७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतिस्पर्धात्मक नतिजाको अपेक्षामा नेपाल

काठमाडौं- एसिसी यु–१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो । बंगलादेश यु–१९ टोलीविरुद्धको तीन अभ्यास खेलमध्ये नेपालले पहिलो दुईमा पराजय भोगे पनि अन्तिम खेलमा ६ विकेटको विजय हासिल गरेको थियो ।
मलेसियामा शुक्रबारबाट शुरु भएको युथ एसिया कपमा नेपाली युवा टोलीले शनिबार बंगलादेशविरुद्धकै खेलबाट प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बंगलादेशविरुद्धको अभ्यास खेलमा प्रतिस्पर्धात्मक नतिजा निकालेकाले शनिबार पनि त्यस्तै प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।
‘बंगलादेश यु–१९ विरुद्धको अभ्यास खेलमा हामीले प्रतिस्पर्धात्मक नजिता निकालेका थियौं,’ नेपाली टोलीका कप्तान दीपेन्द्रसिंहले भने, ‘यस प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको छ । त्यसैले अभ्यास खेलमा गरेको प्रदर्शनलाई प्रतियोगितामा पनि निरन्तरता दिने विश्वास लिएका छौं ।’
यद्दपी नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले पहिलो खेल धेरै महŒवपूर्ण भएको भन्दै अभ्यास खेलको नतिजाले शनिबार कुनै अर्थ नराख्ने बताएका छन् । ‘यहाँको मैसम अनुमान लगाउन नसकिने खालको छ र खेलाडीहरु यसमा सजग छन्’ प्रशिक्षक दासले भने, ‘उनीहरुसमक्ष बलियो चुनौती पेश गर्न हामीले आफ्नो योजनाअनुसारको प्रदर्शन गर्नु जरुरी छ ।’
प्रतियोगताको पहिलो खेलमा उपाधि दाबेदार मानिएको पाकिस्तानलाई अफगानिस्तानले ७ विकेटले हराइसकेको छ । अन्य दाबेदार श्रीलंकाले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ७ विकेटको नतिजामा हराउँदा साबिक विजेता भारतले मलेसियामाथि २ सय २ रनको सहज विजय हासिल गरेको छ ।
अफगानिस्तान र पाकिस्तानको नतिजालाई उदहारणका रुपमा प्रस्तुत गर्दै प्रशिक्षक दासले नेपाल पनि त्यस्तै नतिजा निकाल्न सक्षम रहेको संकेत गरेका छन् । ‘पहिलो दिनको नतिजा अप्रत्यासित होइन । अफगानिस्तानले पाकिस्तानलाई कडा चुनौती पेश गर्ने अनुमान गरेका थियौं । तर त्यती सहज नतिजा आउँछ भन्ने सोचका थिएनौं,’ प्रशिक्षक दासले थपे, ‘यो सबै अफगानिस्तानले गरेको कडा मिहिनेत र लगाबले सम्भव भएको हो । त्यसबाट हामीले पनि प्रेरणा लिनु पर्छ ।’
मलेसियामै भएको पूर्वी क्षेत्रको छनोटमा विजयी हुँदै नेपालले जारी प्रतियागितामा स्थान बनाएको हो । उक्त छनोट प्रतियोगितामा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन् । तर, प्रशिक्षक दासले यस प्रतियोगतामा नेपालका ब्याट्सम्यानले राम्रो गर्ने विश्वास लिएका छन् । उनले थपे, ‘समयसँगै हाम्रो ब्याटिङमा पनि सुधार भइरहेको छ । आशा गरौं, केही दिनअघि नेपाली ब्याट्सम्यानले गरेको प्रदर्शनले शनिबार पनि निरन्तरता पाउनेछ ।’

नेपालविरुद्ध बंगलादेश
स्थानः किनरारा ओभल, मलेसिया
समयः विहान ७ः१५ बजे

प्रकाशित: २५ कार्तिक २०७४ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App