७ वैशाख २०८१ शुक्रबार
खेल

रुस विश्वकपमा इटाली नछानिने खतरा

स्टकहोम- इटालीका प्रशिक्षक जियान पिइरो भेन्टुराले शुक्रबार प्लेअफको पहिलो लेगमा स्विडेनसँग १–० को नतिजामा पराजित भए पनि चार पटकको च्याम्पियन अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने विश्वास व्यक्त गरेका छन् ।
वैकल्पिक खेलाडी ज्याकोब योहान्सनले ६१औं मिनेटमा गरेको एउटै गोल स्विडेनको जितमा निर्णायक बनेपछि इटाली ६० वर्षमा पहिलो पटक विश्वकपलाई नछानिने खतरानजिक पुगेको छ ।
‘खेलाडीहरू ड्रेसिङ रुममा निक्कै रिसाएका थिए । मैले खेलाडीमा जितको भोक देखेको छु । त्यसैले हामी छनोट हुन्छौं भन्नेमा म विश्वस्त छु,’ सोमबार मिलानमा गर या मरको अवस्थामा हुने निर्णायक दोस्रो लेगमा नतिजा उल्टाउनुपर्ने दबाबमा रहेका भेन्टुराले भने, ‘मेरा खेलाडीलाई उनीहरू राम्रो गर्न सक्छन् भन्ने थाहा छ । आजको खेल निक्कै शारीरिक भयो, जहाँ हामीले आश्चर्यजनक नतिजा सामना गर्नुप¥यो । तर दोस्रो लेगमा हामी राम्रो गर्नेछौं ।’
पछिल्लो पटक १९५८ मा स्विडेनमा भएको विश्वकपमा इटाली छनोट हुन असफल भएको थियो । यसपालि छनोटअन्तर्गत समूह ‘जी’ मा स्पेनसँग ३–० को पराजय भोगेको इटाली मेसेडोनियासँग १–१ को बराबरीमा सीमित भएपछि निराशाजनक रूपमा प्लेअफमा धकेलिएको थियो ।
‘अझै ९० मिनेटको खेल बाँकी छ । आजको खेलमा रेफ्रीको प्रदर्शन समग्रमा राम्रो थियो । तर खेल धेरै शारीरिक रूपमा हुन थाल्दा उनले रोक्नुपर्ने थियो,’ युरो २०१६ पछि एन्टोनियो कोन्टेलाई स्थानान्तरण गर्दै इटालियन टोलीको नेतृत्व लिएका भेन्टुराले थपे ।
अन्तराहादेशीय प्लेअफअन्तर्गत एसियाको अस्ट्रेलियाले कन्काकाफको होन्डुरससँग गोलरहित बराबरीमा चित्त बुझाएपछि टोलीको रूस यात्रा पक्का गर्ने अभियान अप्ठेरोमा परेको छ ।
स्ट्राइकर टमी जुरिचले दुवै हाफमा गोलका सुनौला अवसर खेर फालेपछि अस्ट्रेलिया पहिलो लेगमा जित निकाल्न असफल भएको थियो । स्टेडियो ओलम्पिको मेट्रोपोलिटानेमा होन्डुरसको शारीरिक प्रदर्शनमाथि अस्ट्रेलियाले जित हासिल गरे पनि नतिजा निकाल्न नसक्दा टोली बुधबार हुने दोस्रो लेगमा जित हासिल गर्नैपर्ने दबाबमा पुगेको छ ।
अन्तरमहादेशीय प्लेअफअन्तर्गतको अर्को खेलमा न्युजिल्यान्डले घरेलु मैदानमा पेरूसँग गोलरहित बराबरी नतिजा निकाल्यो ।
यसै गरी शुक्रबारै सम्पन्न अफ्रिकी प्लेअफमा अल्जेरिया र मालीले १–१ को बराबरी खेले ।
शुक्रबारै भएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व च्याम्पियन जर्मनीलाई इङ्ल्यान्डले गोलरहित बराबरीमा रोकेको छ । उरुग्वे र पोल्यान्डले पनि गोलरहित बराबरी नतिजा निकाल्दा बेल्जियम र मेक्सिकोले ३–३ को बराबरी खेले ।
एन्टोनी ग्रिजम्यान र ओलिभर जिरौडको गोलमा फ्रान्सले वेल्समाथि २–० को जित हासिल गर्दा पोर्चुगलले साउदी अरेबियालाई ३–० को नतिजामा हरायो । पोर्चुगलको जितमा म्यानुअल फर्नान्डेज, गोन्कालो गुइडस र जोआवो मारियोले गोल गरेका थिए ।

प्रकाशित: २६ कार्तिक २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App