coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ’

ऋचा शर्मा, नायिका

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं र पोखरा ज्यादै मनपर्छ । काठमाडौंको मौसम सदावहार छ । यहाँ हिउँदमा बढी जाडो र गर्मीयाममा बढी गर्मी हुँदैन । तर, अस्तव्यस्तता सम्झँदा काठमाडौं दिक्क लाग्छ । पोखरा धेरै मानिसको सपनाको सहर हो । त्यहाँको फेवा लेक हेर्दै आनन्द लाग्छ ।
कुन कुन विदेशी सहर घुम्नुभएको छ ?
मैले १५ भन्दा धेरै देशका सहर घुमेकी छु । जापानको टोकियो, अस्ट्रेलियाको मेलबर्न, थाइल्यान्डको बैंकक, फ्रान्सको पेरिस, चीनको बेइजिङ, भारतको नयाँ दिल्लीलगायत सहर राम्रो लाग्छ ।
यी सहर किन मनपर्यो ?
मैले घुमेका धेरै सहर सुन्दर र शान्त थिए । तीमध्ये अस्टे«लियाका सहर धेरै राम्रो लाग्यो । त्यहाँका सहर बेहुलीजस्ता चिटिक्क सिँगारिएका छन् । सहर शान्त छ । सहरमा बस्नेलाई कुनै पनि समस्या छैन । विदेशी सहर व्यवस्थित हुनुको मुख्य कारण नीति–नियमको पालना हुनु हो ।  

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
बनाउने हो भने त्यस्तै होइन, त्योभन्दा पनि सुन्दर बन्न सक्छन्, हाम्रा सहर । तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन । सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरलाई भुलेका छन् । उनीहरू भष्ट्राचारमा पल्केका छन् । यस्तो प्रवृत्तिले सहर विकास होला भन्ने कल्पना गर्न सकिन्न ।

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाम लगायत विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । यी कुरालाई ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ । नीति–नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो । अहिले जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले काठमाडौंलाई कुरूप बनाएको छ ।

विदेशी र हाम्रा सहरबीच के भिन्नता देख्नुभयो ?
विदेशका सहर धेरै व्यवस्थित छन् । त्यहाँ हरेक ठाउँका नीति–नियम पालना गरिएका हुन्छन् । नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन् । कसैले सहरको फोहोर देखिसहन्न । तर, हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन् ।

के कारणले हामीकहाँ सहरी विकास हुन सकेन भन्ने लाग्छ ?
सहरवासी, सरकारी निकायकै कमजोरीले गर्दा सहरको रूप बिग्रिएको हो । नागरिक र सरकार दुवै मिलेर सहरको विकासमा जुटेको भए हाम्रा सहर पनि आज गौरव गर्न लायक बन्थे होला ।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ सबैखाले सुविधा सहजै पाउन सकियोस् । स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधा होस् । सबैलाई स्वच्छ र सुविधायुक्त सहरमा बसेको महसुस होस् ।    
उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र पुराना मठ–मन्दिर मनपर्छ ।   

मननपर्ने पक्ष ?
उपत्यकाको आकर्षण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन् । यी धरोहरले नेपाललाई नै चिनाउँछन् । तर, भूकम्पका कारण हाम्रा धरोहर ढले । तिनको पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन । सबैको नजर सहरलाई मास्नेतर्फ छ । यसको स्वामित्व स्थानीयले लिएका छैनन् । अरु देशका सहरमा स्थानीय नै आफ्नो सहरको साख जोगाउन लागेको देखिन्छ । उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ । ट्राफिक जाम र धुलोधुँवा उपत्यकाको सबैभन्दा मननपर्ने पक्ष हो । ढल, बिजुलीका तार पनि अव्यवस्थित छन् ।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ । सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ । सहरमा बस्ने अधिकांश मानिस यहाँको भद्रगोल र झन्झटदेखि हैरान छन् । धुँवाधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ ।
सहरवासीको बानी कस्तो लाग्छ ?
मेरो घर धनगढी हो । मैले काठमाडौंलाई धेरै पहिलेदेखि नै चिन्न पाएँ । तर, यहाँ बस्ने मानिसको बानी राम्ररी चिन्न पाएकी छैन । काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ । सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ मलाई । त्यस्तै, यहाँ सवारी चालक पनि असभ्य छन् । केटी मान्छेले स्कुटी र गाडी चलाएकी छ भने ट्रक र माइक्रो चालकले धेरै नै पेल्छन् ।
उपत्यकाभित्र कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यति घुम्न भ्याउदिनँ । कहिलेकाहीँ समय मिल्यो भने नगरकोट, धुलिखेल, शिवपुरी, चित्लाङ लगायत ठाउँमा जान्छु ।
मन भएर पनि घुम्न नपाएको ठाउँ कुन हो ?
मलाई राराताल जाने मन छ, व्यस्तताले जान पाएकी छैन । समय मिल्यो भने पुग्ने सोच बनाएकी छु ।
राजधानीमा पाइने कुन परिकार मीठो लाग्छ ?
मलाई नेवारी खाजा र खाना धेरै मीठो लाग्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २४ कार्तिक २०७४ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App