७ वैशाख २०८१ शुक्रबार
खेल

भारतमाथि नेपालकाे एेतिहासिक जित

काठमाडौँ –  एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो ।

एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८.१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो। क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। 

नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए। 

बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई विकेट लिए। 

भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए। 

बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई÷दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे। 

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ। 

प्रकाशित: २६ कार्तिक २०७४ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App