४ वैशाख २०८१ मंगलबार
अर्थ

दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ भित्रियो

काठमाडौं- चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट आठ अर्ब ११ करोड रुपैयाँ भित्रिएको हो ।
गत आवको सोही अवधिको तुलनामा यो करिब ६१ करोड रुपैयाँ बढी हो । नेपाल घुम्न आउने पर्यटकबाट गत आवको पहिलो दुई महिनामा सात अर्ब ५० करोड रुपैयाँ आर्थिक उपार्जन भएको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार सन् ०१६÷१७ मा नेपालमा विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ भित्रिएको थियो, जुन ०१५÷१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्चभन्दा ४० प्रतिशत बढी हो । सो अवधिमा ४१ अर्ब ७६ करोड रुपैयाँ भित्रिएको थियो ।
नेपाली पर्यटकले विदेश भ्रमणमा गर्ने खर्च वार्षिक रुपमा घटेको छ । गत आवको दुई महिनामा १४ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको थियो भने यस आवमा ७९ खर्ब ९२ करोड रुपैयाँमात्रै बाहिरिएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा गर्ने खर्च वृद्धि भएको देखिन्छ । चालु आवको दुई महिनामा नेपालीले विदेशमा गएर १३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
विदेशी आगमन २३ प्रतिशत बढ्यो
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या २३ प्रतिशतले वृद्धि भएको छ । चालु वर्ष सन् २०१७ को १० महिनामा गत वर्षको यसै अवधिको तुलनामा पर्यटकको संख्यामा बढेको हो ।
सन् २०१७ को १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सात लाख ५७ हजार चार सय ४८ पुगेको अध्यागमन विभागले जनाएको छ । यो वर्षको अक्टोबरसम्म नेपाल आउने पर्यटकको संख्या २०१६ मा आएका कुल पर्यटक संख्याभन्दा बढी हो ।
सन् २०१६ मा सात लाख ५३ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए । यस्तो संख्या सन् २०१७ को १० महिनामै सात लाख ५७ हजार पुगिसकेको छ ।  ।
सन् २०१६ को अक्टोबरसम्म पाँच लाख ८४ हजार एक सय चार विदेशीले नेपाल भ्रमण गरेका थिए । २०१४ मा पर्यटक आगमन संख्या आठ लाख हाराहारी थियो । सन् २०१५ मा भने भूकम्प र भारतीय नाकाबन्दीका कारण पाँच लाख ४० हजारले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक छ ।
सन् २०१५ मा कुल ४० प्रतिशतले गिरावट आएको पर्यटक आगमन सन् २०१६ मा ३२ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१७ मा १० लाखभन्दा बढी विदेशीले नेपाल भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले अनुमान गरेको छ ।
बोर्डका अनुसार अक्टोबरसम्म अमेरिकाबाट ६५ हजार, श्रीलंकाबाट ४१ हजार, बेलायतबाट ४० हजार र थाइल्यान्डबाट २८ हजार पर्यटक नेपाल आएका छन् ।

प्रकाशित: २६ कार्तिक २०७४ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App