूपले आर्यसमाज, प्रचण्ड गोर्खा, नेपाल नागरिक अधिकार समिति, प्रजापञ्चायत, नेपाल प्रजापरिषद्जस्ता पार्टीहरू खुलेका थिए । ती गोप्यरूपले खोलिएका पार्टीहरूको मुख्य काम चाहिँ गोप्यरूपले राणा विरोधी पर्चा तयार गरेर रातारात सहरभरि छरेर जनतालाई सुसूचित पार्नु थियो । त्यसै गरी ठाउँठाउँमा धार्मिक प्रवचन दिने व्यवस्था गरी महाभारत, रामायण, गीताको माध्यमबाट जनतालाई स्वतन्त्रता चाहिन्छ, दबाबमा राख्नु हुँदैन भन्ने खालका प्रवचनमार्फत जनतालाई स्वतन्त्रताको प्रचार गरिन्थ्यो । यसरी गोप्यरूपले खोलिएका संगठनमध्ये नेपाल प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्य थिए भने त्यसका अन्य सदस्यहरूमा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, गोविन्दप्रसाद उपाध्याय, पुस्करनाथ उप्रेती, हरिकृष्ण श्रेष्ठ आदि थिए । रातारात सडकमा छरिएका प्रचाहरू पढ्दा नेपाल प्रजापरिषद् एउटा जुधारू र क्रान्तिकारी संगठन भएको कुरा बुझेर गणेशमान सिंहले उक्त संगठनका कार्यकर्ताहरूलाई भेटेर, उनीहरूसँग मिलेर आफूले पनि नेपाल प्रजापरिषद्को सदस्य भएर राणा विरोधी काम गर्ने इच्छाले महिनौँसम्म उक्त संगठनको खोजीमा हिँडिरहे । नेपाल प्रजापरिषद् गोप्य संगठन भएकाले यसको साइनबोर्ड भएको कार्यालय नहुने र उक्त संगठनका कार्यकर्ताले आफू कार्यकर्ता भएको कुरा अरूलाई नभन्ने हुनाले प्रत्येक दिन गणेशमान सिंहले राजा त्रिभुवनका व्यायाम शिक्षक तथा नेपाल प्रजापरिषद्का सक्रिय संस्थापक कार्यकर्ता धर्मभक्त माथेमाको घरमा गएर शारीरिक व्यायाम सिक्ने गरे तापनि गणेशमान सिंहले धर्मभक्त माथेमालाई नेपाल प्रजापरिषद्को सदस्य भएको कुरा महिनौँको उठबसपछि मात्र थाहा पाएर धर्मभक्त माथेमाले गणेशमान सिंह र गंगालाल श्रेष्ठलाई एकैचोटि भगवती बिजेश्वरीको मन्दिरमा गएर देवीको पाउ छोएर आफ्नो प्राणै जाने अवस्था आए पनि अरूलाई दोष नदिने शपथ खाएर नेपाल प्रजापरिषद्को सदस्य बनाएका थिए ।
    यही नेपाल प्रजापरिषको सक्रिय कार्यकर्ता भएर राणा विरोधी काम गरेबापत टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठहरू पक्राउ परेजस्तै गणेशमान सिंह पनि पक्राउ परी सिंहदरबारभित्र कालिबहादुर गणको ब्यारेकमा थुनिए । कस्तो विडम्बना भने गणेशमान सिंहका बाजे बडाकाजी रत्नमान सिंह सरकार विरोधी (राणा विरोधी) काम गरेबापत पक्राउ परेकाहरूको सजायको फैसला सुनाउँदै भारदारका रूपमा एकातर्फको उच्च आसनमा बस्न परेको थियो भने उनकै नाति गणेशमान सिंह चाहिँ सजाय पाउने कैदीका रूपमा अर्कातर्फको आसनमा बस्नुपरेको थियो । आफूजस्तै सम्मानित व्यक्ति बनाउने सोचले बडाकाजी रत्नमान सिंहले नाति गणेशमान सिंहलाई राणाहरूका मात्र छोराछारीहरूलाई पढ्न पाउने दरबार स्कुलमा भर्ना गराएका र पछि मुलुकी अड्डाको बहिदारको नोकरीमा लगाइएका नाति गणेशमान सिंहलाई अहिले यसरी सजायको भागिदार हुने कैदीका रूपमा देख्दा बडाकाजी रत्नमान सिंहको मन कस्तो भयो होला ? र आफ्ना बाजे रत्नमान सिंहलाई देख्दा कैदीका रूपमा रहेका गणेशमान सिंहको मन कस्तो भयो होला ?
भद्रगोल जेलको कालकोठरीमा बसेका अन्य कैदीहरूले आफ्नो निश्चित अवधिको कैदको सजाय अथवा आजीवन कैदको सजाय भुक्तानी गरिरहेका थिए भने गणेशमान सिंहले चाहिँ जेलभित्रबाट सुरुङ खनेर भाग्ने प्रयास असफल भएपछि जेलको १२ फिट अग्लो पर्खाल नाघेर भागी राणा सरकारको विरोधमा अभियान चलाउने इच्छाले जेलका पाले तथा सुरक्षाकर्मीको आँखा छलेर जेलको पर्खाल चढेर भाग्ने प्रयत्नमा तल्लीन रहिरहन्थे । तँ आँट म पु¥याउँला भन्ने उखानकै भरोसामा लगातार चार वर्षसम्म जेलको पर्खालमाथि चढेर जेलभित्र बस्ने पाले, सुरक्षाकर्मी, जेलको पर्खालको माथि बुर्जामा बन्दुक लिएर बस्ने सुरक्षाकर्मी तथा जेलको पर्खालको बाहिर वरिपरि बन्दुक लिएर घुमिरहने सुरक्षाकर्मीको आँखा छलेर भाग्न सक्ने गणेशमान सिंह साँच्चिकै वीर र लौहपुरुष थिए । किनभने जेलभित्र रहेको समयमा जेलको पर्खालको सिरानमा अड्कने फलामको छडको हुक बनाई सरकारले हरेक वर्ष कैदीलाई दिने पटुकाको कपडा संकलन गरेर त्यही हुकमा बाँधेर हातहतियारसहित जेलभित्र बस्ने, जेलको पर्खालको माथि बुर्जामा बस्ने र जेलको बाहिरी भागमा डुलिरहने सुरक्षाकर्मीहरू निदाएको मौका पारेर, चकमन्न अँध्यारो भएको औँसीको रातमा आफूले फलामको हुक जेलभित्रबाट १२ फिट अग्लो पर्खालको सिरानमा फालेर त्यो हुक अड्किएपछि हुकमा बाँधेर झुन्ड्याएको पटुकाको सहारामा माथि चढेर पर्खालको सिरानमा पुगी त्यही हुकलाई पर्खालको बाहिरी भागतर्फ झुन्ड्याएर डोरीको रूपमा झुन्ड्याइएको पटुकाको सहारामा जेलको पर्खाल बाहिर पुगेर भाग्न सफल हुनु सामान्य कैदीहरूले मात्र होइन, चतुर भनी नाम कहलिएका कैदीहरूले पनि गर्न सकेका थिएनन् ।
    गणेशमान सिंह जेलको पर्खाल नाघेर बाहिर निस्कन सफल भई सुइँकुच्चा ठोकेर भाग्न लाग्दा त्यहाँ घुम्ने र फर्खालको माथि बुर्जामा बस्ने हतियारधारी सुरक्षाकर्मीले देखेको भए गणेशमान सिंहको जीवन त्यहीँ अन्त्य हुने थियो । गणेशमान सिंहलाई सबै सुरक्षाकर्मीको आँखा छलेर जेलको १२ फिट अग्लो पर्खाल आफ्ना खुट्टामा लगाइएका नेलसहित नाघेर बाहिरी संसारमा आउनु उनको चातुर्य, रणकौशल र साहसले साथ दिएपछि बाहिर जमिनमा ओर्लेर भाग्न लाग्दा त्यहाँ नजिकै एउटा गाई चरिरहेको रहेछ । त्यतिबेला गणेशमान सिंह चार हातखुट्टा टेकेर गाईको बाच्छाजस्तै भएर गाईको पछिपछि जान थाले । तर गाई भने डराएर पुच्छर उचालेर भाग्न थाल्यो र गणेशमानले पनि आफ्नो माउलाई पछ्याएजस्तै गरेर चार हातखुट्टा टेकेर गाईको पछिपछि दौडेर जाँदा भद्रगोल जेलको परिसरभन्दा टाढा पुग्न सफल भए । यिनै साहसिक कार्यले गर्दा गणेशमान सिंहलाई लौहपुरुष भनेर अमर बनाएको छ । १९७२ कात्तिक २४ गते जन्मेका गणेशमान सिंहलाई हार्दिक श्रद्धाञ्जलि ।  

(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन्)

प्रकाशित: २४ कार्तिक २०७४ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App