६ वैशाख २०८१ बिहीबार
अन्य

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रलाई छोएका छन् । क्षेत्र– १ ले भने काठमाडौंका कुनै पनि ग्रामीण क्षेत्रलाई छुँदैन। क्षेत्र– १ का सबै मतदाता सहरी भएकाले उनीहरूमा राष्ट्रिय राजनीतिको ज्ञान अन्यत्रभन्दा धेरै छ । यस क्षेत्रका मतदाताले ठुल्ठूला स्थानीय समस्या नभोगेका होइनन्, तर यसपालिको निर्वाचनमा भने राष्ट्रिय अजेन्डा हेरेर भोट हाल्ने मनस्थितिमा उनीहरू छन्।

‘अहिलेसम्म धेरैका कुरा सुन्याँै तर काम गर्ने कोही देखिएन,’ त्रिपुरेश्वरकी गोमा गौतम भन्छिन्, ‘अब कुरा होइन, काम गर्ने नेता चाहिएको छ ।’ आफ्नो व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थ ठूलो भएको उनको बुझाइ छ । गौतमले जनताका अपेक्षा पूरा गर्न सक्नेलाई भोट दिने बताइन्। बारम्बार सरकार परिवर्तन र राजनीतिक खिचातानीले मुलुक कमजोर भएको उनले बताइन् । ‘अब मुलुकमै रोजगार सिर्जना हुनुपर्छ,’ उनी भन्छिन्, ‘हाम्रा छोराछोरीलाई स्वदेशमै रोक्न सक्ने सरकार हामी चाहन्छौँ ।’

क्षेत्र– १ मा काठमाडौं महानगरपालिकाका– १०, ११, २९ र ३१ वडा पर्छन् । चार वडामध्ये स्थानीय निर्वाचनमा तीन वटामा नेपाली कांग्रेस र एकमा एमाले उम्मेदवार वडाध्यक्ष विजयी भएका थिए । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा यसपटक लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रकाशमान सिंह, वाम गठबन्धनका तर्फबाट अनिल शर्मा र विवेकशील साझा पार्टीका तर्फबाट रविन्द्र मिश्र उम्मेदवार छन्।

‘सधैँ एउटै पार्टीलाई भोट हाल्नुपर्छ भन्नेछैन,’ बिजुलीबजारका रतिराम कपाली भन्छन्, ‘दिगो सरकारको पक्षमा जानेछौँ ।’ शिक्षा, स्वास्थ्य क्षेत्रसँगै मुलुकका विविध समस्या हल गर्न सक्ने सरकारको खाँचो रहेको उनको बुझाइ छ । सहरमा धुलो धुँवाको समस्या भए पनि त्योभन्दा डरलाग्दो अवस्था बेरोजगारी रहेको उनले बताए। ‘उद्योग कलकारखाना खुल्नुप¥यो,’ उनले भने, ‘यसले देशलाई प्रगतितर्फ पु¥याउँछ ।’ देशको आम्दानीभन्दा खर्च बढी भएकाले यसलाई रोक्नुपर्ने उनको धारणा छ।

श्रीनगर मार्ग, शंखमूलकी शारदा दाहालको अपेक्षा पनि कपालीसँग मिल्दोजुल्दो छ । उनी आफ्ना व्यक्तिगत कुराभन्दा पनि मुुलुकको हितमा काम गर्ने उम्मेदवारको खाँचो  रहेको बताउँछिन् । ‘विकास बजेट दुरुपयोग नगर्ने, जनताको सेवामा लाग्ने र भेदभाव नगर्नेलाई हामी मतदान गर्नेछौँ,’ उनले भनिन्, ‘त्यस्तो उम्मेदवारले  राष्ट्रिय हितमा काम गर्नुको साथै स्थानीय क्षेत्रको समस्यालाई पनि हेरोस् भन्ने चाहना छ।’

प्राध्यापन पेसामा रहेका नयाँ बानेश्वरका रिम हुमागाईं  लोकतन्त्रपछि जनताले आस गरेका धेरै कुरा अधुरा रहेको बताउँछन् । उनी जनताका आशा पूरा गर्नेलाई भोट दिने सुरमा छन् । ‘हाम्रा अपेक्षा सधैँ अधुरा भए, नेताहरू चुनावअगाडि वाचा गर्छन्, चुनाव सकिएपछि भुल्छन्,’ उनले भने, ‘अब हामी त्यही कुरा नदोहोरियोस् भन्ने चाहन्छौँ ।’  बारम्बार सरकार परिवर्तनले मुलुकको विकास ओझेलमा परेको उनको ठहर छ । उनी कम्तीमा पाँच वर्षसम्म टिक्ने सरकारको पक्षमा छन्।

मीनभवनकी ८६ वर्षीया शिवमाया खत्रीले भोट हालेको धेरैपटक भयो । तर, भोट हालेर जिताएकाले सोचेजस्तो काम कहिल्यै नगरेको उनको अनुभव छ । ‘अब आउनेले राम्रो काम गर्छ कि भन्न्ने आशा हुन्छ,’ उनले भनिन्, ‘त्यही आसमा फेरि पनि भोट हाल्न जाँदै छु।’ लौरो टेकेर हाल्न जाने भोट खेर नजाओस् भन्ने उनको अपेक्षा छ । ‘बिरामी भए पनि भोट हाल्न गयौँ,’ उनले भनिन्, ‘त्यसको फल अहिले मिलेको छैन ।’ आफूले दिएको भोटले देश विकास होस् भन्ने उनको चाहना छ।

बबरमहलकी  शर्मिला श्रेष्ठको भने ठूलो चाहना छैन ।   आफ्नो क्षेत्रमा पानीको समस्या रहेकाले उनी पानी व्यवस्था गरिदिने नेताको खोजीमा छन् । ‘धेरै ठूला कुरा चाहिएको छैन,’ उनले भनिन्, ‘पानी राम्रोसँग पाए पुग्छ ।’ नेताले सधैँ वाचा गर्ने तर वाचा पूरा नगर्दा निराशा थपिएको उनले बताइन्। बबरमहलकै टीका पोखरल भने पटकपटकको चुनावले खासै उत्साहित छैनन् । जतिपटक भोट खसाल्दा पनि देश विकास नभएको उनको गुनासो छ । ‘कहिले प्रदेश त कहिले  केको चुनाव,’ उनी भन्छिन्, ‘गरिब जनताको चुनावचाहिँ कहिले नि ?’ 

पहिलेका नेताले कहिल्यै मुलुकको विकास नगरेको उनले बताइन् । ‘अब देश राम्रो बनाउने मान्छे चाहिएको छ,’ उनले भनिन्, ‘जसले सबैलाई मिलाएर देशलाई अगाडि बढाओस्।’

क्षेत्र– १ मा पर्ने कामनपाका चारवटा वडामा स्थानीय निर्वाचनमा कुल २३ हजार आठ सय तीन मत खसेको थियो । त्यसमध्ये हाल वाम गठबन्धनमा आबद्ध पार्टीले १० हजार नौ सय ८८ र लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीले १० हजार तीन सय ८२ मत पाएका थिए । अन्य दलले दुई हजार चार सय ३३ मत पाएका थिए।

प्रकाशित: २४ कार्तिक २०७४ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App