८ वैशाख २०८१ शनिबार
अन्य

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवार खडा गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझाबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन् । यी उम्मेदवारसँग नागरिककर्मी खिलक बुढाथोकीले गरेको कुराकानी:

बहुमतले जित्नेमा ढुक्क छु
प्रकाशमान सिंह, उम्मेदवार
नेपाली कांग्रेस

तपाईंलाई मत किन दिने ?
प्रथम संविधानसभाको चुनावले संविधान बनाउन सकेन । त्यो बेला वामपन्थीको सरकार बनेको थियो । चारवटा सरकार फेर्नुबाहेक केही उपलब्धि नभएपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । आफूलाई विजय गराए संविधान दिने ग्यारेन्टी नेपाली कांग्रेसले ग¥यो । जनताले मत दिएर कांग्रेसलाई पहिलो पार्टी बनाए । कांग्रेसले पनि जनताको भावनाअनुसार संविधान दियो । नेपाली कांग्रेसले संविधानसँगै विकास कार्यलाई पनि तीव्रता दिएको आम मतदाता जानकार छन् । मलाई पनि काठमाडौं क्षेत्र– १ का जनताले विश्वास गरेर पहिलो संविधानसभाको भन्दा बढी मत दिएर दोस्रो संविधानसभामा विजय गराए, त्यसैगरी संविधानसँगै विकासलाई अगाडि बढाएँ । क्षेत्र– १ का प्रत्येक सामुदायिक विद्यालयमा मैले केही न केही योगदान गरेको छु । केही विद्यालयको भवन निर्माण गरेको छु । केही विद्यालयमा खानेपानी, शौचालयको व्यवस्था गरेको छु । अहिले पनि विद्यालयको अवस्था सुधार गर्न लागिरहेको छु । आवश्यक पूर्वाधार बनाउन लागिरहेको छु । पद्मकन्या विद्यालयमा अहिले पनि आमाको नामबाट छात्रावास बनिरहेको छ । यी अलावा मेरो क्षेत्रभित्र पर्ने किरियापुत्री भवनमा सोलारबाट तातोपानीको व्यवस्था गराएको छु ।

यति गर्दैमा मत देलान् भन्ने विश्वास लाग्छ ?
क्षेत्र– १ का जनताले मलाई मत नदेलान् भनेर शंका थोरै पनि लागेको छैन । पहिलो संविधानसभाको चुनावमा भन्दा दोस्रोमा बढी मत दिएका थिए । यसपटक पनि अघिल्ला चुनावमा भन्दा बढी मत दिएर विजय गराउनेमा ढुक्क छु । जनताको साथ रहेर काम गरिरहेको छु । क्षेत्रभित्रका जनता बिरामी पर्दा अस्पताल गएर भेट्ने, साह्रोगाह्रो पर्दासाथ दिने गरेको छु । विकास निर्माणको काममा पनि जनतालाई साथ दिएर काम गरिरहेको छु ।
धोबीखोला करिडोर अघि बढ्न सकेको थिएन । म नै विजय भएर आएपछि धोबीखोला करिडोर विकासका लागि जनता साथमा लिएर अगाडि बढेँ । अहिले धोबीखोलाले पूर्ण रूपमा पाइनसके पनि रूपमा परिवर्तन आएको छ । धोबीखोला करिडोरलाई पूर्णता दिने जिम्मेवारी मेरै काँधमा छ ।

तपाईंका अजेन्डा के हुन् ?
मैले गर्नै नसक्ने कामलाई गर्छु भनेर प्रतिबद्धता गरेको छैन । जनतालाई पनि थाहा छ, प्रकाशमानले जति प्रतिबद्धता गर्छ, ती पूरा गरेर छाड्छ । त्यसैले क्षेत्र–१ लाई नमुना क्षेत्र बनाउने वाचा गरेको छु । अहिले यो क्षेत्रमा सडकको दुरवस्था जनताले भोगिरहेका छन् । पहिलो चरणमा सडकको अवस्था सुधारमा लाग्छु । अघिल्लोपटक वाचा गरेका सबै काम पूरा गर्न सकेको छैन, ती काम पूरा गर्नुपर्ने जिम्मेवारी पनि छ । जनताकै साथमा रहेर आवश्यक अनुसार काम गर्दै क्षेत्र– १ लाई नमुना क्षेत्र बनाउनु मेरो प्राथमिकता हो ।

घरदैलो गरिरहनुभएको छ, मतदाताबाट कस्ता प्रतिक्रिया पाउनुभएको छ ?
धेरै राम्रो प्रतिक्रिया पाएको छु । घरदैलो कार्यक्रममा देखिएको मतदाताको उत्साहले बहुमतले चुनाव जित्नेमा ढुक्क छौँ । कतिपय मतदाताले भने अहिले भइरहेका विकास निर्माणलाई निरन्तरता दिनुपर्ने बताएका छन् । कतिपयले भने आवश्यक विकासको खाका पनि दिएका छन् । ती सबै काम पूरा गर्नुपर्ने जिम्मेवारी छ ।

वाम गठबन्धन नै अबको आवश्यकता
अनिल शर्मा, उम्मेदवार
संयुक्त वाम गठबन्धन

तपाईंको उम्मेदवारी केका लागि ?
समृद्ध देशका लागि । अनि, काठमाडौंलाई खास सहर बनाउन, सहरको अस्तव्यस्तता समाधान गर्न नै मेरो उम्मेदवारी हो ।

तपाईंले देखेको अस्तव्यस्तता कस्तो हो ?
अहिले काठमाडौंको अक्सिजन प्रदूषित छ । काठमाडौंको प्रमुख गरिबी नै अक्सिजनजस्तो लाग्छ । त्यसको प्रमुख कारण व्यवस्थित सडक नहुनु र वातावरणमैत्री सवारी नहुनु हो । यसलाई व्यस्थित गरेर धुलोरहित सहर बनाई स्वच्छ अक्सिजन प्राप्त गराउने योजना छ ।
तपाईंका प्रमुख अजेन्डा के हुन् ?
राजधानी केन्द्रीय सहर हो । तर, बस्नलायक छैन । यहाँका युवा स्वस्थ जीवन बिताउन विदेश जानुपर्ने अवस्था सिर्जना भएको छ । काठमाडौंलाई साँच्चिकै राजधानी बनाएर बिदेसिएका युवालाई फर्काउने मेरो प्रमुख अजेन्डा हो । काठमाडौंलाई शैक्षिक हब बनाउनु, युवाको भविष्य सुरक्षित गराउनु, वृद्धको रेखदेखका लागि छुट्टै अस्पतालको व्यवस्था गर्नु मेरो प्राथमिकताका अजेन्डा हुन् ।

आर्कषक अजेन्डा अगाडि सार्ने तर पूरा नगर्ने पुरानै परिपाटी छ, तपाईंले सारेका अजेन्डा पूरा गर्नुहुन्छ भनेर पत्याउने आधार के ?

पहिला मात्रै होइन, अहिले पनि सपना बाँडिरहेका छन् । तर, मेरो हकमा भने सपना बाँडिरहेको छैन । जे गर्न सक्छु, त्यही मात्रै प्रतिबद्धता गरेको छु । मलाई मात्रै विश्वास गर्न नसके मेरो सिंगो पार्टी छ । वाम गठबन्धन छ । अब त झन् वामले स्थायित्व कायम गर्छ । देश विकासका लागि स्थायित्व कायम आवश्यक रहेकाले हामीले वाम गठबन्धन अघि सारेका हौँ । म त्यही गठबन्धनको उम्मेदवार रहेको हुँदा अजेन्डा पूरा हुनेमा शंका नै छैन ।
म आफू पनि त जनआन्दोलनबाट आएको हुँ । क्रान्ति गरेर देशमा परिवर्तन ल्याउन भूमिका खेलेको छु । आफू मर्न तयार भएर समाज परिवर्तनमा लागेको छु । यसअघि पनि हामीले गणतन्त्र ल्याउँछौँ भनेर वाचा ग¥यौँ, ल्याएर छाड्यौँ । संविधान ल्याउँछौँ भनेर प्रतिबद्धता ग¥यौँ, पूरा ग¥यौँ । अब पनि हामी देशको समृद्धि गर्छौं भनेर लागेका छौँ, पूरा गरेरै छाड्छौँ ।
माओवादी केन्द्रलाई हेरेर पनि त जनतालाई पत्याउने आधार छ । माओवादी सरकारमा हुँदा आर्थिक वृद्धिदर बढेको नतिजा नेपाली जनताले पाएकै हुन् । माओवादीले नै लोडसेडिङको अन्त्य गराएको उदाहरण त जगजाहेर छ । त्यसैले जनतालाई ढुक्क भएर शंका नगरी मतदान गर्न अनुरोध गर्छु ।

अरु प्रतिप्रर्धीभन्दा तपाईं कसरी फरक ?
पहिलो कुरा, अरू प्रतिस्पर्धीभन्दा म युवा हुँ । ममा जोश–जाँगर छ । समाज र देशका लागि केही गरौँ भन्ने भावना छ । राजनीतिक चेत बोकेको छु । टोल समाजका समस्या तथा दुःख बुझेको छु । अर्को कुरा, अब राज्यको मुहार फेर्ने शक्ति नै वाम गठबन्धन हो । स्थायी सरकारको नेतृत्व गर्ने वाम गठबन्धनको उम्मेदवार हुनु नै फरक हो । सबैसँग मिलेर अगाडि बढाउन सक्ने क्षमता रहेको छ । त्यसैले जनताले मलाई मतदान गर्नेमा विश्वस्त छु ।

घरदैलो गरिरहनुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मतदाताले मलाई विजयका लागि आशीर्वाद मात्रै दिएका छैनन्, विजय गराउन लागेका पनि छन् । तपाईंजस्तो योग्य, जोश–जाँगर भएको युवा पाएकामा निकै खुसी छौँ भनेका छन् । अन्य पार्टीको आश्वासनबाट दिक्क भएको हुँदा यसपटक वाम गठबन्धनलाई मतदान गर्न उत्साहित छन् मतदाताहरू । उनीहरूको चाहना नै स्थायी सरकारको छ । वाम गठबन्धनले स्थायी सरकार र समृद्ध देश बनाउँछ भनेर मतदाता ढुक्क छन् । मतदाताको यस्तै प्रतिक्रियाबाट जितको नजिक पुगेको आभास गरेको छु ।  
विवेकशील साझा पदको लागि नभएर देश बदल्न हो

रविन्द्र मिश्र, उम्मेदार
विवेकशील साझा पार्टी

तपाईंलाई मत किन दिने ?
हाम्रो पार्टीमा यस्ता व्यक्ति संलग्न छन्, जसको नियत र नीति ठीक छ । नियत र नीति मिलेपछि मात्रै देश बन्ने हो । नीति मात्रै भएर देश बन्ने होइन । त्यसैले हाम्रो पार्टीका नेताको प्रतिबद्धता, दूरदृष्टि, देश बनाउँछु भन्ने आँटलाई हेरेर मत दिने हो । अरु पार्टीमा लिखित रूपमा नीति ठीक तर, नियत ठीक छैन ।

तपाईंको पार्टीको मूल अजेन्डा के हो ?
हाम्रो मूल अजेन्डा विकास र समृद्धि हो । यो हामै्र जीवनकालमा सम्भव छ भन्ने हाम्रो विश्वास छ । यसलाई अगाडि बढाउन सुशासनयुक्त, भष्ट्राचारमुक्त असल नेतृत्व चाहिन्छ । विकास र समृद्धिलाई दूरदृष्टि राखेर त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता भएको नेतृत्व हुनुपर्छ । त्यही नेतृत्व हामीसँग भएका कारण हाम्रो पहिलो अजेन्डा भनेकै विकास र समृद्धि हो । जुन हामीले हाम्रै जीवनकालमा गरेर देखाउने प्रतिबद्धता गरेका छौँ ।
‘अबको आशा, विवेकशील र साझा’ पार्टीको नारा छ, पार्टी राष्ट्रिय नै भएन भने ?
पार्टी राष्ट्रिय हुँदैन भनेर त सोचेकै छैनौँ । त्यस्तो भइहाले नेपाली समाजमा जकडिएको राजनीतिलाई चिर्न अरु केही वर्ष धैर्य आवश्यक पर्छ भनेर बुझ्नुपर्छ । योपटक नेपाली जनताले देशलाई नेतृत्व दिन सक्ने सकारात्मक सोच भएका व्यक्तिबाट परिवर्तन खोजिरहेका छन् भन्ने हाम्रो विश्वास छ । त्यो समूह विवेकशील साझासँग छ । जनताले विवेकशील साझालाई राष्ट्रिय बनाउँछन् भन्ने पूर्ण विश्वास छ ।

विवेकशील साझा ठीक होला तर पार्टीको त्याग त कम रहेको सुनिन्छ नि ?
त्याग गरेका पार्टीले यो देशको दोहन गरे । जिल्लामा एसएलसी पास गरेपछि पढ्न नसक्ने समाज निर्माण गरे । एसइईमा लगभग ७० प्रतिशत विद्यार्थीको न्यून ग्रेड आउने स्थिति सिर्जना गरे । बूढाबूढीले जिन्दगीभर कमाएको पैसा एउटा रोग लाग्दा स्वाहा हुने स्थिति सिर्जना गरे । १० वर्षमा एउटै बाटो १० पटक पिच गर्दा पनि बलियो नहुने स्थिति सिर्जना गरे । यो देशमा समाजवादको कुरा गरेर दिनको १५–१७ सय युवा विदेश पठाउने स्थिति सिर्जना गरे । त्यसलाई कसरी त्याग भनौँ ?
घरदैलो कार्यक्रम गरिरहनुभएको छ, मतदाताको प्रतिक्रिया कस्तो छ ?
अत्यन्तै उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । ‘विकल्प नपाएर पुराना दलमा भोट हाल्न बाध्य थियौँ, तपाईंहरू जस्ता मान्छे राजनीतिमा आइदिनुभयो । हामी आशावादी छौँ,’ भन्ने प्रतिक्रिया जताततै पाइरहेका छौँ ।

आफूलाई प्रतिस्पर्धीभन्दा फरक कसरी देखाउनुहुन्छ ?

प्रतिस्पर्धीको आलोचना गर्नुलाई म राम्रो मान्दिनँ । तर, नेपालमा संस्थागत भएको बैमानीपूर्ण राजनीतिको विकल्पमा हामी इमान बोकेको राजनीति गर्न आएका हौँ । हाम्रो पृष्ठभूमि इमान, परिश्रम, क्षमताको धरातलमा उभिएको छ । हाम्रो त्यो सम्पूर्ण शक्ति यो देश रूपान्तरणका लागि लगाउन चाहन्छौँ । पुराना राजनीतिक दलले यो देशलाई रूपान्तरणको दिशामा उन्मुख गराएको भए हामी आ–आफ्नो संस्थाको घेरामा बसेर पेसागत जिम्मेवारी विर्वाह गथ्र्यौं । राजनीतिमा आउनैपर्दैनथ्यो ।

तपाईंको पार्टीले देशको मुहार फेर्छ भनेर कसरी पत्याउने ?
ढुक्क भएर देशभरिबाट तराजुमा मतदान गरे हुन्छ । पछिल्लो चार–पाँच महिनाबीचमा तीन ठूलाबाहेक चर्चा भएको पार्टी हामै्र हो । हामीलाई सद्भाव प्राप्त छ, संगठन छैन । त्यो सद्भावलाई चुनावपछि संगठन निर्माणमा परिणत गर्छौं । त्यसकारण देशमा कुनै युवाले आफ्नो भविष्य, बुबाआमाको सुरक्षा, छोराछोरीका लागि राम्रो स्कुल र अस्पताल खोज्ने हो भने विवेकशील साझाबाहेक अर्को विकल्प छँदै छैन । अहिलेसम्म कसैले नदेखाएको संकेत अब फेरि देखिएला भनेर पुरानै पार्टीलाई भोट हाल्नुभयो भने भोट पाउने नेताले सुख पाउँछ, भोट दिने जनताले दुख पाउँछन् । आजसम्म नेपालमा हुँदै आएको पनि यही हो ।

तपाईंको पार्टी पदका लागि नभएर देश बदल्न हो भनेर कसरी पत्याउने ?
मेरो शैक्षिक पृष्ठभूमि, पेसागत आधार र पहुँचका कारण मलाई पद पाउन गाह्रो थिएन । म जहाँ थिएँ, त्यो पनि राम्रै पद थियो । हामीले पदका लागि यो खतरनाक बाटो अवलम्बन गरेको होइन । व्यक्ति बदल्न होइन, देश बदल्न अवलम्बन गरेको हो । त्यसैले पदका लागि होइन, देश बदल्नका लागि नेतृत्व लिन्छौँ ।

तपाईंहरूको प्रतिबद्धता के छ ?
पहिले विकल्प थिएन, जहाँजहाँ भोट दिनुभयो भयो । तर, तपाईंहरूले भोट दिएकाहरू सबैले सुख पाए, तपाईंहरूलाई सधैँ दुःख । सुखलाई चिन्नै छोड्नुभयो । बिहान ४ बजे पानी थाप्न उठ्दा, बाटोमा मास्क लगाएर बाक्लो धुलो खाँदा, आफन्त विदेश पठाएर एक्लो जीवन बित्याउँदा पनि दुःख बुझ्न सकेनौँ । अब बुझ्नुप¥यो, यी सबै दुःख जनताले पाएका हुन् । सुख जनताले भोट दिएका नेताले पाए । हामी जनताले सुख पाउने स्थिति सिर्जना गर्न चाहन्छौँ । त्यसकारण हामीमाथि विश्वास गर्नुस् ।

प्रकाशित: २४ कार्तिक २०७४ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App