उम्मेदवारको घरदैलो श्रृङ्खला

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

आइतबार, २६ कार्तिक २०७४, १८ : ४३ कृष्ण ढुंगाना  | @krishnakirtipur


काठमाडौं— शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। 

खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो।

अब के गर्ने?

टोलीका युवा अनुहारमा अन्याेल देखियो। तत्कालै मिश्रले चुनाबी अभियानका प्रबन्धक राज हुमागाइँसँग सल्लाह गरे।
छिन भरमै नयाँ गन्तव्य चयन भयो—मिलनचोकमा कार्यक्रम र आसपासमा घरदैलो। 

हातमा प्लेकार्ड बोकेका युवाको हुल अगाडि बढ्यो। बाटो हिँडिरहँदा मिश्रलाई नमस्ते भन्दै कोही अंकमाल गर्न आउँथे। कोही मोटरसाइकल घ्याच्च रोकेर सेल्फी खिचाउँथे।

कसैको भनाइ हुन्थ्यो बीबीसीमा तपाइँले लिने अन्तर्वार्ताको म प्रशंसक हुँ। मर्निङ वाकबाट फर्किरहेजस्ता स्थानीय बासिन्दा उनीसँग झुम्मिन आइपुग्थे। उनीहरु समक्ष मिश्रको एउटै भनाइ हुन्थ्यो, ‘यो देश बदल्न तपाइँहरुको साथ चाहिएको छ। तपाइँहरुको मत चाहिएको छ।’

नजिक पुगेका व्यक्तिहरुको जवाफ पनि लगभग उस्तै हुन्थ्यो, ‘ठिकै छ। भैहाल्छ नि।’ कोही कोही आफ्नो आस्था फरक भएको निर्धक्क सुनाउथेँ।
संगमचोकको लुम्बिनी कफी सपमा एक हुल मान्छे बिहानैको चिया पिएर गफ चुटिरहेका देखिए। मिश्र सिधै कफीसप छिरे। हँसिलो अनुहारमा विनम्रपूर्वक सबैलाई अभिभादन गरे। विवेकशील साझाका काठमाडौं—१ प्रदेश सभा सदस्य उम्मेदवार समीक्षा बाँस्कोटासहित पनि त्यहाँ आइपुगिन्। 

'तपाइँहरुले राजनीतिक आस्था परिवर्तन गर्ने बेलाआएको छ। पहिला विकल्प थिएन। अब तपााइँ सामु विकल्प छ। साथ र समर्थनले मात्र भएर पुग्दैन यो पटक मन र मत परिवर्तनका लागि मेरो आग्रह छ।’

‘नमस्ते म रवीन्द्र मिश्र, तपाइँको क्षेत्रमा विवेकशील साझा पार्टीको उम्मेदवार भएको छु। तपाइँहरुले साथ, सहयोग र भोट दिनुहुनेछ भन्ने आशा गरेको छु’, आफ्नो कुरा सिधै राखे। कफी सपभित्र एक छिन सबैले उनको कुरा सुने। उनका सहयोगीले प्रचार सामग्री हात हातमा थमाइ दिए।
‘हाम्रो आस्था त फरक पार्टीमा छ तर यस पटक हाम्रो समर्थन तपाइँलाई हुनेछ’, खैरो ज्याकेट लगाएका एक युवाले आफ्नो साथीसहितको समर्थन रहने कुरामा आश्वस्त पार्न खोजे। 

उनको ध्यान खिच्दै मिश्रले प्रस्ट्याए, ‘मलाई थाहा छ, तपाइँहरु राजनीतिक रुपमा अरु कुनै पार्टीमा आवद्ध हुनुहुन्छ। तपाइँ जुन राजनीतिक दलमा आस्था राख्नुहुन्छ त्यो आस्थाले देश अब अघि जान सक्दैन भन्ने देखिइसक्यो। तपाइँहरुले राजनीतिक आस्था परिवर्तन गर्ने बेलाआएको छ। पहिला विकल्प थिएन। अब तपााइँ सामु विकल्प छ। साथ र समर्थनले मात्र भएर पुग्दैन यो पटक मन र मत परिवर्तनका लागि मेरो आग्रह छ।’ उनको कुरा सुनेर उपस्थितले टाउको हल्लाए। एक जनाले आफू काठमाडौंको मतदाता नभएको प्रष्टीकरण दिए।

मिश्र कफी सपबाट ओर्लिंदै थिए एक हुल मान्छेको घेराबन्दीमा परिहाले। समूहमा रहेका मध्ये एक जना विभोर झा त्यहीँका स्थानीय रहेछन्। ‘पुराना पार्टीले देश बेहाल बनाए। मेरो घरमा ८ भोट छन्। बुवा पुरानो मान्छे भएकाले आफ्नै अडानमा रहनु होला बाँकी सबै तपाइँलाई आउनेछ’, उनको कुराले मिश्र उत्साही देखिए। उनले नाम र फोन नम्बर टिप्न आग्रह गरे। सानिमा बैंकका हेड ट्रेजरर उनले सामाजिक सञ्जालमा प्रयोगका लागि भिडियो र फोटो राख्ने अनुमती दिए।

उनलाई केही परको मिलन चोक पुग्नु थियो। टोली त्यतै लाग्यो।

‘नमस्ते... रवीन्द्रजी’, भन्दै छेउमै आइपुगे काँग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईका आफ्नै भतिज एवं पूर्व केन्द्रीय सदस्य विनोदकुमार। उनी खरिबोटमा भइरहेको काँग्रेसको कार्यक्रममा जान हिँडेका रहेछन्।

‘त्यो फोटोका कारण तपाइँलाई पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु’, मिश्रले विनम्रतापूर्वक भने।

भएको के रहेछ भने यसअघि विनोदबाबु भट्टराईको घरमा मिश्र घरदैलोका लागि पुगेका रहेछन्। त्यतिबेला अनुमती लिएरै उनको फोटो फेसबुकमा राखेका रहेछन्। फेसबुकबाट धेरैले विनोदकुमारलाई गाली गरेपछि मिश्रलाई नराम्रो लागेछ। त्यही भएर उनी क्षमाभावमा पेश भएका रहेछन्। ‘केही छैन। मैले त्यस्तो केही ठानेको छैन’, काँग्रेसको नीति तथा तालिम प्रतिष्ठानमा काम गरिसकेका उनले स्थितिलाई सहज पारे। उनी काँग्रेस उम्मेदवार प्रकाशमान सिंहको कार्यक्रमका लागि खरिबोटतिर सोझिए। रवीन्द्रको टोली मिलन चोकतर्फ बढ्यो।

संगमचोकदेखि मिलनचोक करिब पाँच मिनेटको बाटो हुँदो हो। बाटोमा भेटिनेलाई नमस्तै गरेर भोट माग्दै र सेल्फी खिच्दै मिलन चोक पुग्दा झन्डै ३० मिनेट लाग्यो। चोकमा अंकितबाबु अधिकारीको सांगीतिक प्रस्तुति चलिरहेको रहेछ। गाडी गुड्न बाँधा नपर्ने गरी चौबाटाका किनारमा मान्छे जम्मा भइसकेका रहेछन्। मिलन चोक वरपर मिश्रको टोलीले भोट माग्यो।

‘विचार नबदल्दा दुःख कसलाई भएको छ? निरन्तर भोट दिने जनताले दुःख पाइरहने भोट हाल्ने नेता विलासी जीवन बाँचिरहने?’, मिश्रले अन्तिममा भाषण गर्दै पुराना पार्टीहरुप्रति गम्भीर प्रश्न तेर्साए, ‘नेताहरुले आन्दोलनलाई लगानीको रुपमा लिँदा देश पछि पर्‍यो। माथिल्लो तहका नेताहरु मात्र अघि बढे। अहिले आमा दिदी बहिनीहरु पानी थाप्न चार बजे उठ्नु पर्ने अवस्था छ। धुँवाधुलो सामान्य जस्तो भइसक्यो। यो अवस्थाको अन्त्यका लागि हामी आएका हौं। मन बदल्न र मत बदल्न मेरो आग्रह छ।’

चुनाबका दृष्टिले रवीन्द्र मिश्रका सवल र दुर्वल पक्षहरु:

फोटो/भिडियो: प्रबीन कोइराला

मतदाताको प्रतिक्रियाबाट अत्यन्त उत्साही छौं : रवीन्द्र मिश्र

तपाईंलाई मत किन दिने ?
हाम्रो पार्टीमा यस्ता व्यक्ति संलग्न छन्, जसको नियत र नीति ठीक छ । नियत र नीति मिलेपछि मात्रै देश बन्ने हो । नीति मात्रै भएर देश बन्ने होइन । त्यसैले हाम्रो पार्टीका नेताको प्रतिबद्धता, दूरदृष्टि, देश बनाउँछु भन्ने आँटलाई हेरेर मत दिने हो । अरु पार्टीमा लिखित रूपमा नीति ठीक तर, नियत ठीक छैन ।

तपाईंको पार्टीको मूल अजेन्डा के हो ?
हाम्रो मूल अजेन्डा विकास र समृद्धि हो । यो हामै्र जीवनकालमा सम्भव छ भन्ने हाम्रो विश्वास छ । यसलाई अगाडि बढाउन सुशासनयुक्त, भष्ट्राचारमुक्त असल नेतृत्व चाहिन्छ । विकास र समृद्धिलाई दूरदृष्टि राखेर त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता भएको नेतृत्व हुनुपर्छ । त्यही नेतृत्व हामीसँग भएका कारण हाम्रो पहिलो अजेन्डा भनेकै विकास र समृद्धि हो । जुन हामीले हाम्रै जीवनकालमा गरेर देखाउने प्रतिबद्धता गरेका छौँ ।
‘अबको आशा, विवेकशील र साझा’ पार्टीको नारा छ, पार्टी राष्ट्रिय नै भएन भने ?
पार्टी राष्ट्रिय हुँदैन भनेर त सोचेकै छैनौँ । त्यस्तो भइहाले नेपाली समाजमा जकडिएको राजनीतिलाई चिर्न अरु केही वर्ष धैर्य आवश्यक पर्छ भनेर बुझ्नुपर्छ । योपटक नेपाली जनताले देशलाई नेतृत्व दिन सक्ने सकारात्मक सोच भएका व्यक्तिबाट परिवर्तन खोजिरहेका छन् भन्ने हाम्रो विश्वास छ । त्यो समूह विवेकशील साझासँग छ । जनताले विवेकशील साझालाई राष्ट्रिय बनाउँछन् भन्ने पूर्ण विश्वास छ ।

विवेकशील साझा ठीक होला तर पार्टीको त्याग त कम रहेको सुनिन्छ नि ?
त्याग गरेका पार्टीले यो देशको दोहन गरे। जिल्लामा एसएलसी पास गरेपछि पढ्न नसक्ने समाज निर्माण गरे। एसइईमा लगभग ७० प्रतिशत विद्यार्थीको न्यून ग्रेड आउने स्थिति सिर्जना गरे । बूढाबूढीले जिन्दगीभर कमाएको पैसा एउटा रोग लाग्दा स्वाहा हुने स्थिति सिर्जना गरे । १० वर्षमा एउटै बाटो १० पटक पिच गर्दा पनि बलियो नहुने स्थिति सिर्जना गरे । यो देशमा समाजवादको कुरा गरेर दिनको १५–१७ सय युवा विदेश पठाउने स्थिति सिर्जना गरे। त्यसलाई कसरी त्याग भनौँ ?

घरदैलो कार्यक्रम गरिरहनुभएको छ, मतदाताको प्रतिक्रिया कस्तो छ ?
अत्यन्तै उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । ‘विकल्प नपाएर पुराना दलमा भोट हाल्न बाध्य थियौँ, तपाईंहरू जस्ता मान्छे राजनीतिमा आइदिनुभयो । हामी आशावादी छौँ,’ भन्ने प्रतिक्रिया जताततै पाइरहेका छौँ ।

आफूलाई प्रतिस्पर्धीभन्दा फरक कसरी देखाउनुहुन्छ ?

प्रतिस्पर्धीको आलोचना गर्नुलाई म राम्रो मान्दिनँ । तर, नेपालमा संस्थागत भएको बैमानीपूर्ण राजनीतिको विकल्पमा हामी इमान बोकेको राजनीति गर्न आएका हौँ । हाम्रो पृष्ठभूमि इमान, परिश्रम, क्षमताको धरातलमा उभिएको छ । हाम्रो त्यो सम्पूर्ण शक्ति यो देश रूपान्तरणका लागि लगाउन चाहन्छौँ । पुराना राजनीतिक दलले यो देशलाई रूपान्तरणको दिशामा उन्मुख गराएको भए हामी आ–आफ्नो संस्थाको घेरामा बसेर पेसागत जिम्मेवारी विर्वाह गथ्र्यौं । राजनीतिमा आउनैपर्दैनथ्यो ।

तपाईंको पार्टीले देशको मुहार फेर्छ भनेर कसरी पत्याउने ?
ढुक्क भएर देशभरिबाट तराजुमा मतदान गरे हुन्छ । पछिल्लो चार–पाँच महिनाबीचमा तीन ठूलाबाहेक चर्चा भएको पार्टी हामै्र हो । हामीलाई सद्भाव प्राप्त छ, संगठन छैन । त्यो सद्भावलाई चुनावपछि संगठन निर्माणमा परिणत गर्छौं । त्यसकारण देशमा कुनै युवाले आफ्नो भविष्य, बुबाआमाको सुरक्षा, छोराछोरीका लागि राम्रो स्कुल र अस्पताल खोज्ने हो भने विवेकशील साझाबाहेक अर्को विकल्प छँदै छैन । अहिलेसम्म कसैले नदेखाएको संकेत अब फेरि देखिएला भनेर पुरानै पार्टीलाई भोट हाल्नुभयो भने भोट पाउने नेताले सुख पाउँछ, भोट दिने जनताले दुख पाउँछन् । आजसम्म नेपालमा हुँदै आएको पनि यही हो ।

तपाईंको पार्टी पदका लागि नभएर देश बदल्न हो भनेर कसरी पत्याउने ?
मेरो शैक्षिक पृष्ठभूमि, पेसागत आधार र पहुँचका कारण मलाई पद पाउन गाह्रो थिएन । म जहाँ थिएँ, त्यो पनि राम्रै पद थियो । हामीले पदका लागि यो खतरनाक बाटो अवलम्बन गरेको होइन । व्यक्ति बदल्न होइन, देश बदल्न अवलम्बन गरेको हो । त्यसैले पदका लागि होइन, देश बदल्नका लागि नेतृत्व लिन्छौँ ।

तपाईंहरूको प्रतिबद्धता के छ ?
पहिले विकल्प थिएन, जहाँजहाँ भोट दिनुभयो भयो । तर, तपाईंहरूले भोट दिएकाहरू सबैले सुख पाए, तपाईंहरूलाई सधैँ दुःख । सुखलाई चिन्नै छोड्नुभयो । बिहान ४ बजे पानी थाप्न उठ्दा, बाटोमा मास्क लगाएर बाक्लो धुलो खाँदा, आफन्त विदेश पठाएर एक्लो जीवन बित्याउँदा पनि दुःख बुझ्न सकेनौँ । अब बुझ्नुपर्‍यो, यी सबै दुःख जनताले पाएका हुन् । सुख जनताले भोट दिएका नेताले पाए । हामी जनताले सुख पाउने स्थिति सिर्जना गर्न चाहन्छौँ । त्यसकारण हामीमाथि विश्वास गर्नुस्।

प्रस्तुति : खिलक बुढाथोकी







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...