८ वैशाख २०८१ शनिबार
अर्थ

लुम्बिनी भ्रमणसँगै रेलमार्गको स्थलगत अध्ययन सकियो

काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बिहीबार भैरहवा–लुम्बिनी क्षेत्रको अध्ययनसँगै तीन दिनको स्थलगत भ्रमण सकाएको छ । केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोलीले अन्तिम दिन लुम्बिनी क्षेत्रमा रेलमार्ग बन्ने ठाउँको अवलोकन गरेको हो ।
दुई देशका अधिकारीको संयुक्त टोलीले बिहीबार भैरहवा क्षेत्रमा पुगेर पोखरा–लुम्बिनी रेलमार्गको अध्ययन गरेको स्थलगत अध्ययनमा सहभागी रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । उक्त क्षेत्रको भ्रमणपछि टोली बिहीबार नै काठमाडौं फर्किसकेको छ ।
यसअघि केरुङ–काठमाडौं, काठमाडौं–पोखरा रेलमार्ग बन्ने क्षेत्रको स्थलगत अध्ययन गरिसकेको चिनियाँ टोलीसँग शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्तिम चरणको बैठक हुँदैछ । तीन दिनसम्मको स्थलगत अध्ययनबाट आएको निचोडमाथि शुक्रबारको बैठकमा छलफल हुन सक्ने विभागले जनाएको छ ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको २३ सदस्यीय चिनियाँ टोलीलाई बेइजिङले नेपालमा बनाउने भनिएको रेलमार्गको अध्ययन गर्न पठाएकाले उनीहरूले आफ्नो स्थलगत अध्ययनको अन्तिम रिपोर्ट चीन सरकारलाई बुझाउने रेल विभागका अधिकारीको भनाइ छ ।
उनीहरूले स्थलगत अध्ययनमा देखिएका तथ्य र यहाँका अधिकारीसँगको छलफलबाट आएको विषयवस्तु, तथ्यांक लगायतको प्रतिवेदन आफ्नो सरकार समक्ष प्रस्तुत गर्ने नेपाली अधिकारीको भनाइ छ । टोलीको रिपोर्टिङपछि दुई सरकारबीचको आपसी समझदारीमा थप छलफल, लगानी, सम्झौता लगायत विषय अघि बढ्ने जनाइएको छ ।   
बिहीबार लुम्बिनी पुगेको टोलीले काठमाडौंबाट पोखरा हँुदै बुटवल लैजाने कि मुग्लिन क्षेत्रबाट छुटाएर पोखरा र बुटवलका दुई रुट बनाउने भन्ने विषयमा निक्र्यौल गर्न सकेको छैन । उनीहरू बुटवल लैजाने रुटबारे थप अध्ययन गर्दैछन् ।
बुधबार टोलीले काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको थियो । पोखरा भ्रमणबाट चिनियाँ रेल नेटवर्कका अधिकारीहरू सकारात्मक देखिएको नेपाली पक्षको भनाइ छ । टोलीले पोखराको साराङकोट लगायत विभिन्न ठाउँ घुमेको थियो ।
सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।  मुग्लिन हँुदै बुटवलतिरको रुट भने झन्डै एक सय ३० किलोमिटर हुनेछ ।
संयुक्त टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको थियो । केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको लम्बाइ झन्डै सय किलोमिटर हुनेछ ।  
तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । पूर्वअर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो ।
अहिलेको भ्रमणपछि चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने बताएको छ । उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीमा चीनको परराष्ट्र र यातायात मन्त्रालय, नेसनल डेभलपमेन्ट कमिसन, नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिसमेत छन् । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ ।  

प्रकाशित: २४ कार्तिक २०७४ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App