८ वैशाख २०८१ शनिबार
कला

एकलकाँटे अनुष्का

मुम्बई- दिनदिनैजसो बलिउडमा मित्रता र दुश्मनीका खबर आइरहेका हुन्छन् । तर, मित्रता टुट्ने र जोडिने समाचारमा अनुष्का शर्माको नाम भने विरलै उल्लेख हुने गर्छ किनभने अनुष्काका न कोही साथी छन् न शत्रु नै । अनुष्काले हालै एक पत्रिकामा दिएको अन्तर्वार्तामा सो कुरा बताएकी हुन् ।
‘बलिउडमा मेरो कोही पनि साथी छैनन् । भेटेको बेला सबैसँग हाइ हेल्लो हुन्छ । म उनीहरूलाई सम्मान पनि गर्छु तर मेरो स्वभावैले एकलकाँटे छ,’ उनले भने । उनले बच्चादेखि नै आफू एक्लै रमाउने स्वभाव भएको र आफ्ना कुरा विरलै अरुलाई भन्ने गरेको पनि बताएकी छिन् ।
मनोरञ्जनको दुनियाँ सोअप गर्ने दुनियाँ हो । पार्टी गर्नु र पार्टीमा जानु बलिउड अभिनेत्रीको दैनिक अंग नै हो । तर, यस्ता पार्टीमा पनि अनुष्कालाई विरलै देख्न पाइन्छ । उनले पार्टीको माहोल पनि आफूलाई फिटिक्कै मन नपर्ने बताइन् ।
‘साथीहरूको मन राख्न भनेर म कहिलेकाहीं पार्टीमा जान्छु तर पार्टीको चर्को संगीत र वातावरणमा समय बिताउन एकदमै कठीन हुन्छ । पार्टीबाट फर्केर आएपछि एकदमै थाकेको महसुस गर्छु । बरु यो समयमा मलाई आफ्नो भूमिकाको तयारी गर्न र त्यो नभए टिभी वा पुस्तक पढ्न मन लाग्छ,’ अनुष्काले भनिन् । उनले पछिल्ला तीन वर्षमा कामको चापले अरु केहीका लागि समय नभएको पनि बताइन् । ‘विगत तीन वर्षयता मैले एक दिन पनि फिल्मबाट फुर्सद पाएकी छैन । सुटिङबाट फुर्सद नै भयो भने पनि म परिवारसँग समय बिताउन रुचाउँछु,’ उनले भनिन् ।
अनुष्काले फिल्मभन्दा अरुका लागि समय नभएको बताइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले खेलेको ठाउँ पुग्ने समय भने निकाल्ने गरेकी थिइन् । विराट र अनुष्काले आउँदो डिसेम्बरमा विवाह गर्न लागेको चर्चा पनि छ । यसका लागि अनुष्काले फिल्मबाट र विराटले खेलबाट बिदा मिलाइसकेको चर्चा छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App